
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बस सेवा संचालन गर्ने बताएका छन्। आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६ औँ बैठकको उद्घाटन कार्यक्रममा मन्त्री आलेले आन्तरिक र बाह्य टर्मिनलमा सटल बस सेवा संचालन गर्ने बताएका हुन्।
यात्रुहरुले विमानको भन्दा धेरै ट्याक्सी भाडा भएको गुनासो गरेको भन्दै त्यसको समाधानका लागि सटल बस संचालनको तयारी भइरहेको उनले बताए।
'प्लेन भन्दा ट्याक्सी महंगो भयो भन्ने गुनासो आएको छ। अब हामी छिटै आन्तरिक र बाह्य एयरपोर्टमा ४ वटा सटल बस संचालन गर्दैछौँ, नेपाल नागरिक उड्डयन प्राधिकरणले निःशुल्क बस सेवा संचालन गर्छ,' मन्त्री आलेले भने।
उनले नेपाललाई भारतलगायत मध्यपूर्व र पश्चिमी मुलुकहरुसँग जोड्ने पश्चिमतर्फको हवाइ रुट लिमा-६२६ लाई दुईतर्फी बनाउन भारतसँग आग्रह गरेको समेत जानकारी दिए।
'म अस्ती २६ गते दिल्ली गएको थिएँ, त्यहाँका पर्यटन मन्त्री र नागरिक उड्डयन मन्त्रीसँग छलफल भयो,' उनले भने, 'नेपाललाई भारतलगायत मध्यपूर्व र पश्चिमी मुलुकहरुसँग जोड्ने पश्चिमतर्फको हवाइ रुट लिमा-६२६ लाई दुईतर्फी बनाउन पनि आग्रह गरेँ, दिल्लीमा ६२६ वान वे छ, त्यसलाई टू वे संचालन गर्नुपर्यो भनेर आग्रह गरेँ।'
भैरहवामा निर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको छिट्टै प्रधानमन्त्रीले उद्घाटन गर्नेसमेत उनले जानकारी दिए। त्यहाँ विमान ल्याण्डिङ र टेकअफ गर्नको लागि समस्या भएको हुनाले भारतसँग एयर रुटको कुरा गरेको उनले बताए। उनले भारतसँग भएको एयर बबल सम्झौता हटाउने विषयमासमेत भारतीय समकक्षीसँग छलफल भएको जानकारी दिए।