डिजिटल क्रान्तिसँगै अर्थतन्त्रमा आउन थालेको परिवर्तन, कृष्ण सुवेदीकाे लेख

बिजमाण्डू
२०७८ कात्तिक ५ गते ०४:४७ | Oct 22, 2021
डिजिटल क्रान्तिसँगै अर्थतन्त्रमा आउन थालेको परिवर्तन,  कृष्ण सुवेदीकाे लेख


आज विश्व झण्डै ८ अर्ब मानिसहरूको समाज बनिसकेको छ। समयक्रममा विकसित हुँदै आएका प्रविधि तथा उपकरणलाई मानव विवेक र ज्ञानमार्फत प्रयोग गरी यसले आफ्नो दैनिकी सुचारु गरिरहेको छ।

Tata
GBIME
Nepal Life

ढुंगे युगदेखि सुरु भएको मानवसभ्यता ज्ञानयुगसम्म आइपुग्दा विज्ञान र प्रविधिको विकासले ठूलै फड्को मारिसकेको छ। जसमा, सूचना प्रवाह र सञ्चार एक महत्वपूर्ण अंगको रूपमा विकसित भएको छ।  

परेवाको खुट्टामा डोरीले बाँधेर चिठी पठाउने युगदेखि परम्परागत सञ्चारमा रूपान्तरण भएको हुलाकलाई विस्थापित गर्दै आज आम–सञ्चारमाध्यमको विकास भयो। र, पछिल्लो पुस्ताको डिजिटल सञ्चारले विश्वमै अदभूत क्रान्ति ल्याएको छ।

सूचना प्रविधिको गतिशील विकास 
इन्टरनेटले सुरु गरेको डिजिटल सञ्चारसँगै विश्व सामाजिक सञ्जालको साँघुरो परिधिमा सीमित भएको छ। सन् १९९० को दशकमा विश्वव्यापी रूपमा भएको विकासले डिजिटल प्रविधिमा क्रान्तिको आधार तयार भयो।

योसँगै अनलाइन सञ्चार, यससँग जोडिएका गतिविधिका विभिन्न संस्करण र माध्यमहरूको विकास एवं विस्तार हुँदै आयो। अहिले डिजिटल ‘प्लेटफर्म’ सूचना र सञ्चारको सबैभन्दा फराकिलो माध्यम बनेको छ।

इन्टरनेट लाइभ स्टेटसको आँकडा अनुसार अहिले विश्वमा इन्टरनेट प्रयोगकर्ताको संख्या ५ अर्ब भन्दा बढी पुगेको छ। दैनिक एक खर्ब भन्दा बढी इमेल आदानप्रदान हुन्छ। वेबसाइटको संख्या मात्र झण्डै २ अर्ब  पुगेको छ। विश्वमा दैनिक साढे ६ अर्ब भन्दा बढी गुगल सर्च हुन्छ। यसले डिजिटल ‘प्लेटफर्म’मा मानिसहरूको व्यापक संलग्नता बढ्दै गएको देखाउँछ।

इन्टरनेटका विविध माध्यममध्ये सामाजिक सञ्जालअन्तर्गत फेसबुक, यूट्युब, गुगल, इन्स्टाग्राम, ट्वीटर, टिकटक बढी लोकप्रिय छन्। हाल संसारका झण्डै ३ अर्ब मानिसहरू फेसबुकका सक्रिय प्रयोगकर्ता छन् भने ट्वीटर प्रयोगकर्ताको संख्या करिब ३८ करोड छ। फोटो प्रेमीहरूका लागि उपयोगी इन्स्टाग्राममा दैनिक साढे ७ करोडभन्दा बढी फोटो पोस्ट हुने गरेको तथ्यांक पाइन्छ।

श्रब्यदृश्य सामग्रीको रूपमा सांगीतिक, चलचित्र, शैक्षिक भिडियो लगायत सामाग्रीहरू उपलब्ध हुने  यूट्युबमा दैनिक अवलोकनकर्ताको संख्या विश्वभर ३ अर्ब रहेको छ। स्मार्ट फोन प्रयोगकर्ताको वृद्धिले विश्वमा सामाजिक सञ्जालका प्रयोगकर्ताको पनि संख्या विस्तार गरिरहेको छ।

डिजिटल मिडिया र नेपाल 
नेपाल पनि विश्वमा बढिरहेको गतिशील सामाजिक सञ्जालको एउटा हिस्सा बनेको छ। वि.सं. २०२८ सालमा पहिलो पटक कम्प्युटर भित्रिएको नेपालमा हाल करिब शतप्रतिशत मानिसहरूसमक्ष मोबाइल फोन पुगेको छ।

 सरकारी आँकडा अनुसार करिब ८२ प्रतिशतभन्दा बढीमा इन्टरनेटको पहुँच पुगेको छ। झण्डै ४ करोड मोबाइल फोन प्रयोगकर्ता छन्। यसबाट, एक व्यक्तिले एकभन्दा बढी मोबाइल प्रयोग गरेको प्रस्ट हुन्छ। मोबाइलले इन्टरनेट प्रयोगकर्ताको संख्या बढाउँन सहयोग पुर्यान्एको छ। इन्टरनेट प्रयोगकर्ता मध्ये पनि सामाजिक सञ्जालमा सक्रियहरूको संख्या बढी छ।

नेपाल विस्तारै डिजिटल युगमा प्रवेश गरेको छ। अहिले क्यूआरमार्फत सामान खरीदबिक्रीको भुक्तानी हुन थालेको छ। डिजिटल माध्यमका कारण व्यवसायमा सहजता आएको छ। यसले व्यवसायिक लागत कम हुन थालेको छ। 

डिजिटल माध्यमबाट विस्तारै अनौपचारिक अर्थतन्त्रलाई समेत ‍औपचारिक अर्थतन्त्रमा जोड्ने कडी बन्ने देखिएको छ। गाउँको तरकारी बजारदेखि चियापसलसम्म क्यूआर कोडमार्फत हुने भुक्तानीले ‍औपचारिक अर्थतन्त्रमा जोड्दैछ। 

अहिले घरमै बसेर युटिलिटी पेमेन्ट  विजुली, विद्युत, खानेपानीको भुक्तानी गर्न सकिने भएको छ। राजस्व भुक्तानीदेखि कम्पनी दर्तासम्म अनलाइनमार्फत हुँदा व्यवसायिक लागत समेत कम बन्दा अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्दैछ। जनताको समयको बचतहुँदा त्यसले पनि अर्थतन्त्रमा टेवानै दिनेछ। अनलाइन व्यापारमा आएका दराज, सस्तो डिल लगायतले परम्परागत व्यापारलाई विस्तारै धक्का दिन थालेका छन्।

बढ्दो सामाजिक सञ्जाल जनसम्पर्क र जनसञ्चारको सहज माध्यम बनेको छ, जसबाट सजिलै सूचना आदानप्रदान गर्न सकिने भएकाले पनि यसको प्रयोग बढिरहेको छ। यसले व्यक्तिलाई अभिव्यक्ति स्वतन्त्रताको माध्यम छनोटको अवसर दिएको छ भने व्यापारिक प्रतिष्ठानहरूलाई विज्ञापन गर्नेदेखि व्यापार–व्यवसाय प्रवर्द्धन गर्ने अवसर प्रदान गरेको छ।

सामाजिक सञ्जालले व्यापार प्रवर्द्धन र सञ्चारको लागत मूल्य घटाएको छ। सञ्चारका लागि कुनै एक प्रविधिमाथिको निर्भरता पनि घटाएको छ। धेरै व्यापारिक प्रतिष्ठानहरूले आफ्ना वस्तु तथा सेवाको  प्रचार–प्रसार र विज्ञापन गर्न यसको प्रयोग गरेका छन्। सामाजिक सञ्जालले गर्दा उनीहरूलाई  लक्षित बर्गसम्म पुग्न सस्तो, शीघ्र र छनोटको  माध्यम प्राप्त भएको छ। आज हरेकजसो व्यापारिक प्रतिष्ठानहरूका आफ्नै सामाजिक सञ्जाल समूह, पेज, अकाउन्ट र विभिन्न प्लेटफर्महरू छन्। 

यतिखेर यी प्लेटफर्ममार्फत् कतिपय व्यवसायीहरु आफ्ना सन्देश र सूचना लिएर तत्काल ग्राहकसमक्ष पुगेका पनि छन्। यही कारण, उनीहरूका उत्पादनको प्रचारप्रसार गर्न अन्य आमसञ्चार–माध्यमप्रतिको परनिर्भरता घटेको छ। उनीहरूलाई आफूअनुकूल सन्देश र सामाग्री प्रवाह गर्न कुनै रोकतोक छैन।  यसबाट, उनीहरूको लागत–मूल्य समेत घटाएको छ।

त्यति मात्र होइन, सामाजिक संजालबाट गरिने विज्ञापन तथा प्रचारप्रसारमा तुरुन्तै ग्राहकहरूको प्रतिक्रिया प्राप्त गर्न सकिन्छ। यसले गर्दा, वस्तु तथा सेवाप्रदायक र उपभोक्ताबीचको सम्पर्क  स्थापित गराएको छ। द्रुत गतिमा भइरहेका यस्ता गतिविधिका कारण व्यापारिक प्रतिष्ठानले बजारमा पुर्याएका वस्तु तथा सेवाको बारेमा ग्राहकको मूल्यांकनलाई सघन र प्रत्यक्षरूपमा  जानकारी लिन पनि पाएका छन्। र, कमीकमजोरी सुधार गर्न पाएका छन्। 

सामाजिक सञ्जालले सिर्जना गरेको यो सफल र सहज अवस्थाले गर्दा ग्राहक खोज्ने, विज्ञापन गर्ने, सन्तुष्टिको सर्वेक्षण गर्ने जस्ता नियमित व्यापारिक अभ्यासहरूमा व्यापक परिवर्तन आएको छ। तर सामाजिक संजालको विज्ञापन शैली अहिलेकै अवस्थामा स्थिर रहने छैन।भविष्यमा यो अझ गतिशील, व्यापक र जटिल पनि हुने छ।

त्यो अवस्थालाई सामना गर्दै अवसरको रुपमा सदुपयोग गर्नका लागि अहिले देखि आफ्नो तयारीलाई हरेक व्यापारिक क्षेत्रले सबल बनाउनु पर्ने छ। यसका लागि दक्ष जनशक्तिको सुनिश्चितता, आफ्नै व्यापारिक समूहबाट नै सामाजिक संजालको संचालन गर्ने वा विशिष्टता प्राप्त दक्ष एजेन्सीको सहयोग लिने भन्ने बारेमा आफ्नो तयारी गर्न ढिला गर्नु हुँदैन। 

चुनौती र समाधानको बाटो 
डिजिटल मिडियाको क्रान्तिसंगै जोडिएर द्रुत गतिमा विस्तार भएको सामाजिक संजालले  रेडियो, टेलिभिजन तथा छापा जस्ता आमसञ्चार माध्यमहरूको वर्चश्व न्यून भएको छ।

यो परिवर्तसँंगै व्यापारिक प्रतिष्ठानहरूको प्रचारप्रसारमा आएको परिवर्तनले पुराना आमसञ्चार माध्यमहरूको निरन्तरता शैलीमा प्रश्नसमेत उब्जिएको छ। डिजिटल मिडियाको विस्तारले पुराना आमसञ्चार माध्यमको  व्यापार ओरालो लागेको छ।

यो घट्दो व्यापार धान्नका लागि उनीहरूले डिजिटल माध्यमकै बाटो समात्न थालेका छन्। यसको असर पुराना आमसञ्चार माध्यममा मात्र होइन, यिनै मिडियामा विज्ञापन सेवा दिएर बाँचेका विज्ञापन एजेन्सीहरूको परम्परागत शैली पनि अब धेरै लामो समयसम्म टिक्न गाह्रो हुने देखिन्छ।

सामाजिक सञ्जालले निर्माण गरेको सहज र सस्तो प्लेटफर्मलाई प्रयोग गरेर हरेक व्यापारिक प्रतिष्ठान आफैं पनि विज्ञापन गर्न सक्ने अवस्थामा पुगेका छन्। यसका साथै, विज्ञापन एजेन्सीसँगको सम्पर्कबिना सोझै सञ्चारमाध्यमसँग विज्ञापनका लागि समन्वय गर्ने अवस्था पनि आएको छ। यसले गर्दा पुरानो शैलीका विज्ञान एजेन्सीहरूको आवश्यकता र महत्वलाई बजारले क्रमशः घटाइदिएको छ। 

सामाजिक सञ्जालको व्यापकता, सजहता र छरितोपनले गर्दा यो जनपरीक्षणको तुरुन्त फैसला गर्ने अदालत जस्तो बनेको छ। हरेकको सहज पहुँच हुने हुँदा व्यक्तिले राख्ने सामग्री, दिने सन्देश र बुझ्ने तवरतरिकाले समाजमा कस्तो असर गर्ला भन्ने अर्को गम्भीर प्रश्न पनि तेर्सिएको छ।

बढी नकारात्मक सूचना ग्रहण गर्ने मानव–समुदायमा गलत र भ्रामक सूचना सम्प्रेषण, सत्यतथ्य नबुझी, नजानी गरिएको टिका–टिप्पणीले आममानिसमा यस्तै खाले प्रभाव बढाउने चुनौती देखिन्छ। कुनै एउटा विषय भाइरल भयो भने त्यसलाई नियन्त्रणसमेत गर्न नसकिने अवस्था आएको छ। यसको व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती प्रायः सबैको चासोको विषय बनेको छ/हुनुपर्छ।

सामाजिक सञ्जालको बढ्दो प्रयोगले मानिसलाई सामाजिक परिवेशभन्दा इन्टरनेटमै रमाउने बनाइदिएको छ। मानिस आफैंमा एक्लिँदै गएको छ। यो एक्लोपनले सामाजिकीकरणको परम्परागत रैथाने पुँजीहरू विनाश हुँदै गएका छन्। सामाजिक सञ्जालको प्रयोग गर्दैगर्दा यी अहम् सवालबारे पनि सोच्नुपर्ने बेला आएको छ।

सरकारले प्रविधिमा आधारित विकास र रूपान्तरणलाई जोड दिएको छ। हालको डिजिटल प्रविधिमा आधारित विकासलाई व्यवस्थित गर्न ‘डिजिटल नेपाल फ्रेमवर्क’ ल्याएको छ। देशको रूपान्तरणकारी अवधारणामा आधारित फ्रेमवर्कले ८ वटा मूल क्षेत्रहरूलाई समावेश गरेको छ। जसमा, वित्त क्षेत्र पनि समाविष्ट छ। त्यसबाहेक, राष्ट्रिय आमसञ्चार नीति, राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि नीति, ब्रोडब्याण्ड नीतिदेखि विभिन्न कानुनमार्फत सूचना प्रविधिलाई सम्बोधन गरेको छ।

यी नीतिहरूले निर्दिष्ट गरेभन्दा सामाजिक सञ्जालको प्रयोग धेरै अघि बढिसकेको छ। यी नीतिगत पूर्वाधारले मात्र तीव्र गतिमा फैलिएको डिजिटल विश्वलाई नियमन गर्न गाह्रो छ। नीतिगत आधारसँगै सक्षम मानव स्रोत नभएसम्म चुनौतीहरूको सामना गर्न कठिन छ।

त्यसैले, सामाजिक सञ्जालको व्यवस्थापन, परिचालन, प्रयोगका लागि सरकारसँगै हरेक व्यापारिक प्रतिष्ठान र संस्थाहरूले समेत सक्षम जनशक्तिको सुनिश्चितता गर्न अपरिहार्य छ। यसो गर्न सके, डिजिटल मिडियाको आमअंशको रुपमा रहेको सामाजिक संजालको कमजोर पक्षलाई न्यून गर्दै सबल पक्षबाट लाभ लिन सकिन्छ।

नेपालमा फेसबुक, टवीटरलगायत सामाजिक सञ्जाल प्रयोगकर्ता कति होलान् ? प्रविधि सञ्जालको यो महासागरमा डुबेर नखोजेसम्म यसको तथ्य बाहिर आउन गाह्रो छ। सरकार तथा अर्धसरकारी निकायले यस विषयमा छुट्टै खोज गर्नुपर्ने देखिन्छ।अर्कोतर्फ, परम्परागत सञ्चार प्रणाली, विज्ञापन एजेन्सीको भविष्य र विज्ञापन शैलीमाथि हामीले प्रश्न उठाइरहँदा डिजिटल प्रविधिले व्यापारिक क्षेत्रमा कसरी प्रभाव पारेको होला?

डिजिटल प्रविधिमार्फत भइरहेको वा गरिएको विज्ञापनले उनीहरूको व्यवसायमा कतिको सकारात्मक प्रभाव पारेको छ? यी विषयमा गम्भीर अध्ययन नगरी अगाडि बढ्दा फेरि पनि डिजिटल माध्यममाथिको बैधतामा प्रश्न उठ्न सक्ने देखिन्छ।

सरकारी, अर्धसरकारी वा गैरसरकारी निकाय एवं उद्योग प्रतिष्ठानको समन्वयमा सामाजिक सञ्जालले गरेको बजारीकरण र परम्परागतशैलीको विज्ञापनको पनि अध्ययन हुन जरुरी छ। यसो हुन सक्यो भने, सामाजिक सञ्जाल वा डिजिटल माध्यममा हुँदै गएको निर्भरताले व्यावसायिक क्षेत्रको विस्तार कसरी हुँदैछ? र, अब परम्परागत शैलीमा गरिने विज्ञापनको औचित्य हुन्छ वा हुँदैन भन्ने तथ्य बाहिर आउन सक्छ।

यसले, राज्यको डिजिटाइजेसन (प्रविधिकरण) नीति, विकास निर्माणमा यसको गतिशीलताले ल्याएको परिवर्तन र विज्ञापन बजारलाई पनि एउटा मार्गदर्शन प्रदान गर्न सक्छ। परम्परागत वा रैथाने मानवीय मूल्यमान्यताको जगको पुनर्निर्माण गर्ने वा उत्तरआधुनिक वा नवपरिवर्तनलाई प्राथमिकता दिने भन्ने विषयको उठान र दिशानिर्देश पनि अध्ययन÷अनुसन्धानबाटै निक्र्योल हुन सक्छ। 

(उनी नबिल बैंकको प्रबन्धक हुन्।)