पार्किङ व्यवस्थित गर्न जुट्यो सरकार, बहुतले मेकानिकल पार्किङ बनाउन निजी क्षेत्रलाई आह्‍वान

शुक्र गिरी/बिजमाण्डू
२०७८ माघ ७ गते १२:४३ | Jan 21, 2022
पार्किङ व्यवस्थित गर्न जुट्यो सरकार, बहुतले मेकानिकल पार्किङ बनाउन निजी क्षेत्रलाई आह्‍वान

काठमाडौं। काठमाडौंमा जसरी सवारीको चाप बढिरहेको छ, त्यसअनुसारको सडकको बिस्तार तथा पार्किङ प्रणालीको विकास हुन सकिरहेको छैन।

Tata
GBIME
Nepal Life

खुला स्थानको अभाव र साँघुरो सडकमा हुने गरेको अव्यवस्थित पार्किङले सहरको रूप बिगारेको छ। नेपालभर ३६ लाखको हाराहारीमा दर्ता भएका सवारी साधनमध्ये वागमती प्रदेशमा मात्रै १५ लाखभन्दा बढी दर्ता र सञ्चालनमा छन्। यातायात व्यवस्था विभागका अनुसार उपत्यकामा दैनिक ११ लाखभन्दा बढी मोटरसाइकल र दुई लाखभन्दा बढी गाडी गुड्छन्। 

काठमाडौंमा पार्किङ अव्यवस्थित नै छ। बाक्लो बस्ती र धेरै सवारी भएका भित्री सहरमा खाली जमीन कम छ। यस्तोमा साँघुरा सडकमै जथाभावी गाडी रोक्दा जामको समस्या पनि बढ्दै छ। यही समस्यालाई देखेर नगर विकास कोषले उपत्यकाका ३६ स्थानमा बहुतले मेकानिकल पार्किङ निर्माणको प्रक्रिया अगाडि बढाएको छ। 

कोषले बहुतले मेकानिकल पार्किङ आयोजनामा लगानीका लागि प्रस्ताव आह्वान गरेको छ। कोेषले शुक्रबार सूचना जारी गर्दै कम्तीमा ८ आना भन्दा बढी क्षेत्रफल भएका जग्गामा आयोजना निर्माण तथा संचालन गर्न इच्छुक स्थानीय तह, सरकारी तथा गैर सरकारी संस्थाले प्रस्ताव पेश गर्न सक्ने उल्लेख गरेको छ। 

यो पार्किङ हाल भाटभटेनीमा निर्माण गरिएको जस्तै हुने कोषका इन्जिनियर नवीन तिवारीको भनाइ छ। ‘तर हामीले बनाउँने पार्किङ विभिन्न फरक फरक डिजाइनमा हुन्छ,’ उनले भने।

तिवारीका अनुसार यो परियोजनामा कोषले पनि लगानी गर्ने बताए। कोषसँग लगानी गर्न फण्ड प्रशस्तै रहेको उनको भनाइ छ। ‘तर हामीले ग्याप फण्डिङको काम गछौं,’ उनले भने, ‘यसका लागि प्रस्ताव कस्तो आउँछ त्यही अनुसार फण्डिङको व्यवस्था गर्ने हाम्रो योजना छ।’ यो परियोजनाका लागि १ अर्बदेखि ५ अर्बसम्मको लगानीमा निर्माण हुने उनले बताए।

त्यसका लागि इच्छुकले लिखित कागजातहरुसहित सूचना प्रकाशित मितिले १५ दिनभित्र प्रस्ताव पेश गर्नु पर्नेछ। प्राप्त भएको प्रस्तावहरु कोषको नियमअनुसार छनोट गरी आवश्यक कार्य अगाडि बढाउने जनाएको छ। 

कोषले थापाथली, त्रिपुरेश्वर, कालिमाटी, टेकु, सोल्टीमोड, कंलकी, कुलेश्वर, बल्खु, नयाँसडक, ठमेल, नयाँबजार, पुतलीसडक, दरबारमार्ग, अनामनगर, बबरमहल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, चाबहिल, मित्रपार्क, लैनचौर, लाजिम्पाट, महाराजगंज, बालुवाटार, विशालनगर, भाटभाटेनी, ज्ञानेश्वर, नक्साल, गैरीधारा, हाडिगाँउ, मीनभवन, कोटेश्वर, पुल्चोक, जावलाखेल, सातदोबाटो, कुपन्डोल लगायतका मुख्य व्यवसायिक सडक छेउ वा दोहोरो प्रवेशमार्ग भएको भित्री जग्गाहरुमा यो पार्किङ निर्माण गर्न मिल्ने जनाएको छ।

प्रस्ताव पेश गर्दा पार्किङ निर्माण हुने जग्गाको लालपुर्जाको प्रतिलिपि, नापी नक्साकोे सक्कल प्रति, संघ संस्थाको नवीकरणसहितको दर्ता प्रमाणप्रत्रको प्रतिलिपि र प्रस्ताव पेश गर्ने संस्थाको आधिकारिक निर्णयहरु पेश गर्नुपर्ने कोषले जनाएको छ।

जापानी संस्थाले दिएको थियो सुझाव
काठमाडौंमा व्यवस्थित सवारी पार्किङका लागि 'मेकानिकल पार्किङ' प्रयोग गर्न जापानको निपोन केवल कम्पनीले दुई वर्ष अघि प्रस्ताव गरेको थियो। 

जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको मेकानिकल पार्किङबाट निजी क्षेत्रसँग व्यापारको सम्भाव्यता अध्ययन र यसको सञ्चालन व्यवस्थापनको दिगोपनाका लागि काठमाडौंमा गरिएको सर्वेक्षणको तथ्य देखाउदै कम्पनीले प्रस्ताव गरेको थियो।

मेकानिकल पार्किङबाट सानो ठाउँमा पनि धेरै सवारी साधन पार्किङ गर्न सकिन्छ। अव्यवस्थित पार्किङले ओगटेको जमिन अन्य उपयोगमा ल्याउन सकिनेछ। जसले सहरी सुन्दरता बढाउनेछ। प्रदूषण घटाउने छ भने सडकमा सवारी साधन गुड्दा अहिले भइरहेको बाधा कम गराउन सकिने कम्पनीले दाबी गरेको छ।