१८ अर्ब खर्चेर सेनाले बनाउन लागेको देशकै नमुना अस्पताल शिलान्यास गरेपछि किन रोकियो?

बिजमाण्डू
२०७८ भदौ ३० गते १२:३६ | Sep 15, 2021
१८ अर्ब खर्चेर सेनाले बनाउन लागेको देशकै नमुना अस्पताल शिलान्यास गरेपछि किन रोकियो?


काठमाडौं। नेपाली सेनाले अघि बढाउन लागेको महत्त्वाकांक्षी परियोजनामध्येको वीरेन्द्र अस्पताल निर्माणको प्रक्रिया रोकिएको छ। १८ अर्ब लागत अनुमानसहित ७५० शय्याको हुने भनिएको अस्पताल शिलान्यास भएको चार महिना बित्यो।  

Tata
GBIME
Nepal Life

निर्माण प्रक्रिया अघि बढेको छैन। गत वैशाखमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले यसको शिलान्यास गरेका थिए। सार्वजनिक खरिद प्रक्रियालगायत आवश्यक पूर्व तयारी नहुँदै हतार हतार शिलान्यास गरे पनि उनैको सरकारले परियोजनालाई स्रोत सुनिश्चितता दिएको थिएन।

ओलीको बहिर्गमनपछि गठित शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले पनि यसलाई खासै चासो नदिँदा निर्माण प्रक्रिया अघि बढ्न नसकेको हो। सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार स्रोत सुनिश्चितता नभइ खरिद प्रक्रिया अघि बढाउन मिल्दैन। 

अहिले सेनाका अधिकारीहरु स्रोत सुनिश्चितताका लागि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालय धाइरहेका छन्। स्रोत सुनिश्चितता पाए लगत्तै खरिद प्रक्रियामा जाने तयारीमा रहेको सेनाका एक अधिकारीले बताए। तर अघिल्लो सरकारलाई शुभारम्भको 'जस' जाने भएकाले वर्तमान सरकारले स्रोत सुनिश्चितताको बाटो खोलिदिन अलमल गरेको छ।

नयाँ सरकारले ओलीका पालामा सम्भाव्यता अध्ययन, स्रोत सुनिश्चित नभइ हतार हतार शिलान्यास गरिएका थुप्रै योजना स्थगन गरेको छ। सेनाको अस्पताल परियोजनालाई स्थगनमा नपारे पनि अघि बढाउन ग्रीन सिग्नल दिइसकेको छैन।

सेनाका ती अधिकारीका अनुसार सरकारले स्रोत सुनिश्चिता नदिए पनि चालु वर्ष सामान्य काम सुरु हुनेछ। चालु वर्षका लागि सरकारले करिब ६ करोड रुपैयाँ मात्रै बजेट दिएको छ भने सेनाले त्यसमा कल्याणकारी कोषबाट ४ करोड थपेर सामान्य काम सुरु गर्ने तयारी गरिरहेको छ। सेना र कल्याणकारी कोषको लगानीमा अस्पताल निर्माण हुनेछ। कल्याणकारी कोषले करिब ४ अर्ब रुपैयाँ र सरकारले १४ अर्ब रुपैयाँ ब्यहोर्ने योजनाको डिजाइन छ।

कस्तो हुनेछ अस्पताल ?
हाल सञ्चालन भइरहेको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल रहेकै स्थानमा ७५० शय्याको अस्पताल निर्माण गर्न लागिएको हो। अहिले भएका संरचनाहरु भत्काएर त्यही स्थानमा अस्पताल निर्माण हुने डिजाइन छ।

एकपटकमा ५०० जनासम्मको उपचार क्षमता रहने अस्पताल पूर्ण रूपमा सञ्चालनमा आए देशकै नमुना स्वास्थ्य संस्था हुने दाबी गरिएको छ। रिसर्च लगायत अन्य ३० प्रकारका मेडिकल सेवाहरु प्रदान गर्ने र विपद्को अवस्थामा ६ हजार जनासम्मलाई उपचार गर्ने क्षमता रहने छ। २०७ रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त अस्पतालमा अबको ७ वर्षमा सेवा शुरु हुने र १० वर्षभित्र पूर्ण रूपमा सञ्चालन हुने प्रस्तावित योजनामा छ। अस्पताल भवन चारतले हुनेछ भने परिसरमा २ हजार सवारी साधन क्षमताको पार्किङ समेत हुनेछ।

अस्पतालमा बहालवाला सैनिक तथा ‍हिताधिकारीहरुका लागि विशिष्टिकृत सेवा उपलब्ध हुनेछ, जहाँ सबै खालको सेवाहरु उपलब्ध हुने दाबी गरिएको छ। अहिले सेनाले रेडियोलोजी, स्क्रिन सर्जरी लगायतका सेवाहरु भिन्न भिन्न स्थानबाट दिँदै आएको छ। सेनाका अस्पतालहरुमा मुटुरोगको उपचार हुँदैन। त्यसका लागि बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्र पठाउने गरिएको छ।

नयाँ बनाउन प्रस्ताव गरिएको अस्पतालमा सबै खालका सेवा एकै ठाउँबाट दिने गरी निर्माण गर्न लागिएको छ।

सर्वसाधारणका लागि सामूहिक दुर्घटना उपचार सेवा दिइने छ। भूकम्प, बाढीपहिरो लगायत ठूलो प्राकृतिक प्रकोप हुँदा ६ हजार मानिसलाई एकै ठाउँमा राखेर उपचार गर्न सकिने छ। सामान्य उपचारपछि स्क्रिनिङ गरेर अरु ठाउँमा समेत पठाउन सकिने छ। कोरोना जस्तै महामारीको समयमा समेत ठूलो संख्यालाई स्वास्थ्य सेवा दिन सकिने बताइएको छ।

सेनाले विपतको समयमा उद्धारको काम गर्दै आएको छ। तर उपचारका लागि अस्पताल नभएको भन्दै आवश्यकता महसुस गरेर गुरुयोजना बनाएको हो। यसबारे राष्ट्रिय योजना आयोग र प्रधानमन्त्री कार्यालयमा सेनाले बिफ्रिङ गरेको थियो। सरकारकै स्वीकृतिमा अघि बढाइएको परियोजना यतिबेला स्रोत सुनिश्चितताका कारण अलमलमा परेको छ।

'पहिलेको सरकारले अघि बढाउन लागेका धेरै कार्यक्रम कटौती गरेको छ। ओलीकै सरकार रहेको भए सहज हुन्थ्यो कि !,' कल्याणकारी कोषका एक अधिकारीले भने, 'यो सरकारले प्राथमिकतामा राख्छ कि राख्दैन भन्ने छ।'

नेपाली सेनाका प्रवक्ता तथा सहायकरथी सन्तोष बल्लभ पौडेलले नेपाली जनताको सेवा र सहयोगका लागि अस्पतालको अवधारणा बनाएर अघि बढाइएको बताए। 'यो अस्पताल एकैपटक धेरै बिरामीले सेवा पाउने क्षमतासहितको हुनेछ, त्यसैले सरकारले अघि बढाउनेमा हामी आशावादी छौं,' उनले भने, 'उपत्यकामा पर्न सक्ने विभिन्न खालका विपत्तिहरुका बेला यस्तो अस्पताल आवश्यक पनि देखिएको छ।'