दसैं-तिहार लक्षित गरेर काठमाडौंमा आउँदैछन् नयाँ हाउजिङ, कुन कम्पनीले बेच्दैछ सबैभन्दा सस्तोमा

उन्नत सापकोटा/बिजमाण्डू
२०७८ असोज ६ गते ०४:३९ | Sep 22, 2021

काठमाडौं। दसैं-तिहारमा काठमाडौं उपत्यकामा नयाँ घर किन्न वा बुकिङ गर्न चाहनेका लागि हाउजिङ डेभलपरहरुले यसपालि थुप्रै 'स्ट्यान्ड अलोन हाउजिङ' परियोजनाहरुको विकल्प अघि सारेका छन्। साथै, आफ्नै नयाँ घरमा दसैं-तिहार मनाउन चाहने उपभोक्तालाई पनि लक्षित गरेर डेभलपरहरुले तयारी परियोजनाका घरहरुको 'स्टक क्लियर' गर्ने योजना समेत बनाएका छन्। 

Tata
GBIME
Nepal Life

काठमाडौंलाई केन्द्र बनाएका प्रमुख रियल इस्टेट डेभरपरहरु भन्छन् – पर्व नजिकिएसँगै हाउजिङ परियोजनाहरुमा बनिरहेका तथा पुरानै परियोजनामा भएका आधुनिक आवासहरुको बिक्री धमाधम हुन थालेको छ। नयाँ परियोजनाको पनि बुकिङ खुलाउनेदेखि पुरानै परियोजनामा बाँकी रहेका घरहरुको 'स्टक आउट' गर्न थालेको हाउजिङ कम्पनीहरुले बताएका छन्।

पछिल्लो समय आएका तथा आउने क्रममा रहेका हाउजिङहरुमध्ये तीनवटा हाउजिङ ललितपुरको धापाखेलमै निर्माण हुन लाग्दैछन्। क्लासिक डेभलपर्स र सीजी प्रोपर्टीजले धापाखेलमा हाउजिङको निर्माण अघि बढाइसकेका छन् भने डाउनटाउन हाउजिङ कम्पनीले पनि आफ्नो नयाँ परियोजना यही लोकेसनमा ल्याउन लाग्दै छ।

नयाँ आउन लागेका हाउजिङमध्ये दुई कम्पनीले आउँदो दसैंलाई नै लक्षित गरेर नयाँ परियोजना सार्वजनिक गर्दैछन्।

अन्य ठूला रियल इस्टेट डेभलपरहरुले भने पुरानै वा केही समयअघि मात्रै लन्च गरेका परियोजनाहरुको युनिट बिक्री गर्दैछन्। अगाडि नै ल्याएका निर्माणाधीन वा तयारी (रेडी टु मुभ इन) अवस्थामा रहेका परियोजनाहरुमा भएका आवास एकाइ (घर) हरुको भने प्रायः कम्पनीले मूल्य पहिलेको तुलनामा संयोजन गरेका छन्। 

तयारी अवस्थामा रहेका, निर्माणाधीन र नयाँ आउने समेत गरेर तीनै प्रकारका हाउजिङ परियोजनामा कुल ४८१ घर यो दसैं-तिहारमा बुकिङ वा खरिद गर्नेका लागि डेभलपर्सले बिक्रीमा राखेका छन्। यसमध्ये ४५७ घर उपत्यकाभित्रकै हाउजिङमा रहेका छन्। 

उपत्यकामा नयाँ आउन लागेका हुन् वा निर्माणाधीन हाउजिङ परियोजना, सबैमा आधुनिक र सुविधासम्पन्न बंग्लोहरु नै रहेको बताइएको छ। सुविधायुक्त व्यवस्थित कोलोनीमा बस्ने चाहना हुने उपभोक्ताहरुले यस्ता हाउजिङ किन्नका लागि भने खल्ती गह्रुँगो नै राख्नुपर्ने हुन्छ। किनकि, अहिले उपत्यकाको चारकुनाभित्र कुनै पनि स्थानमा रहेका वा आउन लागेका हाउजिङका घर पहिलेजस्तो एक-डेढ करोडमा किन्ने भन्ने अब नचिताए पनि हुने अवस्था बनेको छ। खासगरी जग्गाको चर्को मूल्य, निर्माण विधि तथा गुणस्तरमा आएको सुधार र फिनिसिङ निर्माण सामग्रीहरुमा भएको उच्च मूल्य वृद्धिले यस्तो भएको डेभलपरहरुको भनाइ छ।

यद्यपि, पारिवारिक बचत राम्रो भएका र नियमित आयले बैंक कर्जाको किस्ता धान्न सक्ने उपभोक्ता वा रियल इस्टेटमा लगानी गर्न खोज्नेका लागि भने यी हाउजिङ परियोजनाका घरहरु आकर्षक विकल्प हुन सक्छन्।

काठमाडौं उपत्यकाभित्रका विभिन्न लोकेसनमा रहेका वा आउन लागेका ती हाउजिङ परियोजनाहरु यस्ता छन्-

डाउनटाउनको नयाँ हाउजिङ धापाखेलमा
नेपाल जग्गा तथा आवास विकास संघका पूर्वअध्यक्ष तथा पुराना रियल इस्टेट व्यवसायी मीनमान श्रेष्ठको कम्पनी डाउनटाउन हाउजिङले दसैं तिहारलाई लक्षित गर्दै उपत्यकाको ललितपुरमा नयाँ हाउजिङ परियोजना ल्याउने तयारी गरेको छ। ललितपुरकै इमाडोलमा अघिल्लो आवास परियोजना 'डाउनटाउन रेसिडेन्सी' को नाममा ल्याएको यस कम्पनीले दोस्रो स्टान्ड अलोन हाउजिङ पनि यही नाममा ल्याउन लागेको हो। 

ललितपुरको धापाखेल नागदह हाइटमा रहने यस परियोजनाको बुकिङ खुलाउने अन्तिम तयारी गरिरहेको कम्पनीका अध्यक्ष मीनमान श्रेष्ठले बताए।  एक सयभन्दा बढी युनिटको हुने यो अत्याधुनिक हाउजिङ परियोजना दसैंलाई नै लक्षित गरेर सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको उनले जानकारी दिए। कम्पनीले यसअघि धापाखेलमै डाउनटाउन अपार्टमेन्ट पनि बनाएको थियो।

अहिले आउन लागेको डाउनटाउन रेसिडेन्सी धापाखेल परियोजनामा कम्तिमा साढे तीन आनादेखि १० आनाको प्लटमा बंग्लोहरु निर्माण गर्ने डाउनटाउनको योजना छ। यो परियोजनाको कुल क्षेत्रफल ८५ रोपनीभन्दा बढी हुने श्रेष्ठले जानकारी दिए। 

'यो प्रोजेक्टमा सेवासुविधाको कुनै पनि कमी हुने छैन। यसअघि इमाडोलको हाउजिङ परियोजना पनि हामीले ६ महिनामै लगभग बेचिसकेका थियौं। त्यही विश्वासका साथ नयाँ परियोजना हामी केही समयभित्रै लन्च गर्छौं। मूल्यलगायतका विषयमा अन्तिम टुंगो लाग्न भने बाँकी छ,' श्रेष्ठले भने। 

यो परियोजनामा स्वीमिङ पुल, कम्युनिटी/मिटिङ हल, हेल्थ क्लब, सोलार प्यानल ब्याकअपलगायतका सुविधा रहने बताइएको छ।  
पछिल्लो समय काठमाडौं उपत्यकाभित्र ठूलो परियोजना आउन नसक्नुको कारण जग्गा अभाव भनिरहँदा श्रेष्ठले भने संस्थागत रियल इस्टेट कम्पनी तथा व्यवसायीहरुलाई दर्जनौं झन्झट रहेकाले पछिल्लो समय ठूला परियोजना नआएको दाबी गरे। त्यसका बाबजुद उनले धापाखेलमा ८५  रोपनीमा ल्याउन लागेको यो हाउजिङ पछिल्लो समय आएका ठूलामध्येको हो।

संयुक्त लगानीमा आउँदैछ मनमैजु हाउजिङ, घटस्थापनामा बुकिङ खुल्ने
ललितपुरको भीआईपी लोकेसन मानिने भैंसेपाटीमा हार्मेनी कोलोनी निर्माण गरिरहेका घरजग्गा व्यवसायी डेगेन्द्र श्रेष्ठ र हाइड्रो सोलुसन्सका कार्यकारी अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानको संयुक्त लगानीमा काठमाडौंको मनमैजुमा 'मनमैजु हाउजिङ' नाममा नयाँ आवास परियोजना आउने भएको छ।

एक महिनाअघि मात्रै नगर विकासबाट निर्माण स्वीकृति पाएको यस 'स्ट्यान्ड अलोन' हाउजिङ कम्पनीले दसैंको घटस्थापनाका दिन लन्च गर्ने परियोजनाका प्रवर्द्धकमध्ये एक रहेका श्रेष्ठले जानकारी दिए। 

कुल ३५ वटा घरहरु निर्माण हुने मनमैजु हाउजिङ १८ रोपनी क्षेत्रफलमा फैलिने उनले बताए। घरहरु न्यूनतम चार आनादेखि ११ आनासम्मको प्लटमा बन्ने बताइएको छ। 

उक्त घरहरुको मूल्य दुई करोड ६० लाख रुपैयाँदेखि सुरु हुने श्रेष्ठले जानकारी दिए। घरहरुको बिल्टअप एरिया २१ सयदेखि २५ सय वर्गफीटसम्म रहेको उनले बताए। 

कम्पनीले निर्माण सुरु भएको साढे दुई वर्षभित्र सबै घरहरु सम्पन्न गरेर खरिदकर्तालाई हस्तान्तरण गर्ने लक्ष्य राखेको छ।   

सीईको तीनवटा परियोजनाका घरहरु मात्रै उपलब्ध
पछिल्लो एक दशकयता निर्माण गरेका हाउजिङहरुको संख्याका दृष्टिले नेपालकै अग्रणी रियल इस्टेट कम्पनीका रुपमा उदाएको सीई कन्स्ट्रक्सनले भक्तपुरको नीलबाराहीमा 'नीलबाराही हाउजिङ' बनाइरहेको छ। यस परियोजनामा अब २४ वटा घरहरु बिक्रीका लागि उपलब्ध रहेको कम्पनीकी बिक्री प्रतिनिधि सञ्जिता डंगोलले जानकारी दिइन्।

३ आना एक पैसादेखि १२ आनासम्मको प्लटमा यी घर हुनेछन्। घरहरुको बिल्टअप एरिया १५ सय ४० देखि २८ सय वर्गफीटसम्म रहेको उनले बताइन्। सीईले अहिले यी घरहरुको मूल्य एक करोड ९१ लाखदेखि चार करोड ९५ लाख रुपैयाँसम्म राखेको छ।

कम्पनीले ललितपुरको ठैबमा पनि बनाइरहेको अर्को परियोजना सिनिक हाउजिङमा अब जम्मा एउटा युनिट मात्रै बाँकी रहेको जनाएको छ। दुई आना तीन पैसा जग्गामा बनेको यो घरको मूल्य एक करोड ५५ लाख रुपैयाँ रहेको डंगोलले जानकारी दिइन्। 

सीईले काठमाडौंबाहिर पनि पूर्वको विराटनगर (मोरङ) मा पहिलो व्यवस्थित आवास परियोजना निर्माण गरिरहेको छ। 'सीई कोलोनी' नाम दिइएको उक्त परियोजनका कुल २७ युनिटमध्ये तीनवटा बिक्री भएर अब २४ वटा बाँकी छ। न्यूनतम चार आना तीन पैसामा बनिरहेका यी घरहरुको मूल्य दुई करोड २३ लाखदेखि सुरु हुने उनले बताइन्।

यी घरहरुको बिल्टअप एरिया २१ सय वर्गफीट रहेको कम्पनीले जनाएको छ। सीई कोलोनीमा निर्माण हुने घरहरु बाहिर मात्र नभएर भित्र पनि लगभग उस्तै डिजाइनमा हुने बताइएको छ। 

क्लासिक रेसिडेन्सीमा ५.७५ करोडसम्मको घर 
क्लासिक डेभलपर्सले ललितपुरको धापाखेलमा निर्माण गरिरहेको क्लासिक रेसिडेन्सीमा अब २६ वटा घरहरु बिक्रीका लागि उपलब्ध रहेको कम्पनीका प्रबन्ध निर्देशक अमिर महर्जनले जानकारी दिए। यी घरमध्ये १८ वटा घरहरु बेसमेन्ट र सेमिबेसमेन्ट सहितको प्लटमा हुने उनले बताए। बाँकी आठ वटा घरहरु साधारण प्लटमा निर्माण भइरहेको बताइएको छ। 

उपलब्ध घरहरुको न्यूनतम मूल्य तीन करोड ९० लाख रुपैयाँदेखि अधिकतम पाँच करोड ७५ लाख रुपैयाँ रहेको महर्जनले बताए। घरहरुको बिल्टअप एरिया २४ सय वर्गफीटदेखि ३५ सय वर्गफीटसम्म रहेको छ। यी घरहरुको प्लट साइज न्यूनतम चार आनादेखि नौ आनासम्म रहेको छ।

सिभिल होम्सको जोरपाटी हाउजिङमा ३५ घर बाँकी
सिभिल होम्सले आफ्ना सबै परियोजनाका हाउजिङको बिक्री सकिएपछि काठमाडौंको जोरपाटीमा नयाँ आवास परियोजना सुरु गरेको बताएको छ। गत मंसिरबाट ५४ घरका लागि बुकिङ खुला भएको सिभिल होम्सको यो फेज ११ परियोजना हो।

तीमध्ये अब ३५ वटा घरहरु बिक्रीका लागि उपलब्ध रहेको कम्पनीका मार्केटिङ प्रमुख मिलन महर्जनले जानकारी दिए। उनका अनुसार फेज ११ मा बन्ने घरहरुको जग्गाको क्षेत्रफल ३ देखि १२ आना रहेको छ। साथै घरहरुको बिल्टअप एरिया १२ सयदेखि १८ सय वर्गफीट रहेको कम्पनीले जनाएको छ। 

यी घरहरुको मूल्य एक करोड ८५ लाख रुपैयाँदेखि सुरु हुने महर्जनले बताए। कम्पनीले आनाको ३६ लाखका हिसाबले जग्गाको मूल्य तय गरेको छ। 

नेपालकै ठूलो हाउजिङ परियोजनामा छन् अब ६५ घर

देशकै सबैभन्दा धेरै घरहरु भएको हाउजिङ परियोजना ग्रीनहिल सिटीको जीएचसी मूलपानीमा करिब ६५ वटा घर बिक्रीमा रहेको कम्पनीले जनाएको छ। ४ देखि १५ आना क्षेत्रमा बनिरहेका घरको बिल्टअप एरिया दुई हजारदेखि ३५ सय वर्गफीट रहेको कम्पनीले जनाएको छ। कम्पनीले यी घरहरुको मूल्य दुई करोड पाँच लाखदेखि चार करोड ५० लाख रुपैयाँ राखेको छ।  

३०० रोपनी क्षेत्रफल रहेको ग्रीनहिल सिटीको मुलपानी परियोजना सम्पन्न हुँदा यसमा कुल ८०० घरहरु बन्नेछन्। 

पद्म कोलोनीको घरहरु २.६० करोडदेखि पाइने
पद्‍म कोलोनीको फेज-३ रामकोट र फेज ४ टौखेल नागार्जुनमा करिब ३५/३५ वटा घर बिक्रीमा रहेको कम्पनीले जनाएको छ।

तीनदेखि चार आनामा बनेका यी घरहरुको बिल्टअप एरिया १५ सय ९९ देखि दुई हजार नौ वर्गफीटका छन्। रेडि टु मुभ अवस्थामा रहेका यी घरहरुको मूल्य दुई करोड ६० लाखदेखि तीन करोड २५ लाख रुपैयाँ कम्पनीले तय गरेको छ।

चौधरी समूहको लेक भ्यूका घरहरु धमाधम बुकिङ
चौधरी समूहको सिजी प्रोपर्टिजले ललितपुर धापाखेलमा बनाइरहेको सीजी-लेक भ्यूको बुकिङलाई आक्रामक बनाउँदै लगेको छ। कोरोना महामारीका कारण विभिन्न समयमा सरकारले जारी गरेको निषेधाज्ञाका कारण ग्राहकहरु भर्खर मात्रै घर हेर्न आइरहेको कम्पनीले जनाएको छ। 

चौधरी समूहले दुई चरणमा हाउजिङ निर्माण गर्ने जनाएको छ। पहिलो चरणमा ४८ रोपनी ११ आनामा सीजी-लेक भ्यूमा ८७ वटा घरहरु निर्माण गर्दैछ। समग्र परियोजनाको कुल जग्गाको क्षेत्रफल ७७ रोपनी रहने कम्पनीले जनाएको छ। 

पहिलो चरणमा निर्माण हुने घरहरु चार आनादेखि ११ आनासम्मको हुने बताइएको छ। यी घरहरुको बिल्टअप एरिया २५ सयदेखि ३५ सय वर्गफीटसम्म रहेको कम्पनीले जनाएको छ। बन्ने सबै घरहरु साढे दुई तलाको हुनेछन्।

कम्पनीले घरहरुको न्यूनतम मूल्य तीन करोड ८० लाख रुपैयाँदेखि अधिकतम सात करोड रुपैयाँसम्म तोकेको छ।

बृहतका चार परियोजनामा घरहरु बिक्रीमा  
बृहत् ग्रुपले रामकोट, थानकोट, भैंसेपाटी र बल्खुमा निर्माणाधीनदेखि रेडि टु मुभ घरहरु उपलब्ध रहेको जनाएको छ। रामकोटमा रहेको बृहत् कम्युनिटी लिभिङ परियोजनामा करिब २० वटा घर उपलब्ध रहेको कम्पनीले जनाएको छ।

तीनदेखि सात आना क्षेत्रफलमा रेडि टु मुभ, निर्माणाधीन र भ्याकेन्ट प्लट उपलब्ध रहेको बताइएको छ। रामकोटमा उपलब्ध घरहरु १५ सयदेखि २७ सय ८० वर्गफीटसम्मका छन्। जसको मूल्य बृहतले दुई करोड ६३ लाखदेखि चार करोड १५ लाख रुपैयाँ तोकेको छ। 

यस्तै, बृहत् क्लस्टर थानकोट परियोजनामा ४ वटा प्लट घर निर्माणका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ। ४ आना क्षेत्रफलमा निर्माण गरिने घरको मूल्य बृहतले दुई करोड ३० लाखदेखि दुई करोड ४५ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।  यहाँ निर्माण गरिने घरहरुको बिल्टअप एरिया २४ सयदेखि २६ सय वर्गफीट हुने बताइएको छ।

बृहत् क्लस्टर भैंसेपाटीमा दुई वटा निर्माणाधीन घर बिक्रीका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ। तीनदेखि आठ आना क्षेत्रफलमा निर्माण भइरहेका घरको बिल्टअप एरिया १९ सय ७० देखि २३ सय वर्गफीट छ। घरहरुको मूल्य दुई करोड ४९ लाखदेखि चार करोड ४१ लाख रुपैयाँ तोकिएको छ।  

बृहतको बल्खुमा रहेको परियोजनामा चार वटा घर निर्माण गर्न प्लट उपलब्ध रहेको जनाएको छ। दुई आनादेखि चार आना क्षेत्रफलमा बन्ने घरहरुको बिल्टअप एरिया १४ सय ५० देखि १८ सय ७० वर्गफीट रहने बताइएको छ। घरहरुको मूल्य दुई करोड १८ लाखदेखि दुई करोड ९८ लाख रुपैयाँ छ।