नबिल बैंकसँग १३ वर्षे सहयात्रा छाडेर जोशी पुगे स्ट्यान्डर्ड चार्टर्ड, भीसीजीएमको जिम्मेवारी




काठमाडौ। नबिल बैंकमा बसेर देशका ठूल्ठूला परियोजनाहरुका लागि ऋण सहजीकरणमा महत्वपूर्ण भूमिका खेलेका मोहनराज जोशी स्ट्यान्डर्ड चार्टर्ड बैंक पुगेका छन्। उनले नबिलसँगको १३ वर्ष लामो सहयात्रा छाडेर अर्को बैंक छानेका हुन्।



नबिलमा उनी प्रबन्धक थिए। चार्टर्डमा उनी भ्यालु सेन्टर जनरल म्यानेजर (भीसीजीएम)  का रुपमा नियुक्त भएका छन्। उनले त्यहाँ साना तथा मझौला (एसएमइ) उद्यत तथा मध्यम कर्पोरेट हेर्ने छन्।

मेकानिकल इन्जिनियरिङ गरेका जोशीले सुरुमा कस्मिक एयरमा काम गरेका थिए। त्यहाँ दुई वर्ष बिताएपछि एमबीए गर्न भारत गएका थिए। त्यही बेला उनले भारतमा पनि एउटा बहुराष्ट्रिय कम्पनीमा काम गरेका थिए।

त्यहाँबाट उनी तत्कालिन क्लिन इनर्जी डेभलपमेन्ट बैंक (अहिलेको एनएमबि) मा काम गर्न नेपाल फर्किए। ऊर्जा क्षेत्रमा काम गर्ने क्लिन इनर्जीपछि उनी २००८ मा नबिल छिरेका थिए।

त्यतिबेलासम्म बैंकहरुले कर्पोरेट बैंकिङका लागि मात्र छुट्टै विभाग बनाएर काम गर्ने गर्थे। परियोजनाहरु हेर्ने गरी छुट्टै विभाग थिएन। नबिलमा उनी आएपछि बैंकले 'इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्सिङ' विभाग बनायो। त्यहाँ बसेर उनले ठूला ठूला सिमेन्ट उद्योगदेखि जलविद्युत परियोजनाहरुमा फाइनान्सिङका लागि काम गरेका थिए।

उनले शिवम्, घोराही, मारुती जस्ता सिमेन्टका लागि ऋण व्यवस्थापन गर्न नेतृत्वदायी भूमिका खेलेका थिए। यसबाहेक अरुण तेस्रो, माउन्टेन इनर्जीजस्ता परियोजनाका लागि पनि उनले ऋण व्यस्थापनका लागि काम गरेका थिए।

पछिल्लो केही समय भने उनी साना तथा मझौला उद्यम तथा कर्पोरेट बैंकिङमा काम गरिरहेका थिए। उनले काठमाडौं युनिभर्सिटीबाट एमफिल पनि गरेका छन् भने त्यहाँ अध्यापन पनि गर्छन्। यसबाहेक उनले विदेशका बिभिन्न जर्नलहरुमा अनुसन्धानमूलक लेख पनि लेखेका छन्।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell