दसैंमा एसएमएसबाट शुभकामना पठाउने चलन घट्दै,’डेटा सस्तो भएकाले ट्राफिक त्यता मोडियो’

बिजमाण्डू
२०७८ कात्तिक २ गते १३:२९ | Oct 19, 2021
दसैंमा एसएमएसबाट शुभकामना पठाउने चलन घट्दै,’डेटा सस्तो भएकाले ट्राफिक त्यता मोडियो’


काठमाडौं। शुभकामना सन्देश पठाउन ओटीटी एपहरुको प्रयोग अत्यधिक बन्दा दूरसञ्चार कम्पनीको नेटवर्कबाट एसएमएस आदानप्रदानमा समेत प्रत्यक्ष असर पर्दै गएको छ। 

Tata
GBIME
Nepal Life

दसैंको समयमा शुभकामना आदानप्रदानमा एसएमएस पनि बढी पठाउने गरिन्छ। पछिल्लो समय फेसबुक/मेसेन्जर, भाइबर, ह्वाट्स एप, इन्स्टाग्रामलगायतका ओटीटी एपहरुको प्रयोग ह्वात्तै बढेको छ। उपभोक्ताहरुले इन्टरनेट प्रयोग गरेर मन परेका शुभकामना सन्देश सामाजिक सञ्जाल वा अन्य मेसेन्जिङ एपहरुमार्फत् पठाउन थालेका थिए।

सामाजिक संजालको प्रयोगसँगै मोबाइल नेटवर्क प्रयोग गरेर एसएमएस पठाउने ट्रेन्ड वार्षिक रुपमा घट्दै गएको छ। पछिल्लो समय मोबाइल बैंकिङ तथा अन्य प्रयोजनमा एसएमएस (ओटीटी, कारोबार अलर्ट इत्यादि) बढी प्रयोग हुने गरेको छ।

अघिल्लो वर्ष दसैंको अवधिमा टेलिकमको नेटवर्कबाट करिब ८० लाख वटा एसएमएस आदानप्रदान भएको थियो। यो वर्ष भने घटेर साढे ७२ लाखमा झरेको छ।  

टेलिकमको नेटवर्कबाट सप्तमी (फूलपाती) देखि बिजयादशमी (टीका) को दिनसम्म कुल ७२ लाख ५० हजार १०१ वटा एसएमएस आदानप्रदान भएको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए। टेलिकमको नेटवर्कबाट दसैंको अवधिमा सबैभन्दा धेरै एसएमएस अष्टमीको दिन आदानप्रदान भएको छ। अष्टमीको दिन २४ लाख ५० हजार वटा एसएमएस आदानप्रदान भएको अधिकारीले बताए। 

अघिल्लो वर्ष टीकाको दिन २६ लाख ७० हजार एसएमएस आदानप्रदान भएको थियो। २०७७ मा टिकाको दिन २४ लाख ९० हजार एसएमएस आदानप्रदान भए टेलिकमले जनाएको छ। यो वर्ष टीकाको दिन २२ लाख हाराहारी मात्रै एसएसएमएस आदानप्रदान भएको देखिन्छ। 

२०७६ को दसैं अवधिभर करिब एक करोड २८ लाख वटा एसएमएसबाट शुभकामना आदानप्रदान भएको थिए। २०७५ मा एक करोड १० लाख र २०७४ मा ९१ लाख वटा शुभकामना सन्देश एसएमएसमार्फत् आदानप्रदान भएको टेलिकमले जनाएको छ।

सामान्य समयभन्दा दसैंमा एमएमएसबाट शुभकामना सन्देश पठाउनेको संख्या बढी हुने एनसेलले जनाएको छ। एसएमएस बढी हुने भएपनि चार-पाँच वर्ष अघिको दसैं जस्तो एसएमएस ट्राफिक अहिले नरहेको एनसेलले स्वीकारेको छ। यसको अर्थ एनसेलबाट दसैंको शुभकामना सन्देशसहितको एसएमएस पठाउनेको संख्या यो वर्ष पनि घट्दै गएको देखिन्छ।

एनसेलले बिसं २०७३ को तुलनामा २०७४ मा एसएमएस सेवाबाट आम्दानी १२ प्रतिशत बढेको जनाएको छ। तर, २०७५ मा एमएमएसबाट हुने आम्दानी तीन प्रतिशतले गुमाएको एनसेलको २०७६ मा थप १० प्रतिशत घटेको जनाएको छ। एनसेलले भने एसएमएसको ट्राफिक अहिले फोरजी डेटा सस्तो भएकाले त्यता मोडिएको जनाएको छ।