अप्ठ्यारामा परेपछि प्रधानन्यायाधीश जबराको आह्‍वान: विग्रहबाट होइन, संवादबाट समाधान खोजौं

बिजमाण्डू
२०७८ कात्तिक २९ गते ११:५५ | Nov 15, 2021

काठमाडौं। केही दिनदेखि अदालतमा देखिएको विवादको संवादमार्फत् समाधान खोज्न प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आग्रह गरेका छन्।

Tata
GBIME
NLIC

प्रधानन्यायाधीश राणाले सोमबार बिहान जारी गरेको विज्ञप्तिमा आन्दोलनमा रहेका न्यायाधीशहरुलाई काममा फर्किन समेत आग्रह गरिएको छ। अदालतका प्रवक्ता बाबुराम दाहालले उक्त विज्ञप्ति पढ्दै अहिले देखिएको समस्याको समाधान विद्रोह छोडेर संवादबाट नै खोज्न भनिएको बताए।

'कर्तव्य निर्वाह गर्ने सिलसिलामा यदाकता प्रश्नहरु उठ्दा त्यसलाई तत्काल सम्बोधन गर्दै बार एशोसिएशन र न्यायपालिकाबीच हातेमालो गरी एक अर्कोको परिपूरकको रूपमा अगाडि बढ्दै आएको हाम्रो इतिहास म फेरि स्मरण गर्दछु। पारस्परिकता र हार्दिकताको कुरा जहाँबाट टुटेको छ, त्यहीँबाट समस्याको समधान खोज्न सकिन्छ,' प्रधानन्यायधीशले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको नेपाल बार एशोसिएशनले आजदेखि आन्दोलन केन्द्रिकृत गरेको छ। आज सर्वोच्च अदालतभित्र जुटेका वकिलहरुलाई प्रहरीले सामान्य बल प्रयोग गरेको थियो।

जबराविरुद्ध जिल्लागत तहमा समेत आन्दोलनका कार्यक्रमहरु सुरु हुन थालेपछि उनले संवादका लागि आग्रह गरेका हुन्। सर्वोच्च अदालतका लागि अन्य अदालतमा पनि जारी आन्दोलनका कार्यक्रमको नराम्रो असर परेको छ। न्यायालयका काम कारवाही यही प्रकरणका कारण प्रभावित बनेको छ।