
धनगढी। पर्यटनको धेरै सम्भावना भएको धनगढीमा होटलमा मात्रै १० अर्ब बढी लगानी भइसकेको छ। अहिले यहाँ स्टारबिहिन देखि थ्री स्टार स्तरका होटल संचालनमा छन्।
धनगढी क्षेत्रका होटलमा अहिलेसम्म १० अर्ब रुपैयाँ भन्दा बढी लगानी भइसकेको होटल व्यवसायी संघ कैलालीका पूर्व अध्यक्ष तथा होटल सनलाइटका संचालक कलम बमले बताए।
एउटा घरमा सानो होटलका रुपमा सुरु गरेको सनलाईट अहिले तीन वटा भवनमा विस्तार भएको छ। बमले बुढीतोलामा एउटा रिसोर्ट र कैलालीमै अर्को होटल पनि चलाउने तयारी गरिरहेका छन्।
१० वटा कोठाबाट सुरु भएको होटल टेम्पल पनि अहिले २४ वटा कोठा सहित क्षमता विस्तार गरेको छ। मन्दिरै मन्दिरको सजावटमा बनेको प्राचिन घरहरुजस्तै स्वरुपमा होटल सञ्चालनमा छ। आफ्नो घर होटलले पनि विदेशी पर्यटक लक्षित मौलिक स्वरुपमा संचालनमा छ।
आफ्नो घरले विदेशी पर्यटक लक्षित गरि मौलिक परिकार र मौलिक स्वरुपमा होटल सञ्चालन गरिरहेको होटलका सञ्चालक कुलदिपध्वज थापाले बताए।
होटल डेभोर्टी, होटल रुबस, होटल दिनेश, होटल फ्लोरा लगायतका पर्यटकीय होटल धनगढीमा छ। होटल साथीले समेत एक अर्ब लगानी गरेर पाँच तारे होटल निर्माण गर्दैछ।
पर्यटकलाई छैन राम्रो ब्यवहार
धनगढीमा पर्यटन क्षेत्रमा लगानी बढ्दै गएपनि पर्यटन संस्कृति विकास नहुँदा होटल सञ्चालकहरु चिन्तित देखिन्छन्। सीमावर्ती शहर भएकाले धनगढीमा आउने पर्यटक धेरै जसो भारतीय पर्यटक हुन्छन्।
तर भारतीय नम्बर प्लेट देख्ने वित्तिकै सुरक्षाकर्मीले चेकजाँचको नाममा ठाउँ ठाउँमा रोकेर अनावश्यक दुख दिने, अटो तथा ट्याक्सी चालकले पर्यटकसँग ४/५ गुणा बढी भाडा माग्ने लगायतका कारणले राम्रो सन्देश नगएको एक होटल व्यवसायीले बताए।
उनका अनुसार बसाइँ लम्ब्याउन दर्जनौ पर्यटकीय गन्तब्य छन्। तर त्यसलाई समेटेर प्याकेज भने बनेको छैन्।