
काठमाडौं। अघिल्लो वर्षको असोजको तुलनामा विदेशमा काम गर्न गएका नेपालीले पठाउने रेमिटेन्स १९ अर्ब ५४ करोडले घटेपनि चालु वर्षको सर्वाधिक रेमिटेन्स असोजमा भित्रिएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोजको तथ्यांक अनुसार, रेमिटेन्स एक महिनामा ८३ अर्ब ९५ करोड रुपैयाँ भित्रिएको छ। जबकी भदौमा ७९ अर्ब ४१ करोड र साउनमा ७५ अर्ब ९६ करोड रुपैयाँ भित्रिएको थियो।
असोजमा दसैंतिहारका कारण उच्च आयातले समस्या पार्छ भन्ने अनुमान विपरीत बाह्य क्षेत्रमा सुधार देखिएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन्। 'अझै बिग्रिएर जाला भन्ने अनुमान थियो तर त्यो अवस्थाबाट हामी केही सम्हालिएका छौं,' ती अधिकारीले भने, 'यसले सकारात्मक सन्देश प्रवाह गर्छ।'
जस्तो विदेशी विनिमयको सञ्चितिमा सामान्य भए पनि सुधार देखिएको छ। असार मसान्तको तुलनामा घटे पनि भदौको तुलनमा वृद्धि भएको छ। असार मसान्तमा सञ्चिति १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ थियो। भदौमा आएर १३ खर्ब ६ अर्ब ९५ करोडमा सीमित भयो। असोजमा १२ अर्ब ३७ करोडले बढेको छ। रेमिटेन्स पनि ४ अर्ब ५४ करोड रुपैयाँले सुधार भएको छ।
शोधनान्तर घाटा भदौको तुलनामा ७ अर्ब २७ करोडले घटेको छ। पोहोर असोजमा भने एक खर्ब एक अर्ब ९ करोड रुपैयाँ बचतमा थियो। गत भदौमा घाटा ८३ अर्ब ४१ करोड पुगेकोमा यसपालीको असोजमा ७६ अर्ब १४ करोडमा आएको हो।
'भदौसँग तुलनामा गर्दा केही राम्रो देखिएको हो तर यो तुलना गलत हुन जान्छ,' एक अर्थशास्त्रीले भने, 'डा. युवराज खतिवडा स्टाइलको तुलनाले आत्मरति मात्र मिल्ने हो, अर्थतन्त्र समस्याको भुमरीमै छ।'
उनका अनुसार, पूर्व अर्थमन्त्री खतिवडाले तथ्यांकहरुलाई आफ्नो अनुकूल व्याख्या गर्थे। अहिलेको तथ्यांकलाई पनि भदौसँग तुलना गर्नु भनेको अपव्याख्या हो, पोहोरको असोजसँगै तुलना गर्नु पर्छ।
खतिवडाले कुनै सूचकलाई राम्रो देखाउनु छ भने खराब भएको समयसँग तुलना गर्थे भने कुनै सूचकलाई खराब देखाउनु छ भने राम्रो भएका बेलाको सूचकसँग तुलना गर्थे। त्यसैलाई यी अर्थशास्त्रीले 'खतिवडा स्टाइल' को तुलना भनेका हुन्।
'फेरि भदौको भन्दा घाटा कम भएको हो, बाह्य क्षेत्रक सूचकहरु जम्मै सकारात्मक भएको होइन,' ती अर्थशास्त्रीले भने, 'त्यसैले अझै पनि आयातमा सचेत हुनु पर्छ।' असोजमा व्यापार घाटा ४ खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ।
विवरण (रु. अर्बमा) | २०७८ असोज | २०७८ भदौ | २०७८ साउन | २०७७ असोज |
शोधनान्तर बचत (घाटा) | -76.14 | -83.41 | -38.75 | 101.09 |
चालु खाता बचत (घाटा) | -151.7 | -106.75 | -47.9 | 34.36 |
वैदेशिक मुद्रा सञ्चिति | 1319.32 | 1306.95 | 1354.82 | 1470.26 |
आयात | 478.52 | 314.52 | 150.73 | 292.27 |
ब्यापार घाटा | 413.47 | 270.48 | 129.97 | 261.22 |
रेमिटेन्स (जोडिँदै आएको) | 239.32 | 155.37 | 75.96 | 258.86 |
मासिक रेमिटेन्स | 83.95 | 79.41 | 75.96 | 258.86 |