क्रेडिट रेटिङमा श्रीलंकाको कठिन अर्थव्यवस्थाको संकेत, के डिफल्टर बन्ने बाटोतर्फ धकेलिँदैछ?

बिजमाण्डू
२०७८ पुष २७ गते १८:४८ | Jan 11, 2022
क्रेडिट रेटिङमा श्रीलंकाको कठिन अर्थव्यवस्थाको संकेत, के डिफल्टर बन्ने बाटोतर्फ धकेलिँदैछ?

श्रीलंकाका केन्द्रीय बैंकका पूर्व उप गभर्नर डब्लु ए बिजेवर्दनाले केही समय अघि एक लेख लेखेका थिए जसमा उनले 'श्रीलंकाको घरेलु अर्थव्यवस्था टाट पल्टिएको नभई 'फरेन सेक्टर'मा श्रीलंकाको फरक स्थिति देखिएको' भनेर देशको अर्थतन्त्रको बचाउ गरेका थिए।

Tata
GBIME
Nepal Life

तर त्यसै समयमा अमेरिकी रेटिङ एजेन्सी फिचले श्रीलंकालाई अझ तल झारेर सीसी रेटिङ दिएको छ जुन 'डिफल्टर' हुनुभन्दा ठिक अघिको रेटिङ मानिन्छ।

यसै महिनाको १८ तारिखमा उसले ५० करोड डलरको एउटा इन्टरनेशनल सोवरेन बण्डको रकम चुक्ता गर्नुपर्ने मिति तय छ। यदि श्रीलंकाले यो चुक्ता गर्न सकेन भने उ 'डिफल्टर' घोषित हुनेछ। न्यूयोर्कस्थित रेटिङ एजेन्सी फिचले श्रीलंकालाई उसको बाह्य ऋण तिर्नका लागि समस्या पर्ने समेत भनेको छ। सन् २०२२ र २०२३ मा उसले नयाँ बाह्रय बित्तीय स्रोतहरु प्राप्त गर्न नसकेमा ऋण तिर्न समस्या पर्नसक्ने फिचले बताएको हो।

श्रीलंकाले जनवरी १८ मा ५० करोड डलर तथा जुलाइमा १ अर्ब अमेरिकी डलर दुईवटा सोभेरियन बण्डहरु बापत तिर्नुपर्नेछ। तर हाल रेटिङमा अझ तल झर्नुले आगामी दिनमा श्रीलंकाको तरलताको अवस्था अझ बिग्रदै जाने जता वित्तीय तनाव निकै बढ्ने फिचले जनाएको छ।

यतिबेला श्रीलंकामा एकसय ग्राम हरियो खुर्सानीको मूल्य श्रीलंकाली ७१ रुपैयाँ  छ। यस्तै एक किलो आलुको दुई सय रुपैयाँ पर्छ भने एक केजी दूधको पाउडरलाई फोडेर एक सय ग्रामका १० वटा प्याकेट बनाइँदैछ ताकि सर्वसाधारणहरुले दूध किन्न सकुन्। ग्यासको सिलिण्डर साट्नका लागि लामो लाइन बस्नुपर्छ। एक महिनामै खाद्य सामाग्रीको मूल्यमा १५ प्रतिशतभन्दा बढीले वृद्धि भएको बताइएको छ।

पूर्व उप-गभर्नर बिजेबर्दनाले आफ्नो लेखमा धेरैले श्रीलंका टाट उल्टेको देशका रुपमा चित्रण गरिरहेको भए पनि  श्रीलंकाको बाहिरी अर्थब्यवस्था हेर्दा मात्र त्यस्तो देखिने तर घरेलु अर्थव्यस्था हेर्ने हो भने उक्त टिप्पणी गलत हुने दाबी गरेका थिए।  

उनले लेखेका छन्- 'श्रीलंकाको घरेलु अर्थव्यवस्था त्यसबेला मात्र टाट उल्टिनेछ जब सरकार टाट उल्टिनेछ। अर्थात जब सरकारले राजस्व पाउन छोड्नेछ। जब मानिसहरु सरकारलाई कर तिर्न छोड्नेछन्। र नयाँ नोट छाप्नुको कुनै अर्थ रहनेछैन। त्यस्तो अवस्थामा मानिसहरु आफ्नो देशको मुद्रालाई स्वीकार गर्दै बन्द गरिदिन्छन् किनभने हरेक मिनेटमा त्यसको मूल्य तल झर्दै जाने हुन्छ। तर श्रीलंकामा अहिले यस्तो स्थिति आएको छैन।'

बिजेबर्दनाले दिएको तथ्यांक अनुसार अझै पनि श्रीलंकाको जीडीपीमा राजस्वको हिस्सा ९ प्रतिशत छ। हुन त यो ऐतिहासिकरूपमै निम्न स्तर हो तर पनि मुद्रा लेनदेन चलिरहको छ। 'यस्तै अवस्थामा पनि श्रीलंकाको सरकार १२ महिनासम्म घरेलु अर्थव्यवस्था संचालन गर्न सक्छ। जबसम्म सरकार टाट उल्टेको हुँदैन तबसम्म देश टाट उल्टिनबाट बचिरहन्छ।'- लेखमा उनले तर्क गरेका छन्।

तर उनी के पनि भन्छन् भने श्रीलंककाको बाहिरी अर्थव्यवस्था भने घरेलु अर्थव्यवस्थाको भन्दा बिल्कुलै फरक छ। फरेन सेक्टरमा सबै कुरा सामान्य रहनुको अर्थ हो कि उक्त देशमा विदेशी मुद्रा भण्डार पर्याप्त छ। यो बचत खाता जस्तो हुन्छ। यो रकम आम्दानी कम भएको समयमा अत्यावश्यक समान खरिद गर्न काम लाग्ने गर्छ।

उनले यसलाई कसरी उदाहरण दिएका छन् भने- 'यदि मानिसको हाल एक सय रुपैयाँ आय छ र डेढ सय खर्च गर्न चाहन्छ भने उसले बचत खाताबाट ५० रुपैयाँ निकाल्न सक्छ। यदि बचत खाता नै रित्तो छ भने कसैबाट ऋण लिनुपर्ने हुन्छ। यदि ऋण दिने कोही नभएमा वा यदि उसले ऋण तिर्न सक्छ भन्ने विश्वास कसैले नगरेको खण्डमा भने अवस्था जटिल बन्न जान्छ।' खासमा श्रीलंकालाई अहिले यही भएको छ।

बिजेबर्दनाका अनुसार विदेशी मुद्राको आय रोकिएका कारण श्रीलंकाको विदेशी कारोबार पनि ठप्प भएको छ। श्रीलंकाको व्यापार घाटा पनि भयावह छ। चीनतर्फको निर्यातमा श्रीलंका पाकिस्तान, बंगलादेश र नेपालभन्दा पनि पछि देखिएको छ। सन् २०२० मा श्रीलंकाले चीनतर्फ २८ करोड डलरको निर्यात गर्यो भने ४ अर्ब डलरको आयात गर्‍यो।

यस्तो अवस्थामा श्रीलंका टाट उल्टिने बाटोमा जान लागेको भनेर भइरहेका विश्लेषण गलत हुन सक्ला?

अमेरिकी अर्थशास्त्री केनेथ रोगोफका अनुसार कुनै पनि देश डिफल्टर हुनु सामान्य कुरा हो। यस्तो विश्वका धेरै देशहरुमा भइरहेको हुन्छ । कति देश टाट उल्टिसकेका हुन्छन् जसबारेमा पत्तो समेत हुँदैन। तर यस्तो कुराहरु सामान्य रुपमा किन लिइन्छ भने यस्तो अवस्था आउँदा पनि ऋणदाताहरुले त्यस देशसँगको कारोबार समाप्त गर्दैनन्। कुनै न कुनै रुपमा भुक्तानी गर्दै उनीहरुले आफ्नो कारोबार जारी नै राख्ने हुनाले देश टाट उल्टिएको भन्नुलाई मानिस टाट उल्टिएको जस्तो मान्न नहुने उनको तर्क छ।

केनेथका अनुसार कुनै पनि देश डिफल्टर हुने अवस्था आउँदा बिभिन्न किसिमले उसले त्यो अवस्थाको सामना गर्न सक्छ। धेरैजसो देशका अर्थमन्त्रीले डिफल्टर हुने अवस्था आएको बारे घोषणा गर्दछन् । यस्तोमा उनीहरुले हाल कर्जा तिर्नका लागि रकम नभएको भन्दै म्याद थप्न मद्दत माग्ने गर्छन्। तर कुनै पनि देश आफैंले आफूलाई डिफल्टर घोषणा गर्ने अवस्था आइपर्छ भने त्यो असाध्यै ठूलो घटना मानिने उनी बताउँछन्।

तर केनेथका अनुसार डिफल्टर घोषित हुनु अघि यसबाट बचिरहने अनेकौं उपायहरु ती देशले अपनाइरहेका हुन्छन्। गत वर्ष नै नोभेम्बरमा श्रीलंकासँग तीन सातालाई मात्र आयात धान्ने डलर मौज्दात रहेको भए पनि अहिलेसम्म पनि श्रीलंकाले आफूलाई डिफल्टर बन्नबाट जोगाइरहेको छ।  

भारतको जेएनयूस्थित अर्थशास्त्रका प्रोफेसर अरुण कुमारका अनुसार कुनै पनि देश टाट उल्टिनुको अर्थ हो उसको क्रेडिट रेटिङ लगातार खराब हुँदै जानु। यतिबेला श्रीलंकाको अवस्था त्यस्तै छ। अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले उसमाथि विश्वास गर्न छोडिसकेको छ र ऋणदाताहरुले ऋण तिर्ने म्याद बढाउन चाहिरहेका छैनन्। यदि क्रेडिट रेटिङ खराब हुन्छ भने ऋण दिनका लागि कोही पनि तयार हुँदैन।

प्रोफेसर अरुण कुमार भन्छन्- 'विदेशी ऋणको रकमभन्दा पनि कम विदेशी मुद्रा भण्डारन हुनु भनेको टाट उल्टिनु होइन। विश्वका सबै देशहरुमाथि विदेशी ऋणको भार हुने गर्छ। तर वास्तवमा उक्त देशको क्रेडिट रेटिङ कस्तो छ भन्नेबाटै उक्त देशको बारेमा धारणा बन्न जान्छ।'

खासमा डिफल्टर हुनु अर्थात तोकिएको मितिमा ऋण नतिर्नु चाहिँ टाट उल्टिने अवस्थाको सुरुवात मान्न सकिने प्रोफेसर अरुण कुमार बताउँछन्।

यतिबेला श्रीलंका मात्र नभई पूरै दक्षिण एसियाकै अर्थतन्त्र समस्यामा रहेको देखिन्छ।

भारतको ए एन सिन्हा इन्स्टिच्यूट अफ सोसल स्टडिजका अर्थशास्त्रका प्रोफेसर डीएम दिवाकरका अनुसार बंगलादेशलाई छोडेर दक्षिण एसियाका सबै देशहरुको अवस्था खराब भएको छ।

उनी भन्छन्- 'दक्षिण एसियामा हाल जसरी ग्रोथ भइरहेको छ त्यसले गरिबीको अन्त्य हुन सकेको छैन, बरु असमानता बढिरहको छ। ग्लोबल हंगर इन्डेक्समा भारत पाकिस्तानभन्दा पनि पछाडि छ। भारत लगायत विश्वका धेरैजसो देशहरुले हाल विकासको जुन मोडल चयन गरेर अघि बढेका छन्, त्यो टिकाउ छैन।'

उनका अनुसार चीनले पनि त्यस्तै व्यवस्था अपनाएको छ तर त्यहाँ राज्यले नियन्त्रण गरेको छ। चीन सरकार ज्याक मालाई पनि लगाम लगाउन सक्छ तर अन्य देशमा अवस्था त्यस्तो छैन। उनका अनुसार चीनले साथ दिएको हुने थिएन भने पाकिस्तान र श्रीलंका पहिल्यै टाट पल्टिसक्ने थिए।

डलर सञ्चिति घट्दा के हुन्छ?

कुनै पनि अर्थव्यवस्थामा विदेशी मुद्रा पर्याप्त हुनु धेरै किसिमले महत्वपूर्ण मानिन्छ। विदेशी मुद्रा अर्थात अमेरिकी डलर। अमेरिकी डलर विश्वकै मुद्राको रुपमा पहिचान बनाएको छ। अन्तर्राष्ट्रिय व्यापारमा डलर तथा यूरो धेरै नै चल्ती तथा स्वीकार्य मुद्रा हो। विश्वभरका केन्द्रीय बैंकहरु जहाँ विदेशी मुद्रा भण्डार हुने गर्छ त्यसमा ६४ प्रतिशत अमेरिकी डलर रहेको बताइन्छ। यस्तो अवस्थामा डलर आफैं एक ग्लोबल करेन्सी बन्न जान्छ। डलर ग्लोबल करेन्सी हुनु उसको मात्र नभई अमेरिकी अर्थव्यवस्थाको शक्तिको प्रतीक पनि हो।

इन्टरनेशनल स्ट्याण्डर्ड अर्गनाइजेसन लिस्टका अनुसार विश्वमा कुल १८५ मुद्राहरु छन्। यी मुद्राहरु मध्ये अधिकांश मुद्राहरुको प्रयोग आफ्नै देशमा मात्र सीमित हुन्छ। कुनै पनि मुद्रा विश्वभरमा कुन हदसम्म प्रचलित हुन्छ त्यो उक्त देशको अर्थव्यवस्था तथा शक्तिमा निर्भर रहन्छ। विश्वभरका ८५ प्रतिशत व्यापार डलरबाट हुन्छ। अन्तर्राष्ट्रिय ऋण पनि डलरमा  दिने गरिन्छ यसकारण विदेशी बैंकहरुलाई अन्तर्राष्ट्रिय व्यापारमा डलर अत्यावाश्यक हुन्छ।

डलरको तुलनामा कुनै पनि देशको राष्ट्रिय मुद्रा कति बलियो छ यो उक्त देशको विदेशी मुद्रा भण्डारमा कति डलर छ भन्नेमा निर्भर रहन्छ। विनिमय दरलाई नियन्त्रणमा राख्नका लागि विदेशी मुद्रा भण्डार सन्तुलित हुन अत्यावश्यक हुन्छ। यदि कुनै देशको मुद्राको मूल्य घट्न थाल्यो भने विदेशी मुद्रा भण्डारबाट डलर मार्केटमा पठाइन्छ ताकि विनिमय दर धेरै नबढोस्।

विदेशी मुद्रा नहुने स्थितिमा कुनै पनि देशले आफ्नो लागि अत्यावश्यक सामान आयात गर्न समेत सक्दैन।  आयात गर्न नसक्नुले चौतर्फ समस्या उत्पन्न गराउँछ। पेट्रोलियम पदार्थहरु किन्न पनि डलर नै आवश्यक पर्छ। यदि डलर नहुने हो भने उक्त देशको उत्पादन नै प्रभावित हुन जान्छ। उत्पादनमा परेको प्रभावले उक्त देशको आय तथा राजस्व सबैतिर असर पर्छ र अत्यावश्यक सामान किन्न नसक्ने अवस्थाले देशलाई अझ बढी समस्यातिर धकेल्दै लैजाने गर्छ। श्रीलंकाले विशेषगरी पर्यटकिय क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्दै आएको थियो। तर कोभिड महामारीका कारण उसको पर्यटन क्षेत्र धरासायी भएको छ भने विदेशी मुद्रा आर्जनका सबै बाटो बन्द भएका छन्।

सन् २०१९ को अन्त्यमा श्रीलंकाको विदेशी मुद्राको भण्डार ७.६ अर्ब डलर थियो। यो रकमले सन् २०२० मा पाँच महिनाको आयात धान्न सक्थ्यो। तर विदेशी ऋण तथा विदेशी विनिमय भुक्तानीको तुलनामा यो रकम धेरै नै कम थियो।

सन् २०२० को सुरुवातदेखि नै श्रीलंकाको मुद्रा रुपया धेरै नै दबाबमा रह्यो। सन् २०२० को अन्त्यसम्म श्रीलंकाको विदेशी मुद्रा भण्डार ५.७ अर्ब डलरसम्म पुगेकोमा सन् २०२१ को नोभेम्बरमा यो जम्मा १.६ अर्ब डलरमा खुम्चिन पुग्यो।

श्रीलंकाको केन्द्रीय बैंकका पूर्व उप गभर्नर बिजेबर्दनाका अनुसार १.६ अर्ब डलर श्रीलंकाको तीन साताको आयातका धान्नका लागि मात्र पर्याप्त हो। त्यसको दुई महिना बित्दा पनि श्रीलंका आफ्नो  अर्थतन्त्र जोगाउन हरसम्भव कोसिस गरिरहेको देखिन्छ।

ढुकुटीमा चरम डलर अभावको सामना गरिरहेको श्रीलंकाले आगामी १८ तारिखमा म्याद सकिने ऋण तिर्न सकेमा मात्रै थोरै समयका लागि भए पनि टाट पल्टिने बाटोतर्फ लाग्नबाट आफूलाई जोगाउन सक्छ। (एजेन्सीहरुको सहयोगमा)