६ वर्षमै बर्गर हाउसले फैलाएको साम्राज्य, देशभर ८८ आउटलेट, एक अर्ब बढीको लगानी




काठमाडौं। वसन्त लामाले कुकको काम गर्न थालेको आठ-दश वर्ष बितिसकेको थियो। उनले काठमाडौंका धेरै होटल र रेष्टुरेन्टमा खाना बनाइसकेका थिए। ठूला सहर मात्रै नभएर गाउँघरतिर पनि मम, चाउमिन जस्ता परिकार सामान्य भैसकेको समय थियो त्यो।



रेष्टुरेन्ट कल्चर काठमाडौंमा मात्रै नभएर मोफसलमा पनि फैलिसकेको थियो। रेष्टुरेन्ट क्षेत्रमा सम्भावना र अवसर दुवै देखेका लामाले १० वर्ष अरुका होटल र रेष्टुरेन्टमा काम गरिसकेपछि बुझेको सत्य थियो- 'सधैं अरुको होटलमा काम गरेर मात्र हुँदैन। सोचेजस्तो सफलता पाउन आफ्नै केही हुनुपर्छ।'

तर वास्तविकता के पनि थियो भने काठमाडौंमै पश्चिमा कुजिनसहितको चेन रेष्टुरेन्ट भएका द बेकरी क्याफे, रोयल एलिनाज बेकरी क्याफेजस्ता क्याफे कल्चर ल्याउने रेष्टुरेन्टहरुमात्र नभई रैथाने परिकार पस्किने बाजेको सेकुवा स्टाइलका रेष्टुरेन्टहरु पनि धेरै खुलिसकेका थिए। त्यस्तै मेनुसँग उनले प्रतिस्पर्धा गर्न सक्ने अवस्था त्यसबेला थिएन।

तिनताक केएफसी भर्खरै काठमाडौं छिरेको थियो। केएफसीका खानेकुरा किन्न नेपालीहरु लामो लाइन लागेको पनि वसन्तले देखेका थिए। त्यही लाइन देखेरै उनले खाका कोरे - सस्तो, मिठो र छिटो फास्टफुड सर्भ गर्ने रेष्टुरेन्टको।

अनि जन्मियो वसन्तको ब्रेनचाइल्ड –'द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन।' 

वसन्तको अनुभवले भन्थ्यो - 'बर्गर र चिकेन बेचेर मात्रै काठमाडौंमा रेष्टुरेन्ट चल्दैन।' उनले बर्गर हाउसको मेनुमा नेपाली उपभोक्ताहरुले जहाँ गए पनि खोज्ने मम, चाउमिन, फ्राइड राइससहितका परिकार पनि समेट्ने विचार गरे।

वसन्तको दिमाग जन्मिएको रेष्टुरेन्ट खोल्ने ठाउँ भने उनले लामो समय पाउन सकेनन्। अझ काठमाडौंको भिडमा खाली ठाउँ भेट्नै गाह्रो। उनले बर्गर हाउसको आउटलेट खोल्न काठमाडौंका धेरै ठाउँ चाहारे। तर, मन खायो नयाँ बानेश्वर-शंखमूल बाटोले। त्यहाँ रहेको लिटल काठमान्डु रेष्टुरेन्ट त्यो समयमा सबैले रुचाउने रेष्टुरेन्ट थियो। भिड पनि उस्तै। 

उनी लिटल काठमान्डू पसेर केही परिकारहरु चाखे। चाखेको भन्दा मिठै बनाउन सक्छु भन्ने आत्मविश्वास उनमा जाग्यो। बैंक तथा वित्तीय संस्था, स्कुल, कलेज, अफिसहरुको हब बानेश्वर भीडले उनलाई आउटलेट खोल्न थप बल पुग्यो। 

त्यो बेला वसन्तले पाटनमा मम, चाउमिन, बर्गर नै बेच्ने होटल चलाइरहेका थिए।

उनले राखेको रेष्टुरेन्टको नाम एक त लामो, अझ बर्गर खाने बानी नपरेका नेपालीलाई कसरी आफ्नो परिकार बेच्ने ! पाटनकै होटलमा बर्गर मगाएर काँटा चम्चाले खाने ग्राहकलाई खान सिकाउँदा मलाई यसरी नै खान सजिलो हुन्छ भन्ने जवाफ पाएका वसन्तलाई व्यवसाय चलाउन मुस्किल पर्नेमा दुईमत थिएन। तर वसन्त पनि त्यति सजिलै हार मान्नेवाला कहाँ थिए र !

बानेश्वरमा आउटलेट मन त बनाए तर स्पेस कहाँ भेट्ने? वसन्त त्यसैको खोजीमा लागे। उनका साथी 'थ्रि सिक्स्टी फाइभ' स्टोरमा काम गर्थे। उनलै वसन्तलाई स्टोरको तल्लो फ्लोर खाली हुन लागेको सूचना दिए। 

अन्डरग्राउण्डको त्यो स्पेसको भाडा महिनाको डेढ लाख। २५ वर्षे युवा थिए वसन्त। त्यो समयमा त्यत्रो स्पेस भाडामा लिएर काम गर्छ भन्ने पत्याउनै घरबेटीलाई निकै गाह्रो परेको वसन्तले सम्झिए।  

त्यस बीचमा वसन्तले दुई तीनपटक घरबेटीलाई भेटे। घर सल्लाह गर्छु भन्दै घरबेटीले उनलाई पर्खिन भन्थे तर, निर्णय दिँदैनथे। एक महिनासम्म पनि वसन्तले  मनपराएको त्यो स्पेस पाउन सकिरहेका थिएनन्। मनमनै भने वसन्तले त्यो स्पेसलाई कसरी प्रयोग गर्ने भन्ने डिजाइन गरिसकेका थिए।

घरबेटीले केही समयपछि वसन्तलाई कता कता रेष्टुरेन्ट चलाइराछौं भनेर सोधे। उनले पनि आफ्नो मात्र नभई साथीभाईका रेष्टुरेन्टको समेत नाम लिएर ३/४ वटा चलाइरहेको भन्दै ढाँटेर घरबेटीको मन जित्ने प्रयास गरे। त्यो ट्रिक काम  पनि लाग्यो। तीन महिनाको अग्रिम भाडा बुझाएर वसन्तले त्यो स्पेस आफ्नो बनाए।  

सुरुका २७/२८ दिन बर्गर हाउसको डिजाइन तयार पार्ने लाग्यो। २०७२ चैत ३० मा नयाँ वर्ष लक्षित गर्दै शंखमूलमा द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनको पहिलो आउटलेट खुल्यो। सुरुमा वसन्तसँगै किचेनमा ७/८ जना र वेटरहरु गरेर करिब २० जना शंखमूल आउटलेटमा काम गर्थे।
सुरुका दुई/तीन दिन व्यापार फस्टायो। १५ देखि २० हजार रुपैयाँसम्म व्यापार भयो। केही महिना दैनिक व्यापार सुस्त बन्यो। चार/पाँच महिना भाडा तिर्ने बस्नेबाहेक केही उपाय वसन्तसँग थिएन। 

कतिले त विदेशबाट पैसा कमाएर आएछ क्यारे अब चार/पाँच महिनापछि सबै सामान उठाएर जान्छ समेत भन्थे रे वसन्तलाई। 
तर, २०७३ भदौ ताका यूरो कपका कारण बर्गर हाउसको व्यापार दैनिक ३५-४० हजार रुपैयाँ पुग्यो। २०७३ को दसैंपछि नै बर्गर हाउसले दोस्रो आउटलेट मध्य-बानेश्वरमा खोल्यो। डिल्लीबजारलगायतका क्षेत्रमा पाँच वटासम्म आउटलेट त्यही दौरान बर्गर हाउसले खोल्न सक्यो। 

शंखमूलको आउटलेट खोल्न वसन्तले करिब ७७ लाख रुपैयाँ लगानी गरेका थिए। पाटनको एक सहकारीबाट ऋणसहित उनले परिवारका केही सदस्यसँग मिलेर आउटलेट सुरु गरेका थिए। अहिले पनि त्यही टिमले वसन्तसँग काम गरिरहेको छ। अहिलेसम्म आफूसँग जोडिएकामध्ये एक जनाले मात्र छोडेको उनी बताउँछन्। जसले छोडे उनले पनि अर्को चर्चित रेष्टुरेन्ट चेन चिकेन स्टेसन संचालन गरिरहेको उनले बताए।

देशका विभिन्न सहरहरुमा बर्गर हाउसले अहिले करिब ८८ वटा आउटलेट संचालनमा ल्याइसकेको छ। यी सबैमा गरी एक अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको वसन्तले जानकारी दिए। 

‘दुबईको कमाइले काठमाडौंमा घडेरी आउँदैन’
दोलखाबाट बौद्ध झरेका वसन्त २३ वर्षकै उमेरमा अफगानिस्तान जान हिँडेका थिए। उता कुकले १२ सय डलर पाउने लोभमा उनी अफगानिस्तान जान दुबई पुगे। तर, वसन्तलाई अफगानिस्तान जान दिइएन। ८/९ महिना मासिक ५०-६० हजार तलबमा उनले दुबईमै काम गरे।

‘वर्षमा ६ लाखले हिसाब गर्दा१० वर्षमा ५०-६० लाख रुपैयाँ त कमाउने रहेछु। १० वर्ष दुबईमा बिताएर फर्किंदा जोडेको पैसाले काठमाडौंमा एउटा घडेरी पनि आउँदैन। यहाँ बसेर उँभो लागिँदैन।'- यही सोचेर नेपाल फर्किएका थिए वसन्त। 

वसन्तले दुबईबाटै नेपालमा रहेको साथीहरुले त्यहाँ आएर रेष्टुरेन्ट खोल्नेबारे छलफल गरे। नौ महिना काम गरेपछि दुबईबाट फर्किएर उनले सात महिनाभित्रै बर्गर हाउसको पहिलो आउटलेट खोलेका थिए। अहिले तिनै साथीहरु लामाको प्रगति देखेर चकित पर्छन्। 

६ वर्ष नपुग्दै ८८ आउटलेट, केही बन्द पनि भए 

बर्गर हाउसले नेपालभर अहिले ८८ वटा आउटलेट संचालन गरिरहेको छ। ९१ वटा शाखा पुर्‍याएको बर्गर हाउसका केही शाखा भने बन्द गरिएको वसन्तले जानकारी दिए। बर्गर हाउसका दुई तीनवटा आउटलेटले सोचेजस्तो राम्रो व्यापार गर्न नसकेपछि बन्द गरिएको हो। ठमेल र  न्यूरोडका बर्गर हाउसले  भाडा तिर्नुबाहेक उल्लेख्य व्यापार गर्न नसकेपछि बन्द गरिएको उनले बताए। 

संचालनमा रहेका सबै आउटलेटमा करिब २५ सय कर्मचारी कार्यरत छन्। बर्गर हाउसले आवश्यक सबै खाद्य सामाग्रीहरु ‘मेरो किसान’ नामक कम्पनीबाट खरिद गर्दै आएको छ।

बर्गर हाउस सुरु गरेका संस्थापकहरुसँग अहिले ६ वटा आउटलेट छन्। बाँकी भने कम्पनीले फ्रेन्चाइजी बिक्री गरेको उनले जानकारी दिए। बर्गर हाउसले फ्रेन्चाइजीका लागि मापदण्ड तोकेको छ। जसअनुसार काठमाडौं उपत्यकाभित्र आउटलेटहरुबीच न्यूनतम एक किलोमिटर दूरी, उपत्यका बाहिर एक शहर एक आउटलेटअनुसार हुने उनले बताए।

‘चितवन, पोखरा, विराटनगरमा भने एउटै सहरमा तीन चार वटासम्म आउटलेट संचालन गर्न दिइरहेका छौं। सहरको क्राउडअनुसार आउटलेट धेरै वा थोरै राख्नेबारे निर्णय गर्छौं,’ उनले भने।  बर्गर हाउसले आफ्नो ब्राण्ड रङ रातो राख्नुमा पनि अर्थ लुकेको उनी बताउँछन्।  ‘आइ क्याची’ हुनुका साथै रेष्टुरेन्टमा रातो रङले मान्छेलाई भोकको अनुभव गराउने वसन्तको भनाइ छ। 

सबै आउटलेटमा सम्भव छैन उही स्वाद
बर्गर हाउसका सबै आउटलेटहरुमा खानाको स्वाद उस्तै भने छैन। काठमाडौंभित्रै एउटै स्थानबाट सबै आउटलेटमा रेसिपि पठाउँदा समेत बिभिन्न किसिमका व्यवहारिक कठिनाइ हुने गर्दछ। ट्राफिक जाम, बिजुली आपूर्तिमा गडबडीलगायतका अनेक समस्याहरुले सबै ठाउँमा उस्तै स्वाद नहुने वसन्त बताउँछन्।  उही स्वाद नभएपनि एकैनासको स्वाद दिन भने कोसिस गरेको उनले दाबी गरे।

उपत्यका भित्रका आउटलेटमा सामान पुर्‍याउन तीनवटा गाडी बर्गर हाउसले प्रयोग गरिरहेको छ। उपत्यका बाहिर भने हवाई मार्गबाट सामाग्री पठाउने गरेको छ। 

‘विदेशमा जस्तो सजिलो छैन। सेन्ट्रल पर्चेज गर्नेबारे मैले धेरै सोचें। सस यहाँबाट बनाऔं, बिहानै ५ बजेबाट बनाउन सुरु गर्दा ७/८ बज्छ। सस सेलाउँदा १० बज्छ। सबै आउटलेटमा पुर्‍याउँदा त समयमै पुग्दैन। ४०/५० वटा गाडी राख्ने कुरो नि भएन, खर्च पनि धेरै लाग्छ,’ वसन्तले भने।
यही समस्यालाई समाधान गर्न बर्गर हाउसले सबै आउटलेटका कुक तथा कर्मचारीहरुलाई पर्याप्त तालिम दिएर पठाउने गरेको वसन्तले जानकारी दिए। एकैनासको स्वाद दिन कम्पनीले बौद्धमा तालिम संचालन गर्दैछ।

तालिम लिएर कुकहरु आउटलेटमै पुगेपछि सबै परिकार फ्रेस हुनुका साथै सहज तरिकाले संचालन हुने उनको भनाइ छ। 

वसन्तका अनुसार बर्गर हाउसले सबैभन्दा धेरै ध्यान नै किचेनलाई दिएको छ।  तीन चार जनाको टोली नै बनाएर काठमाडौं उपत्यकासहित अन्य जिल्लाहरुमा रहेका आउटलेटहरुमा गएर उनीहरुले नियमित मूल्यांकन गर्ने गरेका छन्। एउटा आउटलेटमा तीन/तीन घण्टा बस्नुपर्ने गरी टोली परिचालन हुने गरेको बताइएको छ। 

काठमाडौंभित्र भने अब आउटलेट विस्तार रोक्ने वसन्तको योजना छ। अब बढीमा १० वटा आउटलेट मात्रै थप्न सक्ने अवस्था रहेको उनले जानकारी दिए। आफुहरुको रेष्टुरेन्टमा जोकोही पनि आउन सक्ने गरी मूल्य राखिएकाले रेष्टुरेन्टलाई प्रतिस्पर्धीबाट धेरै जोखिम नरहेको दाबी उनले गरे।

‘अहिले केही खायो। एकछिनमा फेरि भोक लाग्छ। हामीले हाम्रो रेष्टुरेन्टमा आवश्यक सबै परिकार बर्गरदेखि ममसम्म, कफीदेखि रक्सीसम्म सबै राखेका छौं। त्यो पनि सुलभ मूल्यमा। मैले एकै दिन एउटै मान्छेलाई दुई-तीन पटकसम्म हाम्रो आउटलेटहरुमा देख्ने गरेको छु,’ वसन्त सुनाउँछन्। 

बर्गरको स्वाद सुधार्न गरेको चतुर्‍याइँ
लामाले बर्गर हाउसमा सुरुमा बर्गरमा ह्यान्ड मिक्स मायोनिज प्रयोग गर्थे। यो गुणस्तरीय नभएको गुनासो आउन थाल्यो। बर्गरमा प्रयोग हुने बन पनि ज्यादै ठूलो भएको भन्दै ग्राहक असन्तुष्ट हुन्थे। 

लामाले सुरुमा बर्गरको बनमा सुधार गरे। बर्गर हाउसले मास्टर बेकरीबाट बर्गर बन झिकाउन थाल्यो। अरुबाट किन्नुभन्दा आफैं बनाउन सकिन्छ भन्नेमा उनी पुगे। तर, बेकरीसम्बन्धी काममा भने लामा बेखबर र कच्चै थिए।

उनी काठमाडौंमा संचालित एक बहुराष्ट्रिय कम्पनीका बेकरी हेर्ने एक कर्मचारीसँग भेट्न पुगे। उनले बर्गर हाउस पछिल्लो समय निकै ग्रो भइरहेको र आफू बेकरी संचालन गर्ने तयारी गरिरहेको भन्दै विचार गर्न आग्रह गरे। 

लामाले बौद्धमा संचालनमा रहेको बर्गर हाउसको बेकरीको २५ प्रतिशत सेयर स्वामित्व दिएर ती कर्मचारीलाई भित्र्याए। गत दसैंदेखि उनी उक्त कम्पनीको जागिर छोडेर फूल टाइम बर्गर हाउसको बेकरी सम्हालिरहेका छन्। बर्गरमा प्रयोग गर्ने बन ३६० डिग्री हिटले सबैतिर पाक्ने भएकाले जुनकुनै रेष्टुरेन्टसँग प्रतिस्पर्धा गर्न सक्ने वसन्तको भनाइ छ।  

नेपालीलाई बुझाउन लामो भयो ब्राण्ड नेम
रेष्टुरेन्टमा गएर बर्गर वा क्रन्ची फ्राइड चिकेन खाने चलन थिएन। वसन्तले ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ राख्नुको पछाडि मार्केटिङ लुकेको छ। क्रन्ची फ्राइड चिकेनको सट्टा द बर्गर हाउस एण्ड सीएफसी राख्ने योजना पनि थियो तर, ग्राहकहरुलाई बुझाउन जरुरी छ भनेर नै उनले लामो नाम राखेको बताउँछन्। 

अर्कोतर्फ बर्गर वा क्रन्ची फ्राइड चिकेन राख्यो भने यी दुई भेराइटी मात्रै पाउने हो कि भन्ने भ्रम ग्राहकलाई पर्न सक्ने भएकाले पनि रेष्टुरेन्टको नाम लामो हुन पुगेको थियो। 

‘शंखमूलमा ५/६ महिना रेष्टुरेन्टमा राम्रो व्यापार नहुँदा मान्छेहरु ढोकैमा आएर ओहो ! यहाँ त बर्गर र चिकेन मात्रै पाउँछ होला है भन्थे। हामीले होइन सबै पाउँछ भनेर मेन्यू थमाउथ्यौं,  कहिले क्रन्ची फ्राइड चिकेन चखाएरै पठाउँथ्यौं। हाम्रो बारे थाहा दिन जरुरी थियो। त्यसबेला मार्केटिङ आवश्यक थियो,’उनले भने। 

व्यापार विविधिकरण गर्दै 
बर्गर हाउसले भैरहवामा कुखुराको मासु र ससेज बनाउन मल्टीमिट प्रोसेसिङ उद्योग पनि स्थापना गरेको छ। तीन करोड रुपैयाँ लगानीमा कम्पनीले भाटभटेनीदेखि अन्य रेष्टुरेन्टहरुमा छुट्टै प्याकेजिङ गरेरमासुका परिकार पठाउने गरेको वसन्तले जानकारी दिए। 

उद्योगमा ६ वटा कोल्ड रुम छन्। काठमाडौंमा उद्योग खोल्न लागत ठूलो लाग्नुका साथै पूर्वी र पश्चिम नेपालमा आफ्नो उत्पादन पुर्‍याउँन सजिलो हुने भएकाले भैरहवामा खोलेको उनले बताए।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell