पाँच तारे होटलमा ओमिक्रोनको झट्का, अग्रिम बुकिङ सबै फिर्ता भए, अकुपेन्सीमा भारी गिरावट

बसन्तराज उप्रेती/बिजमाण्डू
२०७८ माघ ५ गते १३:१७ | Jan 19, 2022
पाँच तारे होटलमा ओमिक्रोनको झट्का, अग्रिम बुकिङ सबै फिर्ता भए, अकुपेन्सीमा भारी गिरावट

काठमाडौं। डेढ वर्षपछि गति लिन थालेको होटल उद्योग फेरि ओमिक्रोनको चपेटामा परेको छ। कोभिड दोस्रो लहर सकिएसँगै आन्तरिक र विदेशी पर्यटकको उत्साही संख्याका कारण गति लिन थालेको मुलुकको पर्यटन र उड्डयन क्षेत्रमा यतिखेर ओमिक्रोनको असर देखिन थालेको छ।

Tata
GBIME
Nepal Life

पाँच महिना यता व्यवसायले गति लिएसँगै हौसिएका होटल, रिसोर्ट, रेष्टुरेण्ट, नाइट क्लब लगायत पर्यटनसँग सम्वद्ध व्यवसायी फेरि निराश देखिन थालेका छन्। सरकारले संक्रमण नियन्त्रणमा ल्याउनका लागि पूनः मार्गनिर्देशिका लागू गरेसँगै यतिखेर पाँच तारे होटलको व्यवसाय नै चौपट भएको छ।

पछिल्लो समय रुम अकुपेन्सीसँगै पाँच सयजनाभन्दा बढीको सहभागितामा इभेन्ट आयोजना गर्दै आएका होटललाई असर परेको छ।  कोभिडको ओमिक्रोन भाइरसको तीब्र संक्रमण फैलिएका कारण आन्तरिक र बाह्य पर्यटकको सहभागिता कम भएसँगै ठूला इभेन्टका लागि गरिएका अग्रिम बुकिङहरु धमाधम रद्द हुन थालिसकेको होटलले जनाएका छन्।

सोल्टी, एभरेष्ट, होटल याक एण्ड यती, हायात, मेरियट, अलोफ्ट, र्याडिसन, हायात प्लेस लगायत विभीन्न पाँच तारे होटलले रुम र बैंक्विट हल बुकिङ धमाधम रद्द हुन थालेको जनाएका छन्।

ओमिक्रोनका कारण इभेन्ट रद्द र रुम अकुपेन्सी ह्वात्तै घटेपछि  सोल्टी होटलले आलोपालो गरी जनशक्ति परिचालन गर्न सुरु गरेको उपाध्यक्ष सुदर्शन चापागाईंले बताए। होटलमा ९० प्रतिशत अग्रिम बुकिङ भएकाकोठा, साना ठूला कार्यक्रम रद्द भइसकेका छन् भने यतिखेर अकुपेन्सी दर पनि निराशाजनक रहेको उनले जानकारी दिए।

'अब पाहुना छैनन्। सबै कर्मचारी परिचालन गरेर मात्र भएन। यो अवस्थामा खर्च न्यूनिकरण गर्नै भएपनि हामीले कमर्चारीलाई आलोपालो परिचालन गर्न सुरु गरेका छौँ। र चेन ब्रेकको लागि पनि यो आवश्यक पनि छ।' उपाध्यक्ष चापागाईंले भने।

उनका अनुसार कोभिड दोस्रो लहर यता होटलमा पाहुना अकुपेन्सी दर ६० प्रतिशत सम्म कायम भएको थियो।

ओमिक्रोनप्रतिको सचेतना सुरु भएसँगै यतिखेर होटलमा पाहुनाको सहभागिता नै न्यून रहेको होटल याक एण्ड यतीले जनाएको छ। दोस्रो लहरपछि ४० प्रतिशतसम्म अकुपेन्सी कायम हुँदै आएको होटलमा यतिखेर अकुपेन्सी निकै कम रहेको बिक्री तथा बजार निर्देशक सागर चन्द्र वान्तवा राईले बताए।

'जुन हाम्रो ४० प्रतिशतको पिक थियो। अहिले त्यो बाट धेरै नै घटेको अवस्था छ। रुम र इभेन्ट बुकिङको क्यान्सिलेसन धमाधम आइरहेको छ।फेब्रुअरीसम्मको अग्रिम बुकिङ रद्द हुँदै आएको छ।' उनले भने,'रेष्टुरेण्टमा केही चहलपहल छ।'

यतिखेर होटलमा संचालित रेष्टुरेण्टमा फाट्टफुट्ट मात्र ग्राहकहरु पुगेका छन्।  होटलले यतिखेर स्वास्थ्य सुरक्षा मार्ग निर्देशिकालाई थप प्राथमिकताका साथ अवलम्बन गर्न सुरु गरेको उनले जानकारी दिए।

ओमिक्रोन प्रभाव सुरु भएसँगै यतिखेर अकुपेन्सी नै सात प्रतिशत रहेको बानेश्वरस्थित होटल एभरेष्टले जनाएको छ। ठूला इभेन्टका लागि लिइएको अग्रिम बुकिङ धमाधम रद्द हुँदै आएको होटलका एक कर्मचारीले बताए।

'अहिले तत्काल ठूला कार्यक्रमका लागि हामीले बुकिङ लिएका छैनौँ। ग्राहकले अहिले अधिकांश कार्यक्रमहरु स्थगित गरेका छन्। सरकारले भने बमोजिम २५ जनाको सहभागिता हुने कार्यक्रम आयोजना हुँदै आएको छ।' उनले भने।

होटलका अनुसार संचालित कुल ७६ वटा कोठा मध्ये १० वटा भन्दा कम कोठा बिक्री भएका छन्।

सरकारले सभा सम्मेलनका लागि जारी गरेको नयाँ निर्देशिका अनुसार नै कार्यक्रम आयोजना हुँदै आएको अलोफ्ट होटल काठमाडौंले जनाएको छ। ओमिक्रोनको प्रभाव सुरु भएसँगै जनवरीमा आएको दुई दर्जनभन्दा बढी ठूला इभेन्ट रद्द भएको होटलले जनाएको छ। होटलमा ठूला कार्यक्रमका लागि भइसकेका अग्रिम बुकिङ भने धमाधम रद्द र स्थगित हुँदै आएको बिक्री निर्देशक पवन राजभण्डारीले बताए।

रुम अकुपेन्सी र कार्यक्रम तालिका नै घटेपछि यतिखेर होटल व्यवस्थापनले आलोपालो गरेर कर्मचारी परिचालन गर्ने योजना बनाएको जनाएको छ। ओमिक्रोन सुरु भएसँगै यतिखेर ठूला इभेन्टहरु धमाधम रद्द हुँदै आएको हायात रिजेन्सीले जनाएको छ।

कर बुझाउन सार्वजनिक क्षेत्र खुला गर्ने सरकारले कोभिड सँगसँगै बाँचेर व्यवसाय गर्न पहिल्याएन दूरगामी नीति, व्यवसाय र जनशक्ति कसरी जोगाउने ?

कोभिडको नयाँ भेरियन्टको संक्रमण दर ह्वात्तै बढेसँगै पर्यटन व्यापार फेरि प्रभावित भएको छ। फाट्टफुट्ट आउन थालेका विदेशी पर्यटकका आगमन मिति पछि सरेका छन्, आन्तरिक पर्यटकले भ्रमण घटाएका छन्। होटल-रेस्टुरेन्टको व्यापार फेरि ओरालो लागेको छ।

सरकारले खोपको मात्रा बाहेकका कुरै नगर्दा पर्यटन क्षेत्रसँग सम्बद्ध व्यवसायी निराश देखिएका छन्। जुन सरकार आए पनि कोभिड-१९ विरुद्धको स्वास्थ्य सुरक्षा मार्गनिर्देशिकाबाहेक आर्थिक क्षेत्र चलायमान बनाउन सम्बन्धित विकल्प, नीति अघि सार्न ध्यानै नदिएको गुनासो उनीहरुको छ।

नयाँ नयाँ रुपमा भाइरस आइरहने देखिएकाले यो सँगसँगै जनजीवन सामान्य बनाएर लैजानुपर्ने आवश्यकता छ। यस्तोमा सरकारले कुन क्षेत्रलाई के खाँचो छ भन्ने नबुझेको व्यवसायीको जिकिर छ। कोरोनाको पहिलो र दोस्रो लहरमा व्यवसायीले ठूलो नोक्सान व्यहोरे। व्यवसाय क्रमिक लयमा फर्कँदै थियो। तर पुनः आएको संकरमणको लहरले व्यापार ठप्प पार्दै लगेको छ।

अर्थतन्त्र चलायमान बनाउन सम्बद्ध क्षेत्रसँग सुझाव लिनुको साटो सरकार कर असुलीमा मात्रै केन्द्रित भएको उनीहरुको आरोप छ। 'विकराल अवस्थामा सरकारले सर्वसाधारणको जीवनयापनलाई मतलबै गरेको छैन !,' होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले भने। दुई वर्ष यता यस्तो समयमा निजी क्षेत्र निरुत्साहित हुने किसिमको निर्देशिका मात्र जारी गर्दै आएको उनले बताए।  

'सरकारको ३६ बुँदे निर्देशन आएको छ। हाम्रो भनाइ के हो भने जनस्वास्थ्यको पालना जति गर्नुपर्ने हामी तयार छौं। त्यो सँगै यहाँ लाखौं जनशक्तिको जीवनयापनको कुरा पनि त छ। सरकारले यो विषयमा सोच्नुपर्दैन ?,' उनले भने, 'अरु देशमा यस्तो निर्देशन आउँदा दुईवटा पाटा हुन्छन्। एउटा स्वास्थ्य सुरक्षासँग जोडिएको हुन्छ भने अर्को भनेको जीवनयापन नै हो। बिहान कमाएर बेलुका खान पर्ने वर्गका लागि पनि त सोच्नुपर्‍यो नि।'   

यतिखेर सरकारका तर्फबाट स्वास्थ्य सुरक्षा र आर्थिक पाटो निरन्तरता केन्द्रित निर्णय नआएको उनले बताए। सरकारको यही नीति अनुसार पर्यटनसँग सम्बद्ध उद्योग व्यवसाय टिक्न गाह्रो हुने उनको तर्क छ।

कोरोनाको भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दा पुनः सार्वजनिक सेवा क्षेत्र प्रभावित भएको छ। आन्तरिक पर्यटकले धानेका मुलुकका प्रमुख पर्यटकीय क्षेत्रको व्यवपार पुनः प्रभावित भएको छ। पोखरा, सौराहा र धुलिखेलमा आन्तरिक पर्यटकको आवागमन पुरै पातलिएको छ। 

काठमाडौंका होटलहरुमा सार्वजनिक कार्यक्रम बन्द भएका छन्। सभा-समारोहका पूर्वनिर्धारित कार्यक्रमहरु स्थगनले होटल र पार्टी प्यालेसहरुलाई ठूलो नोक्सान भएको छ। बिस्तारै सुरु हुन लागेको ट्रेकिङ र पर्वतारोहणको क्षत्र पनि प्रभावित छ।  

समग्र पर्यटन व्यवसायी लक्षित राहत व्यवस्थापन नभएका कारण यतिखेर ७० प्रतिशत व्यवसायी विस्थापित हुने अवस्था रहेको  ट्रेकिङ एजेन्सी एशोसिएसन नेपालका अध्यक्ष खुम सुवेदीले बताए। 'अब व्यवसाय टिकाउन सक्ने अवस्था छैन। सरकारबाट लक्षित वर्गमा समस्या के हो भनेर पहिचान गरिएको छैन। पर्वतारोहण अन्तर्गत संचालित हरेक कम्पनीको  अवस्थाको पहिचान गर्न आवश्यक छ,' उनले भने,'अब बाँचुन्जेल स्वास्थ्य सुरक्षा त पालना गर्ने नै हो तर व्यवसायिक चिन्ता पनि सँगै छ। यसका लागि सरकारको तर्फबाट सपोर्टको आवश्यकता छ।'

कोभिड सुरु भएदेखि नै सरकारले एकतर्फी निर्णय गर्दै आएको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टका उपाध्यक्ष विनय बस्नेतको आरोप छ। लामो समयपछि गति लिएको मुलुकको पर्यटन क्षेत्रमा पुनः ब्रेक लाग्ने अवस्था आएको उनले बताए। 'यो अवस्थामा  व्यवसाय र जनशक्ति टिकाउनका लागि सरकारका तर्फबाट विशेष योजना कार्यान्वयनमा ल्याउन आवश्यक छ,' उनले भने।