नयाँ शहरमा लगानी गर्न दुई कोरियन कम्पनी इच्छुक, आयोजनाबारे जानकारी लिएपछि प्रस्ताव गर्ने

बिजमाण्डू
२०७८ कात्तिक ३० गते ०४:४४ | Nov 16, 2021
नयाँ शहरमा लगानी गर्न दुई कोरियन कम्पनी इच्छुक, आयोजनाबारे जानकारी लिएपछि प्रस्ताव गर्ने

काठमाडौं। दक्षिण कोरियाका दुई कम्पनीले काठमाडौं उपत्यकामा सरकारद्वारा प्रस्तावित चार नयाँ शहर विकास कार्यक्रममा लगानी गर्न इच्छा देखाएका छन्। 

Tata
GBIME
Nepal Life

कोरियाका एचटु ग्लोबल कर्पोरेशन लिमिटेड र एचएम ह्यानमङ कर्पोरेशन लिमिटेडले इच्छुक देखिएका हुन्। कम्पनीका प्रतिनिधिले शहरी विकास मन्त्रालयका सचिव डा. रमेश सिंह र उपत्यका विकास प्राधिकरणको विकास आयुक्त जानुका ढकाललाइ भेटेर लगानी गर्न इच्छुक रहेको बताएका छन्।

'हामीसँग पछिल्लो समय धेरै विदेशी कम्पनीहरुले नगर विकास कार्यक्रममा लगानी गर्न इच्छा देखाएका छन्,' विकास आयुक्त ढकालले भनिन,'हामीले दुइ कोरियन कम्पनीसँग पनि भेट्यौं। उहाँहरुले पनि लगानी गर्ने इच्छा व्यक्त गर्नु भयो। लगानीका मोडालिटी र यहाँको कानुनी प्रावधानका विषयमा जिज्ञासा राखेका थिए।' 

साथै उनीहरुले प्राधिकरणले नगर विकास कार्यक्रमको अहिलेसम्मको प्रगतिका विषयमा समेत जानकारी लिएको ढकालले बताइन्। कोरियन कम्पनीका प्रतिनिधीले यहाँ प्रावधान सम्बन्धी जानकारी लिएपछि प्रस्ताव गर्ने बताएका छन्। कोरियन कम्पनीका प्रतिनिधिहरुलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपीसीएफ) विधिको आवश्यक कानुनी प्रबन्ध गर्ने काम भइरहेको जानकारी गराइएको छ।

त्यस्तै काठमाडौं उपत्यकामा नयाँ नगरहरुको भौतिक विकास योजनालाई अघि बढाउन समिति गठन गरेर प्रतिवेदन तयार पारिसकेको छ। जसले लगानीको मोडालिटी, रिटर्न पिरियडको सम्भाव्यता, जमिनको प्रयोग, खरिद प्रक्रिया, इपीसीएफ विधिको अवलम्बन लगायतका विषयहरु समावेश गरिएको छ। त्यस सम्बन्धी पनि जानकारी गराइएको छ। 

उपत्यका विकास प्राधिकरणले उपत्यकाको चार कुनामा चार शहर विकास गर्न ब्लक प्लान बनाएको छ। प्राधिकरणले एक लाख रोपनी क्षेत्रफलको एउटा र १०/१०हजार रोपनी क्षेत्रफलका तीन नयाँ शहर निर्माण गर्न अध्ययन गरेको छ। एक लाख रोपनीको नयाँ शहरको नाम काठमाडौं ईशान (पूर्व-उत्तर) हुनेछ। अरु तीन काठमाडौं आग्नेय (पूर्व–दक्षिण), काठमाडौं नैऋत्य (दक्षिण-पश्चिम) र काठमाडौं हरित शहर (उत्तर) नामकरण गरिएको छ।

काठमाडौं ईशान पूर्वतर्फ भक्तपुरको नगरकोट जाने सडक हुँदै तेलकोट भन्ज्याङ, पश्चिम क्षेत्र जोरपाटी क्रिकेट स्टेडियम, मूलपानी, गोठाटार हुँदै मनोहरा पुल, भक्तपुर जाने पुरानो बाटोसम्म पुग्नेछ। उत्तरतर्फ साँखु बजार र साँखु जाने मुल सडक र दक्षिणतर्फ भक्तपुर पुरानो बाटोमा पर्ने नेपाल सैनिक प्रतिष्ठान, खरिपाटी छुनेछ। जसको भौतिक पूर्वाधारको योजना तयार भएको छ। विज्ञसहित बसेको बैठकले भौतिक पूर्वाधार विकासको योजना बनाएको विकास आयुक्त ढकालले बताइन्। उनका अनुसार अब मन्त्रिपरिषद्‍मा पेश गरेर स्वीकृति लिएपछि निर्माण प्रक्रिया अघि बढ्नेछ।

काठमाडौं आग्नेय पूर्वतर्फ अरनिको राजमार्गको सूर्यविनायक चोकदेखि सूर्यविनायक वनलाई बाहिर पार्दै जानेछ। पश्चिमतर्फ खहरेखोला, बालकोट-विरुवा सडक, पानी ट्यांकी, अमरनगर लगायतका ठाउँलाई जोड्छ। उत्तरतर्फ अरनिको राजमार्गको सिमाना छ भने दक्षिणमा भक्तपुरको रानीकोट जंगलको छेउसम्म पुग्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ।

काठमाडौं नैऋत्य पूर्वमा छ्यासीकोटदेखि फर्सिडोल, वाग्मती नदीको झोलुंगे पुलसम्म, पश्चिममा वाग्मती नदी, उत्तरमा साबिकको सैंबु गाविसको सिमाना, दक्षिणमा वाग्मती नदीसम्म पुग्छ। 

काठमाडौं उत्तर पूर्वमा सामाखुसी, टोखा रोड हुँदै बाइपाससम्म पुग्छ। पश्चिममा काभ्रेस्थली बाइपास जाने मूल सडक, उत्तरमा सपनातीर्थ मालुङ हुँदै काभ्रेस्थली छुनेछ भने दक्षिणमा ग्रीनल्याड चोकदेखि मनोरथ हुँदै महादेव खोलासम्मको क्षेत्र समेट्ने छ।

तीनवटा नयाँ शहरको भने पूर्वाधार विकास योजना बनाउन बाँकी छ। त्यसका लागि गृहकार्य सुरु गर्न लागिएको ढकालले बताइन्। 'मन्त्री परिषद्‍बाट स्वीकृति लिएर चारवटै शहरमा पर्ने जग्गा रोक्का राखिएको छ। ल्याण्ड पुलिङमार्फत नगर विकास गर्न लागिएको हो,' ढकालले भनिन्।  

नयाँ बन्ने शहरमा व्यवस्थित ल्याण्डफिल साइट, सडक सञ्जाल, बजार, औद्योगिक, बैंकिङ क्षेत्र, विद्यालय हुनेछ। शहरका लागि आवश्यक पर्ने सबै खालका पूर्वाधार व्यवस्थित रूपमा विकास गर्ने योजना बनाइएको छ। काठमाडौं अव्यवस्थित भएको भन्दै व्यवस्थित शहरको परिकल्पना गरेर उपत्यकाको चार कुनामा शहर विकास गर्ने योजना बनाएको हो।

चारवटै शहर विकासका लागि करिब ४ खर्ब रुपैयाँ लाग्ने अनुमान छ। शहर विकासका लागि विदेशी लगानी आवश्यक पर्ने ढकालको भनाइ छ।