हिउँदे बालीका लागि कृषिको आइपुग्यो १० हजार टन डीएपी, वितरणमा ढिलाइ हुँदा खेतीमा अभाव

बिजमाण्डू
२०७८ कात्तिक २८ गते १८:१८ | Nov 14, 2021

काठमाडौं। कृषि सामाग्री कम्पनीले मंसिर लाग्नु अघि हिउँदे बालीलाई आवश्यक डीएपी मल नेपाल भित्र्याएको छ। कम्पनीले १० हजार टन मल भित्र्याएको हो। 

Tata
GBIME
Nepal Life

किसानहरुले बाली लगाउन सुरु गरे पनि समयमै मल नआउँदा देशका विभिन्न भागहरुमा अभाव देखिएको छ। अघिल्ला वर्षहरुमा पनि समयमै मल नआउँदा किसानहरुले अभाव खेपेका थिए। १० हजार टन डीएपी मल कम्पनीको कार्यालयमा आइपुगेको कम्पनीका सूचना अधिकारी राजेन्द्र कार्कीले जानकारी दिए। कम्पनीसँग डीएपी मल करिब २३ टन मात्रै स्टक थियो। 

पाँच हजार टन वीरगंज र पाँच हजार टन भैरहवा नाका हुँदै नेपाल भित्रिएको उनले बताए। गहुँ, आलु र तोरी खेतीलाई आवश्यक यो मल कम्पनीले २५ हजार टन आयात गर्न लागेको हो। पहिलो खेपमा कम्पनीले १० हजार टन भित्र्याएको जनाएको छ। बाँकी १५ हजार टन मल केही समय भित्रै आइपुग्ने कार्कीले बताए। 

कम्पनीले ल्याउने २५ हजार टन मलले मागको ३० देखि ३५ प्रतिशत पूरा गर्ने उनले दाबी गरे। आगामी वर्ष हिउँदे बालीलाई मात्रै ७० देखि ८० हजार टन डीएपी मल आवश्यक पर्ने कम्पनीको आकलन छ। 

सरकारले मल आयातका लागि कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङलाई स्वीकृति दिएको छ। साल्ट ट्रेडिङले समयमै मल नल्याउँदा बाली लगाउने बेला मलको चरम अभाव भएको कम्पनीको आरोप छ।

'यतिबेला बजारमा मलको अभाव साल्ट ट्रेडिङका कारण भएको हो। साल्ट ट्रेडिङले फागुनमै २५ हजार टन डीएपी मल ल्याउने भनेको थियो। तर, लामो समयदेखि ल्याउने भनीएको एक वर्ष पुग्न लाग्दा पनि ल्याउन सकेन,' कार्कीले भने।  

हालसम्म कृषि कम्पनीले आयात गरेको मल बर्खे बालीलाई काम चलाउन बनेको छ। हिउँदे बालीलाई आवश्यक मल चीनबाट ५ हजार टन आयात हुँदैछ। मल नेपाल आइपुग्न अझै १५ दिन लाग्ने कम्पनीले जनाएको छ। यो मल आएपछि पनि मलको आपूर्ति सहज हुने अवस्था छैन। 

मल वितरणमा ढिलाइ हुँदा अभाव

वीरगंज र भैरहवाबाट भित्रिएको मल समयमै किसानसम्म नपुग्दा अभाव देखिएको छ। मल भर्खरै भित्रिन थालेको छ। 'सर्वेको रिपोर्ट प्राप्त नभएकाले मलको परिचालन भएको छैन। यसले गर्दा सबै जिल्लाहरुमा मलको अभाव देखिन थालेको छ,' कार्कीले भने। 

जिल्ला कृषि कार्यालयबाहेक प्रमुख जिल्ला अधिकारीहरुले समेत सम्बन्धित जिल्लामा मल आवश्यक भएको भन्दै आपूर्ति गर्न तारन्तर ताकेता गरिरहेको उनले बताए।  

कम्पनीले एक/दुई दिनभित्रै जिल्लामा मल आपूर्ति गर्ने तयारी गरिरहेको छ।