काठमाडौं। नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले स्वदेशी बिजुली खपत बढाउने विभिन्न उपायबारे छलफल अघि बढाएका छन्।
घिसिङले काठमाडौं विश्वविद्यालयको टोलीसँग स्वदेशी विद्युतको खपत बढाउन एमोनिया र युरियाको नेपालमै उत्पादनदेखि हाइड्रोजन इन्धन उत्पादन गर्न प्राधिकरणको भूमिकाबारे छलफल गरेका छन्।
केयुको टोलीसँग डेढ घण्टा बिताएका घिसिङले एमोनिया नेपालमै उत्पादन गर्न नेपालकै बिजुली खपत गर्न सकिने हो वा होइन, युरिया आफ्नै हाइड्रोजन वा जलविद्युतबाट उत्पादन गर्न सकिन्छ भने त्यसको लागत र फाइदाको विश्लेषण कस्तो हुन्छ भन्ने जिज्ञासा राखेका थिए।
त्यसैगरी, क्रमिक रुपमा पेट्रोलियम पदार्थको आयात घटाउनका निम्ति हाइड्रोजन प्रविधिलाई नेपालमा संस्थागत विकास गर्न त्यसको आर्थिक एवम् प्राविधिक मूल्यांकन कस्तो हुन्छ भन्ने विषयमा घिसिङले रुचि राखेको केयु मेकानिकल इन्जिनियरिङ विभागका उपप्राध्यापक बिराजसिंह थापाले जानकारी दिए।
'नेपालमा युरिया मल कसरी उत्पादन गर्ने भन्ने बहस भइरहेको छ। हाम्रो आफ्नै प्राकृतिक स्रोत भनेको जलविद्युत हो। मल उत्पादन गर्नका निमित्त प्राकृतिक ग्यास पेट्रोलियम पदार्थ भएको र यो भारतबाट आयात गर्नुपर्ने अवस्था छ। युरियाको उत्पादन गर्न प्राधिकरणले कस्तो भूमिका खेल्न सक्छ भन्ने बारे छलफल भएको हो,' थापाले भने।
भारतले नेपालको बिजुली खरिद गर्ने कुनै ग्यारेन्टी नभएको अवस्थामा प्राधिकरण पनि उत्पादित बिजुली स्वदेशी बजारमै उपयोग गर्ने मुडमा पुगेको छ। बिजुलीको स्वदेशी बजार विस्तार गर्नका निम्ति घिसिङ केयुको टोलीसँग छलफलमा बसेको प्राधिकरणले जनाएको छ।
'उत्पादित बिजुलीलाई नेपालमै खपत गराउन सस्टेनेबल डेभलपमेन्ट, नो कार्बोन प्रविधि, स्थानीय रोजगारी, औद्योगिक विकासमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने उहाँको (घिसिङ) चासो देखिन्छ। हाइड्रोजन इन्धन बारे उहाँले नेपालमा के गर्न सकिन्छ भनेर आफ्नो जिज्ञासाहरु राख्नु भयो,' थापाले भने।
घिसिङसँगै प्राधिकरणका उच्च तहका कर्मचारीहरु छलफलमा सहभागी थिए।
केयुको टोलीले केही दिनअघि नेपाल लगानी बोर्डसँग पनि छलफल गरेको थियो। लगानी बोर्डले भने भारतबाट ग्यास आयात गरेर नेपालमै युरिया मल उत्पादन गर्ने परियोजना अघि बढाउने तयारी गरिरहेको छ। एकातर्फ स्वदेशी बिजुलीको खपत बढाउनु पर्ने अवस्थामा त्यसैको प्रयोग गर्न सके देशलाई फाइदाजनक हुने देखिन्छ। प्राधिकरण सस्तो मूल्यमा स्वदेशी उद्योग एवम् उत्पादनलाई बिजुली उपलब्ध गराउन तयार रहेको बताउँदै आएको छ।
गत फागुनमा नेपाल आयल निगम र काठमाडौं विश्वविद्यालयबीच ग्रीन हाइड्रोजन परियोजना सम्बन्धी सम्झौता भएको थियो। हाइड्रोजन इन्धनको उत्पादन र वितरण गर्नेगरी निगमलाई प्राविधिक रुपमा दक्ष कम्पनी बनाउने उद्देश्यसहित सम्झौता भएको थियो।
२०७७ पुसमै निगम र केयुबीच पेट्रोलियम पदार्थ र ऊर्जा क्षेत्रको विकासमा शैक्षिक संस्था र सरकारी निकायबीच सहकार्य वृद्धि गर्ने उद्देश्यसहित एमओयूमा हस्ताक्षर भएको थियो।