पाँचतारे होटलमा तानिए ब्यांकेट सेवाका ग्राहक, संकटमा पार्टी प्यालेस व्यवसाय

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७८ असोज ४ गते १७:१६ | Sep 20, 2021
पाँचतारे होटलमा तानिए ब्यांकेट सेवाका ग्राहक, संकटमा पार्टी प्यालेस व्यवसाय

काठमाडौं। अलिकति मोलमोलाइ गर्नेवित्तिकै पार्टी प्यालेसहरुले दिने रेटमै तारे होटलले ब्यांकेट सेवा दिने भएपछि सेवा व्यवसायमा प्रतिष्पर्धा चुलिएको छ। कोभिड-१९ महामारीपछि संकटमा परेका पार्टीप्यालेसलाई टिक्न झन गाह्रो परेको छ।

Tata
GBIME
Nepal Life

सरकारले ब्यांकेट सेवा सुरु गर्न अनुमति दिएयता व्यवसायले गति लिने आश गरिरहेका पार्टी प्यालेसलाई तारे होटलको सेवासँगको 'प्राइस वार' निकै महँगो भएको छ। व्यवसायीहरुका अनुसार यतिखेर पार्टी प्यालेस खुला त छन्, तर बिजनेस छैन। निकै कम आयोजना भइरहेका सभा समारोह पनि होटलहरुमै मात्रै भइरहँदा पार्टी प्यालेस सञ्चालकहरुको भाग खोसिएको छ।

निषेधाज्ञा अवधिभर सरकारले पार्टी प्यालेस सेवा संचालनमा रोक लगाएको थियो। होटलहरुले पार्टी प्यालेसका ग्राहक तानिरहेका थिए। अहिले पनि ग्राहक स्वतः पाँचतारे होटलकै ब्यांकेट सेवामा तानिएको व्यवसायीले गुनासो गरेका छन्।

विवाहको सिजन सुरु हुन एक करिब दुई महिनायता अग्रिम बुकिङ नै नरहेको व्यवसायी बताउँछन्।

निषेधाज्ञा खुकुलो भएसँगै पार्टीप्यालेस खुला गर्न अनुमति आए पनि कुनै पनि काम नभएको शान्तिनगरस्थित आनन्द इभेन्ट्स एण्ड मिटिङले जनाएको छ। 'फाट्टफुट्ट इन्क्वाइरी आइरहे पनि बुकिङ आएको छैन। अहिले मान्छेको आत्मबल अझै बलियो नभएर होला त्यस्तो बुकिङ आएको छैन। त्यसो हुनाले सेवाको मूल्य निर्धारण गर्न सकेका छैनौं,' कम्पनीका चेयरम्यान राजन श्रेष्ठले भने,'मान्छेहरु ओपन्ली आइसकेका छैनन्।'

पार्टी प्यालेस खुला भए पनि हालसम्म नयाँ कार्यक्रमका लागि अपेक्षाअनुसार बुकिङ नआएको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटले जनाएको छ। पार्टी प्यालेसले पछिल्लो समय अधिकतम एक सय जना क्षमताको सभा समारोह आयोजना गर्दै आएको अपरेसन म्यानेजर भूपेशराज श्रेष्ठले बताए।

'मान्छेहरुमा अझै पनि कोभिडको त्रास छ। पहिले पहिले यतिखेर मंसिर महिनाका लागि लगभग बुकिङ भइसकेको हुन्थ्यो। पहिला ३० दिनमा २५ दिन प्याक हुन्थ्यो। तर अहिले पाँच दिन प्याक हुन पनि मुस्किल छ,' उनले भने,'पहिला एक हजार जनाभन्दा बढी बोलाएर गरिने पार्टी अहिले लिमिटेडमा जाँदा त पैसा बच्ने भयो। त्यो अमाउन्ट अहिले स्टार होटलमा प्रयोग हुन थालेको छ। सस्तो पनि स्टाण्डर्ड पनि हुने भयो।'

पार्टी प्यालेस सञ्चालकहरु अहिले पनि पहिलाकै मूल्यमा सेवा दिएको दाबी गर्छन्। उनका अनुसार पार्टी प्यालेसले प्रति व्यक्ति न्यूनतम १८ सय रुपैयाँ मूल्य निर्धारण गरेको छ। 'फाइभस्टार होटल र पार्टी प्यालेसको सेवा शुल्क त्यति फरक छैन। तर मुख्य भिन्नता भनेको होटलमा स्न्याक्स र समय लिमिटेड हुन्छ तर बैंक्वेटमा समय र स्न्याक्स अनलिमिटेड हुन्छ,' उनले भने।

एक साता यता सेवा सुरु गरे पनि ठूला कार्यक्रमका लागि माग नरहेको बबरमहलस्थित कार्की बैंक्वेटले जनाएको छ। पछिल्लो समय ब्यांकेटमा दुई सय जनासम्मको इभेन्टको माग फाट्टफुट्ट आइरहेको असिस्टेन्ट म्यानेजर रामचन्द्र देवकोटाले बताए।

'पछिल्लो समय मान्छेहरु पाँचतारे होटलमै कार्यक्रम गर्न तानिएका छन्। अर्को कुरा भनेको ग्राहक तान्नकै लागि भए पनि नाफामूलक भन्दा पनि व्यवसायिक रणनीति अनुसार तारेस्तरका होटलको व्यांकेटमा कम मूल्यमा सेवा दिइएको पाइएको छ,' व्यांकेटका असिस्टेन्ट म्यानेजर देवकोटाले भने। होटलहरुले पार्टी प्यालेसको व्यवसाय खोस्दा बजार विग्रिएको उनले बताए।

पहिलो लहरपछि सेवा सुरु भएसँगै पार्टी प्यालेसले प्रति प्लेट १२ सय रुपैयाँ कायम गर्दा न्यूनतम १७ सय रुपैयाँमै सेवा दिएको उनले जानकारी दिए। अहिले ब्यांकेटले प्रति प्लेट न्यूनतम १४ सय रुपैयाँ मूल्य निर्धारण गरेको उनले बताए।

पछिल्लो समय विवाह, सभा-समारोहका लागि क्रमिक रूपमा माग आउन सुरु भए पनि तुलनात्मक रूपमा व्यवसाय अझै नबढेको पेप्सीकोलास्थित न्यू त्रिशक्ति पार्टी प्यालेसका प्रबन्ध निर्देशक शरण भण्डारीले बताए।

'हाम्रो सिजनल बिजनेस हो। तत्कालका लागि दसैंका लागि विवाहको सानो सानो इभेन्टको बुकिङ भएको छ। व्यवसाय तीव्र गतिमा चल्नका लागि मंसिरसम्म कुर्नुपर्ने अवस्था छ,' प्रबन्ध निर्देशक भण्डारीले भने। ठूलो भोलुममा भोजभत्तेर सुरु हुन थालेसँगै पार्टी प्यालेस नै उपयुक्त हुने ग्राहकले बुझ्नेमा उनी आशावादी छन्। 

पाँचतारेमा प्रति व्यक्ति २३ सय रुपैयाँमा ब्यांकेट सुविधा !

सञ्चालन खर्च उठाउन होटल र पार्टी प्यालेसको व्यवसायमा प्रतिष्पर्धा चुलिएको छ। यो प्रतिष्पर्धामा स्तरअनुसार होटलमा पार्टी प्यालेसका ग्राहक तानिएका छन्। 

धेरैजसो होटलले पार्टीप्यालेसको तुलनामा तीन सय रुपैयाँ बढीमै ब्यांकेट सुविधा लिन सकिने किसिमको मूल्य निर्धारण गरेको पाइएको छ। एलफ्ट, र्‍याडिसन, मेरियट, सोल्टी, याक एण्ड यती लगायत होटलले सभा-समारोहका लागि बुकिङ लिन सुरु गरिसकेका छन्। जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो पारेपछि काठमाडौंका ठूला होटलमा विभिन्न कर्पोरेट हाउसको सभासमारोह सुरु भइसकेको छ।

मंसिरमा हुने विवाह लगायत सामाजिक समारोहका लागि होटलहरुमा इन्क्वाइरी आउन थालिसकेको छन्। होटलहरुले ग्राहकको क्षमताअनुसार रेटमा पनि सहुलियत दिएर व्यवसाय हात पार्दैछन्।

ठमेलस्थित एलफ्ट होटलले वैवाहिक समारोहका लागि प्रति व्यक्ति न्यूनतम २३ सय रुपैयाँ मूल्य निर्धारण गरेको छ। नेपाली वैवाहिक समारोहलाई विशेष प्राथमिकता दिँदै यो मूल्य निर्धारण गरिएको होटलले जनाएको छ। यस अन्तर्गत सहभागीले स्न्याक्स बाहेक दुई थरी शाकाहारी र दुई थरी मांसाहारी परिकारको सुविधा लिन सक्नेछन्।

स्न्याक्ससहित तीन थरी शाकाहारी र तीन थरी मांसाहारी परिकारका लागि प्रति व्यक्ति २५ सयदेखि २६ सय रुपैयाँ मूल्य निर्धारण गरिएको होटलले जनाएको छ।

यसैगरी लाजिम्पाटस्थित होटल र्‍याडिसनले स्न्याक्ससहितको डिनरका लागि प्रति व्यक्ति २५ सय रुपैयाँभन्दा बढी मूल्य निर्धारण गरेको जनाएको छ।

नक्साल स्थित काठमाडौं मेरियट होटलले स्न्याक्ससहितको डिनरका लागि प्रति व्यक्ति ३५ सय रुपैयाँभन्दा बढी मूल्य निर्धारण गरेको छ। यी होटलले सहभागीको संख्याका आधारमा निर्धारण गरिएको मूल्यमा केही छुट दिन सकिने जनाएका छन्। धेरैजसो होटलका भन्ने रेट र लिने रेट फरक छन्। बुकिङ आफ्नोबाट अन्यत्र जान नदिन पार्टीमा सहभागीको संख्या र खानाको परिकारअनुसार सहुलियत दिएका छन्।