लाइसेन्सको अनलाइन आवेदन प्रणाली सटडाउन, भारतीय कम्पनीकाे मनाेमानीले विभागमा छटपटी

बिजमाण्डू
२०७८ कात्तिक १५ गते १४:०४ | Nov 1, 2021
लाइसेन्सको अनलाइन आवेदन प्रणाली सटडाउन, भारतीय कम्पनीकाे मनाेमानीले विभागमा छटपटी

काठमाडौं। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली(सर्भर)मा पुन: समस्या आएको छ। प्राविधिक समस्या आएका कारण अनलाइन आवेदन प्रणाली एक सातामै दोस्रोपटक सट डाउन भएको हो।

Tata
GBIME
Nepal Life

जसका कारण ट्रायल परीक्षा दिन चाहने सेवाग्राहीले अनलाइन आवेदन नै दिन पाएका छैनन्। करिब ५ वर्षअघि अनलाइन आवेदन प्रणाली कार्यान्वयनमा आएदेखि नै बारम्बार समस्या आइरहेको छ। दुई वर्षदेखि कोरोना कारण अनलाइन आवेदन प्रणालीमा सीमित समय मात्रै खुल्यो। जसका कारण लाखौ सेवाग्राहीले अनलाइन आवेदन नै दिन पाएका छैनन्।

यातायात व्यवस्था विभागका अधिकारीहरुले भने सिस्टम मर्मतको काम चलिरहेको बताएका छन्। 'हाम्रो यहीँका प्राविधिक र अन्तर्राष्ट्रिय प्राविधिकहरुले काम सुरु गरसकेका छन्। भारतीय कम्पनी मद्रासले सिस्टम बनाएको हो। आइतबार बिदा हुने गरेका  कारण उनीहरुले काम गरेनन्। आज विहानै काम सुरु गरेको बताएका छन्,' यातायात व्यवस्था विभागका निर्देशक डा. लोकनाथ भुसालले भने,'आज बेलुकी ५ बजेसम्म सिस्टम संचालनमा आइसक्ने जानकारी पाएका छौ‍ं। त्यसपछि भर्न पाइन्छ।'

यातायात व्यवस्था विभागले पछिल्लो समय ६ महिनापछि कात्तिक ८ गते प्रणालीमा संचालनमा ल्याएको थियो। कोरोना संक्रमण फैलनबाट रोक्न सरकारले निषेधाज्ञा जारी गरेका कारण बैशाख १६ अनलाइन र ट्रायल दुवै रोकिएको थियो। दसै‌‌‍ अघि नै ट्रायल परिक्षा संचालनमा आएपनि अनलाइन आवेदन प्रणाली संचालनमा ल्याउन सकिएको थिएन। अनलाइन  प्रणाली अनलिमिटेड बनाइएको भएपनि सीमित ट्रायल सेन्टरहरु रहेका कारण आवेदन दिएका लाखौं मानिसहरुल ट्रायल परिक्षा कुरेर बसेका थिए।

करिव ५ लाख सेवाग्राहीहरु कुरिरहेको विभागले जनाएको छ।  ट्रायल सेन्टर सीमित रहेका कारण थेग्नै नसक्ने भन्दै विभागले अनलाइन प्रणाली बन्द गरेको थियो। तर चौतर्फी दबाब  भएपछि संचालनमा ल्याइएको हो।

कात्तिक ८ गते अनलाइन प्रणाली संचालनमा ल्याइएको थियो।  त्यसको चार दिनपछि ११ गतेबाट प्रणालीमा समस्या आयो। त्यसको करिब ५ घण्टामा आंशिक रुपमा संचालनमा आएको थियो। आंशिक रुपमा चलिरहेको प्रणालीमा अहिले समस्या आएर सिस्टमा नै सट डाउन भएको छ।भारतीय कम्पनीसँग सम्झौतामा समस्या आउदा सिस्टम मर्मत गरिदिने भएकाले उसैले गरिरहेको भुसालले बताए।

'मद्रासले बनाएको सिस्टम परिपक्व नभएर समस्या आएको हो। दिगो समस्या समाधानका लागि सिस्टम नै अपग्रेड गर्नुपर्ने देखिएको छ,' भुसालले भने।

'भारतीय कम्पनीले सिस्टम बन्धक बनायाे'
भारतीय कम्पनीले सिस्टम नै बन्धक बनाएका कारण समस्या भएको यातायात व्यवस्था विभागका एक इन्जिनियरले बताए। उनका अनुसार कम्पनीले नेपाललाइ सिस्टम नदिए कारण यो समस्या आएको हो। 'हामीलाइ मद्रासले सिस्टम दिने हो भने यस्तो समस्या हुदैन। अहिले त के भयो भने सिस्टम उसंग छ। हामीले एक्सेस नै पाएका छैनौ। यसो गर्न पर्‍याे भनेर अनुरोध गर्ने हो,' उनले भने ,'भनेका बेला टेर्दैन। त्यसैले समस्या भएको हो।'

विभागका अनुसार भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सले इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (इडीएल) र भेहिकल रजिष्ट्रेसन सिस्टम (भिआरएस) को एउटै प्याकेजमा ठेक्का पाएको थियो। पाँच वर्ष अघि नै इडीएलको सिस्टम तयार भएर कार्यान्वयनमा ल्याइयो। तर भिआरएस अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन्।

'हामीले ठेक्काको ५० प्रतिशत भुक्तानी दिइसकेका छौ। इडिएलको भुक्तानी दिइसकेपनि हामीले पाँच बर्षदेखि सिस्टम पाएका छैनौ', ती इन्जिनियरले भने,' हामीले सिस्टम माग्दा एउटै प्याकेज भएको भन्दै भीआरएस कार्यान्वयनमा आएपछि मात्रै दिन्छौ भन्छ। ठेक्का दिने हामी प्रणालीमा मनोमानी उसको छ।'

उनका अनुसार यसबारे विभागले मन्त्रालयलाइ एक/दुइ दिनमै बिफ्रिङ गर्न लागिएको छ।  'केहि दिनको अल्टिमेटम दिएर सिस्टम हामी मातहतमा ल्याउन मन्त्रालयलाइ आग्रह गर्न लागेका छौ। मन्त्रालयले साथ दियो भने सिस्टम हामी मातहत आउँछ। समस्या आउदैन', ती इन्जिनियरले भने,' सिस्टम दिन मानेन भने एक्सन लिनुपर्ने हुन्छ। फटाहा कम्पनी परेकाले सास्ती खेप्नु परेको छ।'

ठेक्का लगाउने बेला विभागका अधिकारीहरुले सिस्टममा नियमन गर्ने प्रावधान नराखेका कारण समस्या भएको हो। जसले विभागका तत्कालीन कर्मचारीले मिलेमत्तो गरेर ठेक्का लगाएको आशंका गरिएको छ।