‘प्रत्येक नागरिक ट्राफिक प्रहरी’ कार्यक्रम लागु हुँदै, सडकलाई पनि तीन रंगमा छुट्याइने

बिजमाण्डू
२०७८ कात्तिक २४ गते ११:१९ | Nov 10, 2021
‘प्रत्येक नागरिक ट्राफिक प्रहरी’ कार्यक्रम लागु हुँदै, सडकलाई पनि तीन रंगमा छुट्याइने

काठमाडौं। यातायात व्यवस्था विभागले 'प्रत्येक नागरिक ट्राफिक प्रहरी' कार्यक्रम कार्यान्वयन गर्न तयारी थालेको छ। 

Tata
GBIME
Nepal Life

कार्यक्रमका  कार्यान्वयनमा ल्याउन सोमबार ट्राफिक प्रहरी लगायतका सरोकारवाला निकायसंग सुझाव लिएको विभागका निर्देशक डा. लोकनाथ भुसालले बताए। उनका अनुसार अरु थप छलफल गरेर अघि बढ्ने योजना बनाइएको छ। 

यो कार्यक्रम अन्तर्गत सडकलाई तीन भागमा वर्गीकरण गरेर नयाँ नियम लागु गर्न लागिएको छ। अहिले सडकमा राखिएको ट्राफिक बत्तीकै रङ जस्तै गरी रातो, पहेलो र हरियो गरि सडकलाई पनि तीनवटा जोनमा छुट्याइने छ। मुख्य सडकलाई रातो, त्यसभन्दा बाहिरको लेनलाइ पहेंलो र सडक अनुसार हरियो जोनमा वर्गीकरण गरिनेछ।

सडक वर्गीकरण मापदण्ड बनाएर गरिने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताए। उनका अनुसार रेड जोनमा सवारीसाधन रोक्न पाईंदैन। यसैगरी पहेंलोमा सवारी रोक्न पाएपनि पार्किङ गर्न पाईंदैन। हरियो जोनमा तोकिएको समयसम्म पार्किङ गर्न पाइन्छ।

यसका लागि विभागले एपको विकास गर्ने योजना बनाएको छ। कसैले वर्गीकरण गरेको क्षेत्र पालना नगरे जो कोहीले पनि उजुरी गर्न सक्नेछन्। एपले डेढ मिटरसम्म रहेको सवारीसाधनको नम्बर प्लेट रिड गर्न सक्छ। कसैले उजुरी गर्न चाहे एपमार्फत फोटो सहित गर्न सक्नेछ। उक्त उजुरीका आधारमा सिस्टमले नै जरिवानासहितको म्यासेज पठाउँछ।  उक्त जरिवानाको १० प्रतिशत उजुरी गर्ने व्यक्तिले प्राप्त गर्नेछ।