
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले दुई हजार मेगावाट क्षमताका जलविद्युत आयोजनाहरु एक साथ अघि बढाउने भएको छ।
शुक्रबार नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको १२ औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै कार्यकारी निर्देशक घिसिङले विद्युत प्राधिकरणले दुई हजार मेगावाटका ठूला आयोजनाहरु अघि बढाएको बताएका छन्।
उनले प्राधिकरणले ठूला आयोजनाहरु शुरु गरेन भन्ने भ्रम चिर्न दुई हजार मेगावाटका आयोजना बाहेक ४५० मेगावाटको अरुण चौथो जलविद्युत आयोजना पनि सुरु गर्ने बताएका छन्।
अपर अरुण र अरुण चौथो गर्दा करिव १५ सय मेगावाट अरुण करिडोरमा मात्रै विकास गर्न लागेको भन्दै कर्मचारीको लगानीमा पनि थप आयोजना विकास गर्ने योजना प्राधिकरणले बनाएको उनले बताए।
आजको चुनौति भनेकै माग बढाउने र विद्युत खपत बढाउने रहेको भन्दै वर्षात्को कारण पनि भारत तर्फबाट आएको विद्युतको माग केही कम भएको बताए। अहिले हरेक दिन ४ देखि ५ सय मेगावाट विद्युत खेर गइरहेको पनि घिसिङले स्विकारे।
प्रवन्ध निर्देशक घिसिङले अबको चरण १५ हजार मेगावाटको माग आउँदा पनि धान्न सक्ने प्रसारणलाइन बनाउने तर्फ प्राधिकरण लागिरहेको बताए।
इलेक्ट्रिकल भेकल र कुकिङ लगायतका विभिन्न क्षेत्रमा विद्युत खपतको माग बढाउने पनि घिसिङले बताए। तर विद्युतको खपत बढाउन प्रशारण लाइन सुदृढिकरणको काम भइरहे पनि अदालतको आदेश र स्थानीयको अवरोधका कारण तीव्र गतिमा काम हुन भने नसकेको घिसिङको भनाई छ।