२२ वर्षको उमेरमा १० अर्ब कारोबार गर्ने उद्योग सम्हाल्ने युक्ति, ठूलो स्टील उद्योग बनाउने लक्ष्य

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७८ पुष २७ गते १४:४९ | Jan 11, 2022
२२ वर्षको उमेरमा १० अर्ब कारोबार गर्ने उद्योग सम्हाल्ने युक्ति, ठूलो स्टील उद्योग बनाउने लक्ष्य


विराटनगर। पाँच वर्षअघि युक्तिको उमेर भर्खरै २२ वर्षको थियो। उनले दिल्लीको जीडी गोयन्का युनिभर्सिटीबाट बीए पढ्दै थिइन्। बीए सकिनै लागेको बेला युक्ति नेपाल फर्किनुपर्ने बाध्यता पर्‍यो। 

Tata
GBIME
Nepal Life

बुबा महेन्द्र गोल्छाको निधनपछि कलिलै उमेरमा अर्बौको कारोबार सम्हाल्नुपर्‍यो। बुबाको निधन भएको केही वर्षमै नेपालकै पुरानो घराना गोल्छा समूह अंशबण्डा भयो। अशंबण्डापछि महेन्द्रको परिवारको नाममा हुलास वायर इन्डस्ट्रिज पर्‍यो। त्यही उद्योग युक्तिले सम्हाल्न पुगिन्। महेन्द्रको साहिँली छोरी युक्तिले वार्षिक १० अर्बको कारोबार हुने उद्योगलाई सफल रुपमा अगाडि बढाइरहेकी छन्।

अन्तर्राष्ट्रिय बजारमा सामान्य भाउको उतारचढावले आफ्नो ब्यालेन्ससीटमा ठूलै नाफा नोक्सान हुने गर्छ। कलिलै उमेरमा उनले यो जोखिम लिइन्। र, उद्योगको कारोबारलाई उचाइँतर्फ लगिरहेकी छन्।

‘यहाँ आउनुअघि मलाई हुलास वायरमा के उत्पादन हुन्छ भन्ने पनि थाहा थिएन,’ बिजमाण्डूसँग युक्तिले भनिन्, ‘खासमा हाम्रो अर्गनाइजेसनमा मलाई हुलास वायर नामको उद्योग छ भन्ने पनि थाहा थिएन। यही अन्जानकै अवस्थामा म उद्योगको कमान्ड सम्हाल्न आएँ।’

उनले थपिन्, ‘अहिले अनुभव भइरहेछ, संसारमा गर्न नसक्ने केही रहेनछ। अभ्यास र आत्मविश्वास चाहिँ आवश्यक पर्दो रहेछ। म अब कुनै पनि उद्योग सञ्चालन गर्न सक्छु भन्ने लाग्छ।’ पाँच वर्षअघि जीडी गोयन्का विश्वविद्यालयमा मार्केटिङ र एडभर्टाइजिङ विषयमा उनी स्नातक पूरा गर्न लागेकी थिइन्।

उनी घर आएका बेला परेको थियो। यही बेला नेपालकै सबैभन्दा ठूलो औद्योगिक घराना गोल्छा अर्गनाइजेसनभित्र अंशबण्डा भयो। स्वर्गीय महेन्द्रका घरपरिवारका भागमा हुलास वायर पर्‍यो। स्वर्गीय दिवाकर र महेन्द्रको ड्रीम प्रोजेक्ट मानिने हुलास वायरलाई महेन्द्रले लिड गरेका थिए। २०६६ मा महेन्द्रको निधन भएपछि उद्योगको व्यवस्थापन दिवाकरका छोरा हिमांशुले हेर्न थाले। यसैबीच अंशवण्डाका क्रममा यो उद्योग महेन्द्रका भागमा पर्‍यो। त्यसपछि उद्योगलाई लगातार युक्तिले नेतृत्व गरिरहेकी छन्।

‘मेरो बुबा ठूलो उद्योगपति हुनुहुन्छ भन्ने थाहा थियो तर उहाँ के उत्पादन गर्नुहुन्छ भनेर थाहा थिएन,’ उनले सुनाइन्, ‘उहाँ दिनरात उद्योगकै काममा खट्नु हुन्थ्यो। हामीसँग कुराकानी र संगत निकै कम हुन्थ्यो। २०६४ मा उहाँलाई फोक्सोको घातक क्यान्सर भएको पत्ता लाग्यो।यसपछि भने उहाँ हामी परिवारसित धेरै नजिक हुनुभयो। मैले बुबालाई अनि राम्ररी जान्ने मौका पाएँ। हामीलाई कहिल्यै साह्रो वचनसम्म गर्नुभएन।’

आफ्ना अंशमा हुलास वायर परेपछि उनलाई उद्योग हेर्ने प्रेरणा आमा राजलक्ष्मीले दिइन्। उनी संविधानसभा सदस्य थिइन्। लन्डन जाने तयारी गर्दै गरेकी युक्तिले एकल आमालाई छाडेर पढ्न जाने तयारी पनि रद्द गरिन्। भाइ पारस सानै थिए। त्यसैले पनि उनले उद्योगको लगाम समात्नु पर्‍यो। आमाको ‘बोल्डनेस’ आफ्ना लागि सदैव प्रेरणा भएको युक्ति बताउँछिन्।

अरु उद्योगीको जस्तै उनको अधिकांश समय उद्योगमा बित्छ। घरमा ब्रेकफास्ट सकिएलगत्तै उनी उद्योगस्थित कार्यालयका हुँइकिन्छन्। बिहानको १० बज्नुअगावै कार्यालय आइसकेकी हुन्छिन्। उद्योगमै कर्मचारीको ‘लन्च’का लागि मेस चलाइएको छ। उनी लन्चका लागि घर पुग्दिनन्। आफ्नै कर्मचारीसित गफिँदै खाना खान्छिन्। यसो गर्दा आपसमा आत्मीयता र उत्प्रेरणा बढेको उनको अनुभूति छ। साँझ साढे ७ बजेसम्म अफिसमै व्यस्त हुन्छिन् र घर फर्किन्छिन्।

उद्योग सञ्चालनका लागि उनको पहिलो गुरु आफ्नै कर्मचारी र कामदार हुन्। उनीहरूले यसरी कच्चा पदार्थ आउँछ, यसरी उत्पादन गरिन्छ, यसरी डिस्प्याच हुन्छ र निर्यात पनि हुन्छ भनेर उद्योगका सारा गतिविधि ब्रिफ गरिदिए। सिक्दै गएपछि उनमा अझ गर्ने, अझ उत्पादन र कारोबार बढाउने रुचि थपिँदै गयो।

त्यसो त, उनको रुचि मार्केटिङ र विज्ञापनमा थियो। स्नातक पनि यसैमा गरिन्। तर काम भने म्यानुफ्याक्चरिङमा गर्नुपर्‍यो। ‘आफूले सोचेको गर्न कहाँ पाइँदो रहेछ र ?,’ उनी सुनाउँछिन्, ‘तर हुलास वायरमा आएर गरेको म्यानुफ्याक्चरिङ बिजनेसको अध्ययन काम लागिरहेको छ। पुस्तकको ज्ञान पुस्तकमै सीमित हुँदो रहेछ। व्यावहारिक अनुभव नै मुख्य ज्ञान रहेछ।’

हुलास वायरमा उनी इन्ट्री गर्दा उद्योगले जीआई वायर, टीएमटी डन्डी, कपर सिट, कपर क्वायल, एचआर सिट, सटर स्प्रिङ, सटर पत्ती, ब्रास र कपरका सिट, फ्वाइल, गेभियन बक्स, काँटी, रिप्ड वायर, लगायतका फलाम, पित्तल र तामाका दर्जनौं वस्तुको  उत्पादन गर्दै थियो। उनी आएपछि उनले पाइपको युनिट थपिन्।

पाइपको उत्पादन र व्यापार सन्तोषजनक रहेको उनको अनुभव छ। पाइपपछि उनी अब बिलेट उत्पादनका लागि मेल्टिङ युनिटमा लागेकी छन्। खनारमा मेल्टिङका लागि छुट्टै युनिट स्थापना गरिएको छ। भाइ पारसले मेल्टिङको काममा सघाइरहेका छन्। ६ महिनाभित्र मेल्टिङ युनिटबाट बिलेट उत्पादन गरिसक्ने उद्देश्य राखिएको छ। हुलास वायरका उत्पादन भारतका एभरेडी ब्याट्री, भिन्डा, गोदरेज, मारुती, होन्डा लगायतका ठूला कम्पनीमा निर्यात भएर जान्छन्।

‘फलाम, पित्तल र तामाका वस्तु उत्पादनका लागि कच्चा सामग्रीको उत्पादन गर्ने मेरो लक्ष्य छ’, युक्ति दृढताका साथ भन्छिन्, ‘तर ती कुन वस्तु हुन् भन्ने कुराको खुलासा म अहिले गर्दिन। उद्योगलाई आगामी १० वर्षमा नेपालको सबैभन्दा ठूलो स्टील उद्योग बनाउने मेरो अर्को लक्ष्य छ। त्यसमा म सफल हुन्छु भन्ने आत्मविश्वास छ।’

युक्ति हुलास वायरमा आएपछि उद्योगले धेरै निर्यात गरेबापत आर्थिक वर्ष २०७६/७७ र ०७७/७८ मा लगातार दुई वर्ष सीआइपी (कमर्सियल्ली इम्पोर्टेन्ट पर्सन)को सम्मान पनि पाइसकेको छ। दुवै वर्ष उद्योगले ७ अर्बभन्दा बढीको निर्यात गरेको थियो। तर सरकारसँग बैंक ग्यारेन्टी र पासबुकको विवादका कारण उद्योगको निर्यात यस वर्ष केही खस्किएको छ। उनी यही आर्थिक वर्षभित्र यो विवाद सुल्झने विश्वासमा छिन्।

त्यसो त, युक्तिको विवाह विराटनगरकै औद्योगिक घराना काबरा ग्रुपका सिद्धार्थसँग तीन वर्षअघि भइसकेको छ। तर पनि हुलास वायरको काम हेर्न उनलाई काबरा ग्रुपले रोकेको छैन। बरु हौसला दिएको छ र सघाएको छ। उनका श्रीमान् सिद्धार्थ काबरा क्वालिटी ब्रान्डका बिस्कुट, चाउचाउ, कन्फेक्सनरी, वेफर, स्न्याक्स आदिको म्यानुफ्याक्चरिङमा व्यस्त हुन्छन् र युक्ति हुलास वायरको व्यवस्थापनमा।