भारतले तेल आयातको भन्सार दुई तहभन्दा बढीले कटौती गर्‍यो, नेपालका उद्योगलाई गम्भीर धक्का लाग्ने

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७८ असोज २७ गते २०:४८ | Oct 13, 2021
भारतले तेल आयातको भन्सार दुई तहभन्दा बढीले कटौती गर्‍यो, नेपालका उद्योगलाई गम्भीर धक्का लाग्ने

विराटनगर। भारत सरकारले बुधबारदेखि नै लागु हुने गरी पाम, भटमास र सूर्यमुखीको कच्चा तेलको आयातमा लाग्ने भन्सार महसुलमा दुई तहभन्दा बढीले कटौती गरेको छ।

Tata
GBIME
Nepal Life

भारतले कच्चा पाम तेलमा १६ दशमलव ५ तथा सूर्यमुखी र भटमासको तेलमा १९ दशमलव २५ प्रतिशतले महसुल कटौती गरेको हो। यो कटौतीपछि भन्सार फरकको फाइदा उठाउँदै निकासी गर्ने नेपालका तेल उद्योग प्रभावित हुनेछन्। 

तेस्रो मुलुकबाट आयात गरिएको कच्चा तेल प्रशोधन गरेर भारत निकासी हुने गरेको थियो। भारतले बढी भन्सार लिएकै कारण पछिल्लो तीन वर्षदेखि नेपालका तेल उद्योगी मालामाल भएका थिए। कतिपयले भारतीय बजारलाई हेरेर उद्योगको क्षमता विस्तार गर्दै थिए भने कतिले नयाँ उद्योग स्थापनाका लागि पक्रिया अगाडि बढाएका थिए।

भारतले भन्सार घटाएपछि नेपालबाट तेल निकासीको सम्भावना लगभग समाप्त भएको छ। व्यवसायीका अनुसार भारतको नयाँ रणनीतिले करिब ७० अर्बको निकासी प्रभावित भएको छ। भारतले एक महिनायता कच्चा तेलको भन्सार महसुल दोस्रो पटक घटाएको हो। एक महिनाअघि तीनवटै कच्चा तेलको भन्सार महसुल ३० प्रतिशतबाट घटाएर २४ दशमलव ७५ प्रतिशत बनाइएको थियो।

भारतले मुलुकमा बढ्दो महँगी नियन्त्रण गर्न र सर्वसाधारणलाई राहत दिन कच्चा तेलको भन्सार महसुल दोस्रो पटक घटाएको जनाएको छ। नयाँ नोटिफिकेसन अनुसार भारतमा कच्चा पाम तेलको पैठारीमालाग्ने महसुल २४ दशमलव ७५ रहेकोमा त्यसलाई घटाएर ८ दशमलव २५ प्रतिशतमा झारिएको छ। त्यस्तै, भटमास र सूर्यमुखीको कच्चा तेलमा रहेको २४ दशमलव ७५ प्रतिशत भन्सारलाई ५ दशमलव ५० प्रतिशत कायम हुने गरी भारतले संशोधन गरेको छ।

उद्योग सङ्गठन मोरङका कोषाध्यक्ष एवं क्वालिटी आयल रिफाइनरीका सञ्चालक विपिन काबराले भारतको नयाँ निर्णयले नेपालले त्यसतर्फ गर्दै आएको खाने तेलको निकासी प्रभावित हुने बताए। उनले नेपालका रिफाइनरीले निर्यातका लागि आयात गरिने कच्चा पदार्थमा बैङ्क ग्यारेन्टी वा पासबुक सुविधा उपभोग गरे पनि भारतीयहरूले भन्सार महसुल तिरेर आयात गरेको कच्चा पदार्थ नै सस्तो पर्ने दाबी गरे।

‘हामीले बैङ्क ग्यारेन्टी र पासबुकको सुविधामा कच्चा पदार्थ आयात गर्दा कुनै राजस्व तिर्नुपर्दैन’, कोषाध्यक्ष काबराको तर्क थियो, ‘तर हामीले एक पटकमा जति कच्चा तेल खरिद गर्छौं, भारतीय उद्योगीले एक पटमा हामीले भन्दा २० गुना बढीले खरिद गरेको हुन्छ। भारतीय क्रेताले कच्चा पदार्थ बल्कमा खरिद गर्ने हुँदा हामीले राजस्व नतिरेको कच्चा पदार्थभन्दा उनीहरूले तिरेको कच्चा पदार्थ सस्तो पर्न जान्छ। त्यसैले हामीले गर्ने निर्यात प्रभावित हुने देखिएको हो। अब नेपालमा भन्दा भारतमै प्रशोधित तेल सस्तो पर्ने छ।’

पशुपति खाद्य तेल उद्योगका सञ्चालक अमित शारडाले निर्यातमा कत्तिको असर पर्छ भन्ने हिसाब निकाल्न समय लाग्ने भए पनि प्रारम्भिक अध्ययनअनुसार निर्यात हुन नसक्ने देखिएको बताए। ‘दुई तहभन्दा बढीले महसुल कटौती गर्नु सामान्य घटना होइन’, उद्योगी शारडाले भने, ‘नेपाल सरकारले पनि यही दिशामा अग्रसर हुनु जरुरी छ। हामीलाई तेलको मूल्यवृद्धि गरेको भनेर बारम्बार बदनाम गरिन्छ। तर अन्तर्राष्ट्रिय रूपमै अचाक्ली मूल्यवृद्धि भएपछि भारत सरकार महसुल घटाउन बाध्य भएको हो।’

इन्डोनेसिया र मलेसियाबाट आयात गरिने कच्चा पाम तेलको मूल्य अहिले टनको एक हजार ३५० डलर छ। एक महिनाअघि मात्र यसको मूल्य एक हजार १८० डलर थियो। त्यस्तै अर्जेन्टिना, ब्राजिल र युक्रेनबाट आयात गरिने कच्चा सूर्यमुखीको तेलको मूल्य एक महिनाअघि एक हजार तीन सय डलर प्रतिटन रहेकोमा हाल एक हजार ४८५ डलर छ।

त्यस्तै अर्जेन्टिना, ब्राजिल र युक्रेनबाट आयात गरिने भटमासको कच्चा तेलको मूल्य पनि टनको एक हजार ४२० डलर पुगेको छ। महिना दिनअघि यसको मूल्य एक हजार २५० रहेको शारडाले बताए।