उत्पादन बढेपछि ब्रोइलर कुखुराको मासुको मूल्य सस्तियो, अब किलोको ३ सय ५ रुपैयाँमा पाइने

बिजमाण्डू
२०७८ भदौ ३० गते १२:१९ | Sep 15, 2021
उत्पादन बढेपछि ब्रोइलर कुखुराको मासुको मूल्य सस्तियो, अब किलोको ३ सय ५ रुपैयाँमा पाइने

काठमाडौं। उत्पादन बढेपछि ब्रोइलर कुखुराको मासुको भाउ घट्न थालेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार कुखुराको मासु किलोको ३ सय ५ रुपैयाँ कायम भएको छ।

Tata
GBIME
Nepal Life

 संघले जिउँदो कुखुराको मूल्य किलोको २ सय २० रुपैयाँ तोकेको छ। यसअघि मासु किलोको ३ सय २० रुपैयाँ र जिउँदो २ सय ३० रुपैयाँ थियो।

संघका अध्यक्ष जंगबहादुर बीसीले दुई सातादेखि कुखुराको मासुको मूल्य घट्न थालेको बताए। कोभिड संक्रमण कम भएपछि होटल र रेष्टुरेन्ट खुलेपछि बिक्री पनि बढेको छ। तर उत्पादन मागभन्दा बढी भएकाले मूल्य घटिरहेको उनले बताए। उनका अनुसार अहिले दैनिक चार लाख किलो कुखुराको मासुको खपत छ।

निषेधाज्ञाको बेलामा साढे तीन लाख किलो मात्रै थियो। निषेधाज्ञाका बेलामा कम उत्पादन भएकै कारण जिउँदो कुखुराको मूल्य किलोमा ३ सय १५ रुपैयाँ पुगेको थियो। बजारमा राम्रो मूल्य पाएपछि किसानले एकैपटक चल्ला राखेको र त्यो अहिले बजारमा आउँदा आपूर्ति धेरै भएर मूल्य घटाउन सहयोग पुगेको बीसीले बताए।

ब्रोइलर कुखुरा निश्चित समयभन्दा बढी राख्दा किसानलाई नोक्सानी पर्छ। कुखुराले खाने दानाका कारण नोक्सानीमा जाने भएकाले किसानले समयमै बेच्नुपर्ने बाध्यता हुन्छ। एक सातापछि स्रोहश्राद्ध सुरु हुने भएकाले बिक्रीका लागि तयार भएका कुखुरा बजारमा एकै पटक आएको हो।