सिटिजन्स बैंक लुट प्रकरणमा भारतीय नागरिकसहित ८ जनाको संलग्नता, दुईवटा हतियार प्रयोग

बिजमाण्डू
२०७८ असोज २७ गते १२:१९ | Oct 13, 2021

काठमाडौं । सोमबार दिउँसो मोरङको धनपालथान गाउँपालिकास्थित कर्सियामा रहेको सिटिजन्स बैंकमा लुटपाटमा अहिलेसम्मको प्रहरी अनुसन्धानमा ८ जनाको संलग्नता भएको खुलेको छ। दुई जना नेपाली र ६ जना भारतीय नागरिकको संलग्नता भएको देखिएको छ।  ६ जना बैंकभित्र जाने र दुई जनाले 'रेकी' गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

Tata
GBIME

सोमबार दिउँसो ३ बजेर ४५ मिनेटमा लुटेरा समूहले बैंकमा रहेको रकम लुटेर फरार भए। फरार भएका मध्ये प्रहरीले एक जना नेपाली र दुई भारतीयलाई नियन्त्रणमा लिएको थियो। श्याम मुखिया, सुनिल यादव र बिजय बताउने यादव थरका भारतीय नागरिक पक्राउ परेका हुन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै छ।

'अहिलेसम्म ८ जना मानिसको संलग्नता देखिएको छ। फरार रहेकाहरूलाई हामीले खोजी गरिरहेका छौँ,' जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीले भने।

बैंकका सुरक्षा गार्ड शीतल कुँवरलाई गोली प्रहार गरी बैंकको काउन्टरमा रहेको रकम लुटेको प्रहरीले जानकारी दियो। बैंकमा रहेको २१ लाख रकम लुटेको प्रहरीलाई बैंक प्रशासनले जानकारी दिएको मोरङ प्रहरीले जनाएको छ। घटना नेपालीहरूको योजनामा भारतीय प्रयोग गरेर गरिएको देखिएको छ। हतियारको व्यवस्थापन भारतीयहरूले नै गरेका थिए। पक्राउ परेका सुनिल यादव र विजयले गोली चलाएको खुलेको छ। उनीहरू सुटर हुन्।

'सुरुमा केही रकम दिने भनेर भारतीय प्रयोग गरिएको थियो। तर पछि उनीहरुले लुटेको रकम आधा आधा गर्ने भनेपछि त्यही सहमति भएको रहेछ,' एसपी जिसिले भने। प्रहरीले घटना संलग्न एक नेपालीको पहिचान समेत गरिसकेको छ।

लुट प्रकरण लगत्तै प्रहरीले तीन जनालाई पक्राउ परेको थियो। उनीहरूलाई भाग्दाभाग्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ। लुटिएको पैसा भने प्रहरीले बरामद गरेको छैन। पक्राउ परेकाहरू मध्ये एउटा पेस्तोल समेत बरामद गरेको छ।

बैंक र भारतीय सिमाना करिब ५ किलोमिटरको दुरीमा रहेकाले भाग्न सजिलो हुने हिसाबले उनीहरूले त्यही स्थानलाई टार्गेट बनाएको प्रहरीलाई बयान दिएका छन्।