विराटनगर नाका हुँदै निर्यात हुनेमा भटमासको तेल पहिलो, सिन्थेटिक यार्न दोस्रो

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७८ साउन ११ गते १४:३७ | Jul 26, 2021
विराटनगर नाका हुँदै निर्यात हुनेमा भटमासको तेल पहिलो, सिन्थेटिक यार्न दोस्रो


Tata
GBIME
Nepal Life

विराटनगर। गत आर्थिक वर्ष २०७७/७८ मा विराटनगर नाकाबाट सबैभन्दा बढी निर्यात हुनेमा प्रशोधित भटमासको तेल पहिलो भएको छ। नेपालबाट निकासी गरिने प्रशोधित पामोलिन तेलमा गत वर्ष भारतले रोक लगाएपछि  उद्योगीले भटमासको तेलको निर्यातलाई बढाएका हुन्।

विराटनगर भन्सार कार्यालयका अनुसार उक्त आवमा १५ अर्ब ६७ करोड ३१ लाख बराबरको ९० हजार ३ सय १० टन भटमासको तेल निर्यात भएको तथ्यांक छ।

मोरङ र सुनसरीमा सञ्चालित स्वस्तिक आयल, क्वालिटी आयल, पशुपति खाद्यतेल उद्योग, बाबा आयल, वाग्मती आयल, श्रीराम रिफाइनरी र एभरेस्ट सोल्भेन्टले साढे १५ अर्बभन्दा बढीको भटमासको तेल निर्यात गरेका हुन्।

नाकाबाट निकासीको दोस्रो नम्बरमा सिन्थेटिक यार्न परेको छ। विराटनगर नाकाबाट सिन्थेटिक यार्न निकासी गर्ने एक मात्र उद्योग रिलायन्स स्पिनिङ हो।

रिलायन्सले ५ अर्ब ४९ करोड ८ लाख मूल्यको २१ हजार १ सय ५६ टन धागो निकासी गरेको तथ्यांक छ। जुट गार्मेन्ट (हैसियन चट्टी)को निकासी पनि उत्साहजनक देखिएको छ। विराटनगर नाकाबाट उक्त आवमा ४ अर्ब २९ करोड २ लाखको ९ करोड ४५ लाख ५७ हजार वर्गमिटर जुट गार्मेन्ट निकासी भएको छ। त्यस्तै जुटका झोला र बोराको निकासी २ अर्ब ४१ करोड ४८ लाख बराबरको १६ हजार ५ सय ९३ टन भएको छ।

विराटनगर नाका हुँदै नाइलन, पोलिमाइड र पोलिस्टर कपडाको पनि निर्यात बढेको छ। यस्तो कपडा २ अर्ब १९ करोड ८४ लाख मूल्यको १५ करोड ७५ लाख १३ हजार वर्गमिटर निकासी भएको तथ्यांकमा देखिन्छ।

त्यस्तै १ अर्ब १६ करोड २८ लाख मूल्यको ८ हजार १ सय ३२ टन चाउचाउ, पास्ता र नुडल्स, ८८ करोड ८१ लाख मूल्यको २५ हजार ९ सय ६५ टन पिना र ४६ करोड २७ लाख मूल्यको ३ हजार ६ सय ८६ टन सनपाटको धागो पनि निकासीका मुख्य १० वस्तुमा परेका छन्।

यसका साथै ४४ करोड ९३ लाख मूल्यको २ हजार ६ सय २० टन सूर्यमुखीको प्रशोधित तेल र ४४ करोड २० लाख मूल्यको तामाको सिट निकासी भएको पनि भन्सार कार्यालयले जनाएको छ ।

आयाततर्फ मूल्यका आधारमा सबैभन्दा बढी आयात हुने भटमासको कच्चा तेल भएको छ। उक्त आवमा १४ अर्ब ९० करोड ५६ लाख मूल्यको १ लाख २० हजार टन भटमासको कच्चा तेलको पैठारी गरिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ।

मूल्यका आधारमा दोस्रो नम्बरमा पैठारी गरिनेमा फलामे डन्डीको कच्चा पदार्थ एमएस बिलेट छ। गत आवमा १० अर्ब ११ करोड ६२ लाख मूल्यको १ लाख ७० हजार १ सय ४२ टन एमएस बिलेट भित्रिएको गरिएको छ।

प्लास्टिकका भाँडाकुँडा, फर्निचर, ओभन स्याक्स र झोलाको कच्चा पदार्थ पोलिथिन दानाको पैठारी पनि उत्साहजनक पाइएको छ। उक्त आवमा ९ अर्ब १२ करोड ७७ लाख मूल्यको ६२ हजार ९ सय २ टन पोलिथिन दानाको पैठारी गरिएको कार्यालयले जनाएको छ।

त्यस्तै फलामे तार र अन्य फलामे सामग्रीको कच्चा पदार्थ स्टिल वायर रड इन क्वाइल ६ अर्ब ६८ करोड ७० लाखको १० हजार १ सय ३७ टन, ६ अर्ब ४३ करोड ५४ लाखको ६ करोड ४५ लाख ९० हजार थान तयारी कपडा र ५ अर्ब ७८ करोड ५० लाखको ४२ हजार १ मेट्रिक टन सूर्यमुखीको कच्चा तेलको पनि आयात गरिएको तथ्यांक छ।

विराटनगर नाका हुँदै गत आवमा ५ अर्ब ३४ करोड १८ लाखको २ लाख ३ हजार ५ सय ७९ टन मकै, ५ अर्ब ६ करोड ७ लाख मूल्यको ६० हजार ३ सय ८८ टन कर्कटपाताको कच्चा पदार्थ सीआर सिट र ४ अर्ब ९४ करोड ३४ लाख मूल्यको ६५ हजार ७ सय ८८ टन एलपी ग्यास आयात भएको छ।