दुग्ध विकासमा तिहार र छठका लागि ५२ हजार लिटर घ्युको माग, ‘उत्पादन बढाउन बटरले पुग्दैन’

बिजमाण्डू
२०७८ कात्तिक १३ गते १०:२७ | Oct 30, 2021
दुग्ध विकासमा तिहार र छठका लागि ५२ हजार लिटर घ्युको माग, ‘उत्पादन बढाउन बटरले पुग्दैन’

काठमाडौं। कोरोना महामारीको समय दुग्धजन्य पदार्थ बिक्री नहुँदा नोक्सानमा जान थालेको सरकारी कम्पनी दुग्ध विकास संस्थानलाई यतिबेला भने माग अनुसार डेलिभरी दिनै हम्मे परेको छ। चाडपर्वले संस्थानको घ्युको माग बढाएको छ।

Tata
GBIME
Nepal Life

यो वर्ष तिहारको र छठका लागि करिब ५२ हजार लिटर घ्युको माग आएको संस्थानका महाप्रबन्धक रुद्रप्रसाद पौडेलले बताए। 'हाम्रो उत्पादनका तुलनामा माग धेरै भएकाले संस्थान पुरा गर्नै नसक्ने स्थितिमा छ,' उनले भने। गत वर्ष यही अवधिमा घ्युको माग ४५ हजार लिटर थियो।कोभिडका कारण बटरको स्टक धेरै भएकाले त्यसबेला उत्पादनमा समस्या थिएन। 

यसपटक घ्यु उत्पादनका लागि संस्थानसँग पर्याप्त बटर(नौनी) छैन। बजारको माग भन्दा ५ हजार लिटर नपुग्ने भएको उनले बताए। 'सकभर माग अनुसारको आपूर्ति गर्ने कोसिस गरिरहेका छौं। घ्यु उत्पादन तथा प्रशोधनको काम धमाधम छ,' उनले भने।

काठमाडौंको आयोजनाबाट मात्र दैनिक ४ हजारदेखि ४५ सय लिटर घ्यु उत्पादन भइरहेको छ। अन्य आयोजनाहरुमा पनि घ्युको उत्पादन भइरहेको छ। संस्थानसँग हाल ७५ हजार मेट्रिक टन बटरको स्टक छ भने ३ सय ८० मेट्रिक टन पाउडर दूधको स्टक छ।

पाउडर दूधको स्टक कम छ। दैनिक बजार पठाइने दुधको खपत बढ्न थालेको छ। यतिबेला अफसिजनले कच्चा दूधको संकलन घटेको छ। यसले गर्दा संस्थानले पाउडर र बटरको प्रयोग गरी दूध बनाउँदै आएको छ । 

बाहिर बजारमा बटरको स्टक छैन। निजी क्षेत्रका डेरीहरुले पनि धुलो पाउडर दूधका लागि बटरको प्रयोग गर्न थालेपछि स्टक घट्दै गएको हो।यसले गर्दा घ्यु उत्पादनका  लागि बटरको कम भएको उन बताए। 'घ्युको माग ठुला डिपार्टमेन्‍ट स्टोर भाटभटेनी बिगमार्ट सेल्सवेरी लगायतबाट आउने गरेको छ भने संस्थानको डिस्टिब्युटरहरुले पनि लाने गरेका छन्। यसका लागि ठूलो परिमाणमा उत्पादन गर्नुपर्छ,' महाप्रबन्धक पौडेलले भने।

दसैंमा घ्युको माग कम हुने गरेको छ । तर तिहारमा र छठमा पूजापाठदेखि विभिन्न परिकारमा घ्युको प्रयोग बढ्छ। जाडो लागेपछि झन खपत बढ्छ। अबको केही समयमा दूधको कलेक्सन बढ्ने भएकाले पुनः बटरको उत्पादन हुन्छ।

पछिल्लो समय सहुलियत पसलले पनि डीडीसीको घ्युको बिक्री बढाएको छ। गत महिनासम्म दैनिक १४ सय लिटरसम्म बिक्री हुँदै आएको थियो।
संस्थानले गत महिना लिटरमा एक सय रुपैयाँ बढाएको थियो । सहुलियत पसल सुरु भएपछि पुनः लिटरमा ५० रुपैयाँ घटाएर प्रतिलिटर ९ सय ५० रुपैयाँमा बिक्री गर्दै आएको थियो। तिहार र छठका लागि संस्थानले घ्यु बटर मिठाइको बजारको माग अनुसार व्यवस्था गर्ने जनाएको छ।