
काठमाडौं। मोबाइल फोन इम्पोटर्स एसोसिएसनले पूर्ण रुपमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा नल्याएको भन्दै आपत्ति जनाएको छ। संघका अध्यक्ष दीपक मल्होत्राले एमडीएमएस छिटोभन्दा छिटो कार्यान्वयन गर्न आग्रह गरेका छन्।
‘मोबाइल वैध रुपमा मात्रै आयात भएमा हामीलाई केही फाइदा हुन्थ्यो होला। एमडीएमएस समयमै कार्यान्वयन नहुँदा अवैध रुपमा मोबाइल भित्र्याउनेहरुलाई एमडीएमएस हल्ला मात्रै रहेछ भन्ने भइसक्यो। जसका कारण अहिले ग्रे मार्केटबाट अधिक मात्रामा मोबाइल बजारमा छिरिरहेको छ,' न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा मल्होत्राले भने।
मल्होत्राले अहिले नेपाली बजारमा बिक्री हुनेमध्येमा ४५-५० प्रतिशत अवैध रुपमा भित्रिएका फोन रहेको बताए।
सञ्चार मन्त्रालयदेखि नियामक नेपाल दूरसंचार प्राधिकरणले एमडीएमएस कार्यान्वयनमा ढिलाइ गरेकाले व्यवसायीहरुलाई अब सरकारले एमडीएमएस कार्यान्यवन गर्छ भन्नेमा शंका लाग्न थालेको बताएका छन्।
सरकारले चाहे १५ दिन भित्रै एमडीएमएस संचालनमा ल्याउन सक्ने भएपनि कोही कसैको इच्छाका कारण प्रणालीमा कार्यान्वयनमा आउन नसकेको आरोप लगाएका छन्।
प्राधिकरणले मोबाइल आयातर्कताहरुलाई भदौमा एमडीएमएसमा आयात गरिने मोबाइल फोनको विवरण दर्ता गर्न अनुरोध गरेको थियो। प्राधिकरणले आयातकर्ताहरुलाई आयात गरिने मोबाइल सेटको स्तर स्वीकृति तथा आइएमइआइ नम्बर एमडीएमएसमा दर्ता गर्न आह्वान गरेको थियो।
जेठ २०७८ बाटै एमडीएमएस सञ्चालनमा ल्याउने तयारी गरेको प्राधिकरणले निषेधाज्ञाका कारण आवश्यक जनशक्ति र उपकरणहरु प्राप्त हुन नसकेको भन्दै समयमै काम सक्न सकेन। सरकारले सरकारले आव २०७८/७९ को बजेट वक्तव्यबाटै साउन १ गतेदेखि कार्यान्वयनमा ल्याउने बताएपनि एमडीएमएस पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन।