ब्लकचेन प्रविधिमा आधारित खसीबोका बजारीकरणको सुरुवात, खसीको जम्मै विवरण पाइने

बिजमाण्डू
२०७८ असोज २५ गते १२:५९ | Oct 11, 2021
ब्लकचेन प्रविधिमा आधारित खसीबोका बजारीकरणको सुरुवात, खसीको जम्मै विवरण पाइने


काठमाडौं। हेफर इन्टरनेसनल नेपालले एग्रीक्लियरसँगको सहकार्यमा खसीबाख्राको ब्लकचेन प्रविधिमा आधारित खसी बजारीकरणको सुरुवात गरेको छ। जसअन्तर्गत लेकबेंसी सामाजिक उद्यमी महिला सहकारीले नवलपुरका महिला उद्यमीहरुले हुर्काएका खसीहरुलाई यो प्रणालीमा जोडेको छ। 

Tata
GBIME
Nepal Life

परियोजनाअन्तर्गत खसीबाख्रा जन्मिँदाको तौल, माउको विवरणदेखि विभिन्न उमेरको तौल, स्वास्थ्य विवरण, औषधि र खोपसम्बन्धी विवरणहरु प्रणालीमा रेकर्ड हुने बताइएको छ। जसका लागि मोबाइल एप एलएससीएमएस निर्माण गरिएको छ। एपमा आधिकारिक कृषक, भेटेरिनरी तथा सहकारीका प्रतिनिधिहरुले सूचना दर्ता गर्न पाउने हेफर इन्टरनेसनलले जनाएको छ। 

दर्ता भएका सूचना प्रणालीमा जोडिएपछि यो अमेट्य हुने र सूचनाको विश्वसनीयता अधिक हुने दाबी हेफरको छ। कुनै पनि तेस्रो व्यक्तिले यसमा रहेको सूचनालाई फेरबदल गर्न पाउँदैनन् भने फेरबदल भएमा सक्कल सूचनाको ब्याकअप प्रणालीमा रहने बताइएको छ। 

त्यसैगरी, कृषकले बेचेको समयको उमेर र तौल पनि प्रणालीमा दर्ता हुने हुँदा बिक्री गर्ने समयमा उपभोक्ताले सजिलै यसको विस्तृत विवरण जाँच्न सक्ने छन्। यस्तो सूचना सजिलै उपलब्ध गराउन खसीको क्यूआर कोड सहितको परिचय पत्र पनि संलग्न गरिएको हेफर इन्टरनेसनलले जनाएको छ। 

हाल यस प्रविधिमा दर्ता भएका खसीबाख्राहरुको बजारीकरण गर्नका लागि हेफरको समन्वयमा लेकबेंसी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड र द-लोकल्सबीच सहकार्य भइरहेको छ। त्यसैगरी ज्ञानेश्वर युवा क्लबको अगुवाईमा दसैं विशेष खसी बजार नारायणचौर पार्कमा आइतबारदेखि सुरु भएको छ।