विशाल ग्रुप फ्रुटी, एपी जुस उत्पादन गर्ने उद्योग लगाउँदै, ६ बिघा जग्गामा उद्योग बनाउँदै

बिजमाण्डू
२०७८ पुष २९ गते १५:५५ | Jan 13, 2022
विशाल ग्रुप फ्रुटी, एपी जुस उत्पादन गर्ने उद्योग लगाउँदै, ६ बिघा जग्गामा उद्योग बनाउँदै

वीरगंज। विशाल ग्रुपले बारा-पर्सा औद्योगिक करिडोरमा एक अर्ब लगानीमा जुस उद्योग खोल्ने भएको छ। समूहले पर्सा विन्दवासिनी गाउँपालिका-२ गर्दौलमा जग्गा किनेर उद्योगका लागि धमाधम पूर्वाधार बनाइरहेको छ।

Tata
GBIME
Nepal Life

वीरगंज-ठोरी हुलाकी सडकखण्डमा निर्माण भइरहेको उद्योग वीरगंजबाट करिब १२ किलोमिटर पश्चिममा पर्छ। उद्योगका लागि समूहले करिब ८ बिघा जग्गा किनेको छ।

साउथ एसियन बेभरेज प्रालिको नामले स्थापना भइरहेको उद्योगले भारतीय ब्रान्डको जुस र मिनरल वाटर उत्पादन गर्नेछ। भारतीय पार्ले एग्रो कम्पनीको फ्रेन्चाइच उत्पादन गर्ने लक्ष्यका साथ उद्योग निर्माणको काम भारतीय परामर्शदाता कम्पनीको ठेकेदारमार्फत भइरहेको छ।

उद्योगले ६ महिनापछि उत्पादन थाल्ने लक्ष्यसहित पूर्वाधारको काम भइरहेको उद्योगका इन्जिनियर मुना यादवले जानकारी दिए। ‘उद्योगबाट वैशाखदेखि उत्पादन बजारमा ल्याउने लक्ष्य राखेका छौं,’ उनले बिजमाण्डूसँग भने,‘अहिले उद्योग निर्माणमा करिब २ सय मजदुर दैनिक काम गरिरहेका छन्।’

उद्योग सञ्चालनमा आएपछि पार्ले एग्रोको उत्पादनहरु फ्रूटी,एपी,एपी फिज नामक जुस र बेली ब्रान्डमा मिनरल वाटर उत्पादन गर्नेछ। उद्योग पूर्ण स्वचालित र आधुनिक प्रविधिको हुनेछ। नेपालले दुई वर्षअघि इनर्जी ड्रिंक्स तथा जुस आयात रोक्न भन्सार बढाएपछि यहाँ बिक्री भइरहेका विदेशी ब्राण्डका जुस कम्पनीले उद्योग लगाइरहेका छन्।

बंगलादेशी बहुराष्ट्रिय कम्पनी प्रान फूड्सले पनि नेपालमा उद्योग लगाउँदैछ। यो कम्पनीले समेत नेपाल सरकारले एन्डी डम्पिङ कानुन कार्यान्वयन गर्दै भन्सार बढाएपछि यही उद्योग लगाउन लागेको हो। यो कम्पनीको मात्रै दुई अर्बको जुस नेपालमा बिक्री हुने गर्थ्यो।

फ्रुटी नेपालमा धेरै बिक्री हुने जुस हो। फ्रुटी पहिला वीरगंजका व्यवसायी दीपक श्रेष्ठको छातापिपरामा रहेको उद्योगमा उत्पादन हुँदै आएको थियो। रोयल्टीको विषयमा विवाद भएपछि भारतीय पार्ले एग्रो विशाल ग्रुपसँग सहकार्य गर्ने गएको हो।

नेपालको स्थापित घराना विशालसँग उद्योग, व्यापार र वित्तीय संस्थामा राम्रो होल्ड छ। यो ग्रुपको चितवनमा यति ब्रुअरी छ भने कमला रोलिङ मिल्स, ग्रीन टायर, घोराही सिमेन्ट लगायतमा लगानी छ।

नेपालका अधिकांश बहुराष्ट्रिय कम्पनीका सामानको अधिकृत बिक्रेता यही समूह अन्तर्गत छ। युनाइटेड डिस्ट्रीब्युटर्स, इन्डेक्स डिस्ट्रिब्युटर्स लगायतले बहुराष्ट्रिय कम्पनीको सामान आयात गरेर बिक्री वितरण गर्दै आएका छन्।