छोरा लागूऔषधको मुद्दामा जेलिएपछि बाइजुजले शाहरुख खान अभिनीत विज्ञापन बजाउन बन्द गर्‍यो

बिजमाण्डू
२०७८ असोज २५ गते १५:०६ | Oct 11, 2021
छोरा लागूऔषधको मुद्दामा जेलिएपछि बाइजुजले शाहरुख खान अभिनीत विज्ञापन बजाउन बन्द गर्‍यो

काठमाडौं। भारतको शैक्षिक प्रविधि कम्पनी बाइजुजले आफ्नो ब्राण्ड एम्ब्यासडर तथा चर्चित बलिउड नायक शाहरुख खानले अभिनय गरेका सबै विज्ञापन रोकेको छ। 

Tata
GBIME

शाहरुख खानका छोरा आर्यन खान लागुऔषधसम्बन्धी आरोपमा न्यायिक हिरासतमा रहेको बेला बाइजुजले विज्ञापन रोकेको हो। 
केही दिनदेखि बाइजुजले खान अभिनित विज्ञापन रोकेको भए पनि उनलाई ब्राण्ड एम्ब्यासडरबाट हटाएको बारे भने कुनै जानकारी गराएको छैन।खानको विज्ञापन बज्न बन्द भएपछि उनको पोेर्टफोलियोबाट झण्डै चार करोड भारुको बिजनेस घट्ने अनुमान गरिएको छ।

नार्कोटिक्स् कन्ट्रोल ब्यूरो (एनसीबी) ले गत साता क्रुज पानीजहाजमा छापा मार्दा आर्यन खानसहित अन्य सातजना पक्राउ परेका थिए।
मुम्बईको स्थानीय अदालतले गत बिहीबार आर्यनसहित अन्य सातजनालाई थप १४ दिन न्यायिक हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। 

आर्यन खानले बेलका लागि अदालतसमक्ष अपिल गरे पनि शुक्रबार उनको आग्रह अस्वीकार गरेको थियो। अनुसन्धानकै क्रममा भारतीय प्रहरी अहिलेसम्म उक्त केसमै संलग्न रहेको आरोपमा १९ जनालाई पक्राउ गरिसकेको छ। बाइजुज भारतको मूल्यवान स्टार्टअप मानिन्छ। बाइजुजले ६० करोड अमेरिकी डलरको 'ग्रेट लर्निङ', ५० करोड डलरको बालबालिकाहरुको डिजिटल सिकाइ माध्यम 'एपिक' र एक अर्ब डलर टेस्ट प्रिपरेसन आकाश एजुकेसनल सर्भिसलाई अक्वायर गरिसकेको छ। 

बाइजुजका संस्थापक बाइजु रवीन्द्रनले गत अप्रिलमै आगामी १८ देखि २४ महिना भित्रै आइपीओ जारी गर्ने तयारी गरिरहेको बताएका थिए। 
बाइजुजसँग साढे ६ करोड प्रयोगकर्ता रहेको बताइएको छ। कोरोना महामारीका कारण भारतमा लकडाउन हुँदा मार्चमा झण्डै साढे दुई करोड नयाँ प्रयोगकर्ता थपिएका थिए। (एजेन्सीहरुको सहयोगमा)