एनसेलले स्वास्थ्यमा गरेको कामले पायो विट्सा र एसोसीओ अवार्ड, धुलिखेल अस्पतालसँग सहकार्य

बिजमाण्डू
२०७८ मंसिर ७ गते १७:२६ | Nov 23, 2021
एनसेलले स्वास्थ्यमा गरेको कामले पायो विट्सा र एसोसीओ अवार्ड, धुलिखेल अस्पतालसँग सहकार्य


काठमाडौं। एनसेलले ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा दिन संचालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ। धुलिखेल अस्पतालसँगको सहकार्यमा एनसेलले उक्त सेवा संचालन गरेको थियो। एनसेलले विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ र एसोसीओ अवार्ड २०२१ जित्न सफल भएको जनाएको छ। 

Tata
GBIME
Nepal Life

शिक्षा मन्त्री देवेन्द्र पौडेलले एनसेललाई उक्त अवार्ड हस्तान्तरण गरेका छन्। वर्ल्ड इन्फरमेसन टेक्नोलोजी एण्ड सर्भिसेस् अलाएन्स (विट्सा) र एसियन-ओसियनियन कम्प्यूटिङ् इण्डष्ट्री अर्गनाइजेसन (एसोसीओ) मा क्यान महासंघले नेपालको प्रतिनिधित्व गर्दै आएको छ। 

विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ का विजेताहरुको घोषणा गत कात्तिक २७ मा बंगलादेशको ढाकामा आयोजित एक कार्यक्रममा भएको थियो। एनसेलले यो अवार्ड मेरिट विनरको रुपमा इ–हेल्थ सोलुसन अवार्ड (प्राइभेट सेक्टर÷एनजीओ) विधा अन्तर्गत जितेको हो।

त्यस्तै, गत कात्तिक २६ मा ढाकामा आयोजित वर्ल्ड कङ्ग्रेस अन इन्फरमेसन एण्ड टेक्नोलोजी २०२१ कार्यक्रममा एनसेलले हेल्थटेक अवार्ड २०२१ विधा अन्तर्गत एसोसीओ अवार्ड जितेको घोषणा गरिएको थियो। यस कार्यक्रममा विभिन्न २४ देशका ३५ संघसंस्था तथा कम्पनीहरु एसोसीओ अवार्डबाट सम्मानित भएका बताइएको छ। 

यो कार्यक्रम धुलिखेल अस्पताल अन्तर्गतका विभिन्न ग्रामीण भेगका चार स्वास्थ्य केन्द्रहरुमा लागू गरिएको बताइएको छ। ग्रामीण क्षेत्रका बासिन्दाहरुले स्थानीय स्वास्थ्य केन्द्रमार्फत धुलिखेल अस्पतालमा रहेका विषेशज्ञ डाक्टरहरुसँग परामर्श लिन सक्ने बताइएको छ। 

‘हाम्रो सामाजिक जिम्मेवारी अन्तर्गत सुरु गरिएको स्वास्थ्य सम्बन्धी यस कार्यक्रमले प्रतिष्ठित विट्सा र एसोसीओ अवार्ड जित्न सफल भएकोमा हामी निकै खुसि छौं,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङले भने, ‘यस पहलले दुरदराजका जनसमुदायको जीवन रक्षा गर्न मद्दत गर्नुको साथै आफ्नै ठाउँमा नै सेवा पाउँछन्। यो कार्यक्रमले १५ हजारभन्दा बढी घरधुरीका जनसमुदायहरुलाई दीर्घरोग, नसर्ने रोग, सरुवा रोग लगायतका रोगहरुको उपचार सेवामा प्रतक्ष्य योगदान गर्दछ।’

‘एनसेलसँगको हाम्रो यस सहकार्यले अन्तर्राष्ट्रिय पुरस्कार पाउनु ठूलो सम्मान हो। जनसमुदायलाई सजिलै गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न यो कार्यक्रम २० वा सोभन्दा बढी स्वास्थ्य केन्द्रमा लागू गर्ने हाम्रो योजना छ,’ धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले भने।

टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम धुलिखेल अस्पतालद्वारा ग्रामीण क्षेत्रमा संचालन गरिएको चार वटा स्वास्थ्य केन्द्रहरु सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङ्गसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा संचालन भइरहेको एनसेलले जनाएको छ। 

यो कार्यक्रममा टेलिमेडिसिन र पर्सनलाईज्ड हेल्थ प्रोग्राम (पीएचपी) गरी दुई क्षेत्रमा केन्द्रित छ। टेलिमेडिसिन अन्तर्गत आधुनिक टेलिमेडिसिन किट र कनेक्टिभिटीको प्रयोग गरी अस्पतालका चिकित्सक तथा विज्ञहरुसँग सिधै सम्पर्क गरी सेवा लिन सकिने बताइएको छ।