नागरिक लगानी कोष अध्यक्षबाट डा. भट्टराई र संचालकबाट साउद भए बिदा, भट्टराईको उमेरहद पूरा

बिजमाण्डू
२०७८ मंसिर ५ गते १७:१० | Nov 21, 2021
नागरिक लगानी कोष अध्यक्षबाट डा. भट्टराई र संचालकबाट साउद भए बिदा, भट्टराईको उमेरहद पूरा

काठमाडौं। नागरिक लगानी कोषका अध्यक्षबाट प्रा.डा. रामचन्द्र भट्टराई बिदा भएका छन्। उमेरहदका कारण डा. भट्टराईको पदावधि सकिएको हो। अर्थमन्त्रालयले उनको पदावधि सकिएको पत्र गत कात्तिक २८ मा कोषलाई पठाएको थियो।

Tata
GBIME

डा. भट्टराईलाई २०७५ असोज २१ मा मन्त्रिपरिषदले कोष अध्यक्षमा नियुक्त गरेको थियो। ३७ महिना कोषको अध्यक्षता गरेका उनलाई कोषले आइतबार बिदाई गरेको जनाएको छ।

‘इन्भाइरोमेन्ट इकोनोमिक्स’ मा विद्यावारिधि गरेका भट्टराईले हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गतको पाटन बहुमुखी क्याम्पसमा अर्थशास्त्रका अध्यापक समेत थिए। त्यसअघि उनले राष्ट्रिय वाणिज्य बैंकको संचालक, राष्ट्रिय योजना आयोगमा सल्लाहकार, अर्थमन्त्रालयमा वरिष्ठ आर्थिक सल्लाहकार, नेपाल राष्ट्र बैक, न्याय सेवा तथा कृषि क्षेत्र लगायतमा पनि काम गरेका थिए।

यस्तै, संचालक चन्द्रसिंह साउदलाई पनि कोषले आइतबार नै बिदाई गरेको छ। यसअघि सर्वोत्तम सिमेन्टको सेयरको भित्री कारोबारमा मुछिएको आरोप लागेपछि साउदले नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका थिए।

बिदाई कार्यक्रममा डा. भट्टराईले बोर्ड र कार्यकारी निर्देशकबीचको सम्पर्क र सहकार्यात्मक सम्बन्धलाई निरन्तरता दिनुपर्ने बताए। साउदले पनि आफ्नो कार्यकालमा पाएको सहयोगका लागि सबै संचालकलाई धन्यवाद दिए।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले बिदा भएका कोष अध्यक्ष र संचालक दुवैले पुर्‍याएको सहयोगको सरहाना गरे।