प्लास्टिक, खाद्यपछि धीरज अग्रवाल अब स्टिलमा, २ अर्ब लगानीमा उत्पादन हुनेछ फलामजन्य सामाग्री

बिजमाण्डू
२०७८ मंसिर १७ गते ०९:३४ | Dec 3, 2021
प्लास्टिक, खाद्यपछि धीरज अग्रवाल अब स्टिलमा, २ अर्ब लगानीमा उत्पादन हुनेछ फलामजन्य सामाग्री


काठमाडौं। खाद्य र प्लास्टिक उद्योगमा जमेका धीरज अग्रवालले व्यवसायलाई बिस्तार गर्दै स्टिल उद्योगमा हात हालेका छन्। उनी अहिले नयाँ उद्योगको स्थापनामा जुटेका छन्।  

Tata
GBIME
Nepal Life

स्टिल पार्क विस्तारका लागि उनले नवलपरासीको सरावल गाँउपालिका-३ मा साढे ६ बिघा जग्गा लिएका छन्। यस्तै थप साढे ३ बिगाहा जग्गा खरिद गर्ने प्रक्रियामा छन्। स्टिल उद्योग साढे ६ बिघा जग्गामा रहने उनले बताए।

'उद्योग विस्तार गर्नका लागि साढे ६ बिघा जग्गाको प्रबन्ध भइसकेको छ। बाँकी साढे तीन बिघाका लागि तयारी गरिरहेका छौं, कुनै अवरोध नआए एक वर्षभित्र उद्योग सञ्चालनमा ल्याउने छौं,' उनले बिजमाण्डूसँग भने,'हामी अहिले आइरन इन्डष्ट्रीकै प्रोजेक्टमा काम गरिरहेका छौं।' 

उद्योगको नाम टेन स्टील पार्क प्रालि राखिएको छ। योजनाअनुसार यो उद्योगमा सुरुमा कुल एक अर्ब लगानी हुनेछ। उद्योगले वार्षिक एक लाख ८० हजार मेट्रिक टन आइरन स्ट्रिप उत्पादन गर्नेछ। यसमा २ सय ५५ जनाले रोजगारी पाउनेछन्।

कामदारहरु केही भारतबाट ल्याइनेछ भने अधिकांश स्थानीयस्तरबाट लिइनेछ। मेसिनरी सञ्चालन र अन्य प्रयोजनाका लागि उद्योगमा कुल ३० हजार केभीए क्षमताको प्रसारणलाइन आवश्यक पर्ने प्राविधिकको भनाइ छ। 

फुड पार्क, प्लास्टिक पार्कपछि अब  स्टील पार्क

कम्पनीले फुड पार्क, प्लास्टिक पार्कपछि स्टिल पार्क विस्तार सुरु गरेको हो। जसमा मेटल इन्डस्ट्रीका ५ वटा जति सामाग्री उत्पादन रहने छ। यो उद्योगबाट बिलेड, टीएमटी छड, जस्तापाता, एंगल सेक्सन, आईबी च्यानल, एमएस पाइप लगायत उत्पादन गर्नेछ। उत्पादन थालेपछि उद्योगमा थप एक अर्ब लगानी थपेर बिस्तार गर्ने योजना छ।  

कम्पनीले फुड पार्कमा ८० करोड लगानी गरिरहेको छ। जसमा चामल र दालका प्रशोधन लागि क्षमता वृद्धि गर्ने तयारी रहेको छ। कम्पनीले अहिले काठमाडौं गेट, सेतो हिमाल ब्राण्डको चामल बिक्री गर्दै आएको छ।

अहिले चामल उद्योगको क्षमता १२ टन छ। यसलाई विस्तार गरी २४ टन पुर्‍याउने तयारी छ। यस्तै दाल उद्योगको पनि क्षमता विस्तार गर्ने योजना छ। कोभिडपछि उद्योगीहरुले आफूले गर्दै आएका पुरानासँगै व्यवसायका नयाँ क्षेत्रमा हात हालिरहेका छन्।

उद्योगी अग्रवालले पनि यस्तो गरेका हुन्। सुरुमा चामलबाट व्यवसाय थालेको उनको कम्पनीको समूहमा विविधता थपिँदैछ। अग्रवालले टेन्ट प्लास्ट उद्योग पनि चलाइरहेका छन्। यो उद्योगबाट पानी ट्यांकी, पाइप लगायत सामाग्री उत्पादन गर्दै आएको छ।

यो उद्योगलाई पनि थप क्षमता विस्तार गरी प्लास्टिक पार्क बनाउने योजना उनको छ। जहाँ प्लास्टिकबाट उत्पादन हुने अधिकांश सामाग्रीहरु उत्पादन हुनेछन्। यो उद्योगमा एक अर्ब लगानी गर्ने योजना कम्पनीको छ। कम्पनीले गुणस्तर र प्रविधिमा कुनै सम्झौता नगर्ने दाबी गरेको छ। 

प्लास्टिकमा इटालियन टेक्नोलोजीको प्रयोग गरिएको छ भने फुडपार्क जापानी टेक्नोलोजीको प्रयोग गरिएको छ। कम्पनीले सम्बन्धित क्षेत्रको सबैभन्दा बलियो प्रविधिलाई प्रयोगमा ल्याएको छ। 

यस्तै फलामजन्य उत्पादनमा जर्मन प्रविधिको प्रयोग गरिएको छ। फलामबाट उत्पादन हुने सामाग्रीको बजार देशैभरी बिक्री गर्ने योजना कम्पनीको छ।