आरजुले सडक स्तरोन्नतिमा रुचि देखाएपछि धनगढी-स्याउलेमा जग्गाको मूल्य कट्ठाकै करोड!

बिजमाण्डू
२०७८ कात्तिक ८ गते १५:३० | Oct 25, 2021
आरजुले सडक स्तरोन्नतिमा रुचि देखाएपछि धनगढी-स्याउलेमा जग्गाको मूल्य कट्ठाकै करोड!

धनगढी। सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको मध्यविन्दुदेखि महेन्द्र राजमार्ग जोड्ने धनगढी-स्याउले सडकखण्ड यतिबेला चर्चाको शिखरमा छ। प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले यो सडकको स्तरोन्नतिका सम्बन्धमा विशेष रुचि देखाएकाले पनि यसले चर्चा पाएको हो।

Tata
GBIME
Nepal Life

यो सडकको स्तरोन्नतिको योजना अघि बढेसँगै जग्गाको मूल्य रातारात आकाशिएको छ। घरजग्गा व्यवसायीहरु यो क्षेत्रको कारोबारमा आकर्षित छन्। सडक सहज भएसँगै सहरी सुविधा थपिने देखिँदा बसोबासका लागि घडेरी सुरक्षित गर्नेको तँछाडमछाड छ। 

फराकिलो सडकले छुने मात्रै नभइ सहायक सडकसँग जोडिएका जग्गाको भाउ अस्वाभाविक तवरले बढेको छ। त्यसैले यो क्षेत्र चर्चामा आएको हो। पूर्वी भेगबाट धनगढी आउजाउ गर्दा कम्तीमा १० किलोमिटर दुरी छोटिने यो सडकको सिंगल लेन पहिले नै कालोपत्रे गरेर पनि उप्किसकेको छ। अहिले भने यसलाई थप फराकिलो बनाएर स्तरोन्नतिको काम गरिँदैछ। 

आजभन्दा करिब एक दशकअघि नै सडकको केही भाग सिंगल लेनमा कालोपत्रे भएको थियो। उक्त सडक फराकिलो बनाएपछि भने पहिलोपटक कालोपत्र गर्ने तयारी गरिएको हो।

शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि यो सडकको कालोपत्रे सात मिटर गर्ने तयारी भएको छ। जबकि सुरुमा यो सडक साढे पाँच मिटर चौडाइमा कालोपत्रे गर्नका लागि ठेक्का समेत भइसकेको थियो। 

धनगढी-खुटिया-दिपायल-चैनपुर-उरइभन्ज्याङ सडक आयोजनाका सूचना अधिकारी दिनेश रैखोलाका अनुसार सडक साढे पाँच मिटर कालोपत्रे गर्ने गरि ठेक्का आह्वान भइसकेपछि स्थानीय सरोकार समूह, वडा कार्यालय र उपमहानगरपालिकाबाट नै सडकको चौडाइ बढाउन लिखित निवेदन आएकाले अहिले कालोपत्रे बढाउने तयारी गरिएको हो। 

अझ धनगढीतर्फ कम्तिमा सातदेखि नौ मिटरसम्म चौडाइमा कालोपत्रे गर्ने तयारी छ। सबै ठाउँमा भने यही चौडाइमा कालोपत्रे हुँदैन। बजार क्षेत्रमा भने अब ७ मिटरभन्दा कम कालोपत्रे नहुने उनले बताए। तर यसका लागि विभागको स्वीकृति आवश्यक पर्ने हुँदा फाइल पठाइएको छ। स्वीकृत नभएसम्म यसै भन्न नसकिने पनि उनले बताए।

प्रधानमन्त्री पत्नी आरजुले व्यक्तिगत रुचिमा सडक सात मिटर कालोपत्रे गर्न निर्देशन दिएको बुझिएको छ। उनले यो क्षेत्रमा राजनीतिक आधार बनाउने तयारीस्वरुप उक्त निर्देशन दिएको स्थानीयको भनाइ छ। सडक कालोपत्रेसँगै यो क्षेत्रको जग्गाको मूल्य पनि अहिले आकासिएको छ।

गत वैशाखमा सबैभन्दा सस्तोमा प्रतिकठ्ठा ३० देखि ४० लाख रुपैयाँसम्म र महँगोमा ८० देखि ९० लाख रुपैयाँसम्ममा किनबेच हुने जग्गा अहिले बाटो बन्न थालेसँगै ५० लाख रुपैयाँ भन्दा कममा पाउनै छाडिएको छ।

धनगढी र स्याउले नजिकका जग्गाहरु त प्रतिकट्ठा एक करोड रुपैयाँमा पनि किन्न नपाएको स्थानीय शिवानी रानाले बताइन्। 

रानाका श्रीमान् जग्गा व्यवसायी नै हुन्। ‘५० लाखको दरले पाउनको लागि कम्तिमा तीन कट्ठा जग्गा किन्नु पर्छ। एक कट्ठा वा १० धुर मात्रै किन्ने हो भने ६० देखि ६५ लाख रुपैयाँ कट्ठाका दरले मात्रै पाइन्छ,’ उनले भनिन्।

धनगढीका जग्गा व्यावसायी खड्क साउदले धनगढी स्याउले रोडमा एकदेखि डेढ करोड रुपैयाँ कट्ठा र स्याउले तर्फको सडकमा एक करोडमा जग्गा खरीदबिक्री भइरहेको बताए।

‘अहिले मेनबाटो छोडेर २-३ कित्ताभित्र बाटो नभएको जग्गा समेत ३०-३५ लाख रुपैयाँ घटीमा किन्न नसकिने अवस्था छ,’ उनले भने, 'भोलिका दिनमा बाटो वरपरका जग्गामा पनि बाटो पुग्ने र मूल्य बढ्ने हुनाले अहिले सस्तोमा किन बेच्ने भनेर जग्गाधनीले नै प्रश्न गर्ने गर्छन्।’
 उनका अनुसार पाँच मिटर कालोपत्रे हुने सडक देउवा प्रधानमन्त्री भएपछि सात मिटर हुने भएकाले समेत जग्गाको भाउ महँगो भएको हो। अहिले सडक सबै ग्राभेल गरिएको छ। 

सडक डिभिजन कार्यालयले पनि बाटो सात मिटर कालोपत्रे हुने जानकारी दिएको छ। कार्यालयले पहिले पनि सात मिटर नै कालोपत्रे गर्ने प्रस्ताव पठाएको भए पनि केन्द्रबाट साढे पाँच मिटरको लागि मात्रै टेण्डर भएको बताउने गरेको थियो। तर अब आफ्नै खर्चमा थप डेढ मिटरसमेत गरी कुल सात मिटर चौडाइमा कालोपत्रे गरिने कार्यालयले जनाएको छ। 

धनगढी एयरपोर्टको लागि वैकल्पिक मार्ग

अहिले गेटामा रहेको धनगढी क्षेत्रीय विमानस्थलमा जाने एउटै मात्र बाटो धनगढी-अत्तरिया सडकखण्डबाट छ। तर अव धनगढी स्याउले सडक खण्ड कालोपत्रे गरिएसँगै विमानस्थलको लागि वैकल्पिक बाटो समेत तयार हुने स्थानीयको विश्वास छ।

अहिले धनगढी-अत्तरिया सडक ६ लेनमा स्तरोन्नती गरेर चिटिक्क बनाइएको छ। धनगढी-स्याउले सडक सात मिटर चौडाइमा कालोपत्रे गरेपछि धनगढी जोड्ने दुईवटै मुख्य सडक फराकिला र आकर्षक हुने छन्।

दुई सडकको बीचमा पर्ने धनगढी उपमहानगर पालिका र अत्तरिया नगरपालिकाको क्षेत्रमा यतिबेला धेरै नै चहलपहल बढिसकेको छ।