ब्याजमा राष्ट्र बैंकको हस्तक्षेपले पनि थेग्न सकेन बजारलाई, १४ अंकले घट्यो सूचक, मेरोको बढ्यो 

बिजमाण्डू
२०७८ कात्तिक ४ गते १५:०६ | Oct 21, 2021

काठमाडौं। राष्ट्र बैंकको हस्तक्षेपपछि आइतबार प्रकाशितभन्दा तल ब्याज दर झारेपनि बिहीबार त्यसको असर बजारमा परेन। तुलनात्मक रुपमा ब्याज घटेपछि सेयर बजारमा सकारात्मक असर पर्छ भन्ने आम अनुमान विपरित बिहीबार बजार घटेको छ। 

Tata
GBIME
Nepal Life

सुरुवातमा बढेपनि बजार त्यसपछि घट्न थालेको हो। घटेको बजारमा कारोबार रकम पनि बृद्धि हुन सकेन।

अधिकांस बैंकले निक्षेपको अधिकतम ब्याज दर ९.३६ प्रकाशित गरेका छन्। आइतबार हस्तक्षेप अघि ब्याज दर ११.६७ प्रतिशतसम्म पुगेको थियो। ब्याज धेरै भएर लगानीकर्ता र उद्यमीहरु आतङ्कित बनेको भन्दै निक्षेपकर्ताको हितबिपरित गएर राष्ट्र बैंकले ब्याज दरमा हस्तक्षेप गरेको थियो। उसले बढेको ब्याज उल्ट्याएर बुधबार नयाँ तय गर्न लगाएको थियो। त्यति गर्दा पनि ब्याज दर ९.३६ प्रतिशत कायम भएको छ। योबिचमा नबढाएका बैंकले पनि हस्तक्षेपपछि ब्याज बढाएका छन्।

ब्याज बृद्धि गरेपनि तरलता अभावमा कमी आएको छैन। तरलता अभावका कारण बैंकहरुले ऋण बिस्तार नै रोकेका छन् भने ब्याज दर पनि महँगिन थालेको छ। अझै कहिलेसम्म तरलता अभाव हुने भन्ने यकिन पनि छैन। त्यही कारण बजारले बिहीबार बृद्धि लिन नसकेको ब्रोकरहरुको बुझाइ छ।

सूचक १४.७ अंक तल आएर २५५७ अंकमा बन्द भएको छ। दिनभरीमा २ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको छ। अन्य र सामूहिक लगानी कोषबाहेक सबै सूचक ओरालो लागेको छ। जबकी राष्ट्र बैंकले हस्तक्षेप गरेको तर बैंकले ब्याज प्रकाशित नगरेका कारण बुधबार बजारले छलाङ मारेको थियो। 

घटेको बजारमा मेरो माइक्रोफाइनान्सको सेयर मूल्यमा बढेर सर्किट लागेको छ। सर्वाधिक कारोबार सानिमा बैंक र माछापुच्छ्रे बैंकको भएको छ। सानिमाको २७ करोड १२ लाख र माछापुच्छ्रेको ११ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ।