आन्तरिक राजस्व वीरगंजले लक्ष्य भेटेन, अन्तःशुल्क असुली डगमगाएपछि डेढ अर्ब कम

बिजमाण्डू
२०७८ साउन ४ गते १६:४९ | Jul 19, 2021

Tata
GBIME
Nepal Life

वीरगंज। आन्तरिक राजस्व कार्यालय वीरगंजले गत आवमा लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको छैन ।लक्ष्यभन्दा करिब १ अर्ब ६७ करोड ४७ लाख १ हजार कम राजस्व संकलन भएको हो ।

कार्यालयले गत २०७७/०७८ आवको १२ महिनाको लागि ९ अर्ब ८१ करोड ६८ लाख २ हजारको लक्ष्य पाएकोमा ८२.९४ प्रतिशत आर्थात ८ अर्ब १४ करोड २१ लाख १ हजार मात्र संकलन गर्न सकेको जनाएको छ ।

कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत हृदयनारायण महतोका अनुसार अन्तशुल्क लक्ष्य अनुसार नउठेको कारण लक्ष्य भेट्न नसकिएको बताए ।

उनका अनुसार अन्तशुल्कतर्फ ६ अर्ब ९९ करोड १३ लाख १७ हजार लक्ष्य रहेकोमा ५२.७१ प्रतिशत अर्थात ३ अर्ब ४२ करोड १७ लाख ४३ हजार मात्र असुली भएको छ ।

भ्याटतर्फ १ अर्ब ४५ करोड ३७ लाख १७ हजार लक्ष्य पाएकेमा ४४.३९ प्रतिशतले वृद्धि भएर २ अर्ब ९ करोड ९० लाख, आयकरतर्फ १ अर्ब ७९ करोड ५२ लाख ६० हजार लक्ष्य पाएकोमा ४१.४० प्रतिशतले वृद्धि भई २ अर्ब ५३ करोड ८७ लाख ६५ हजार राजस्व संकलन भएको छ ।

त्यसैगरी, घरबहाल करतर्फ ३ करोड ४३ लाख ३६ हजार लक्ष्य पाएकोमा ९५.९९ प्रतिशत अर्थात ३ करोड २९ लाख ५९ हजार, ब्याजकरतर्फ ३ करोड ८५ लाख ९८ हजार लक्ष्य पाएकोमा २८.५६ प्रतिशतले वृद्धि भई ४ करोड ९६ लाख २२ हजार राजस्व संकलन भएको छ ।

पर्सामा सञ्चालित करिब आधा दर्जन मदिरा उद्योगहरु पलायन भएपछि अन्तशुल्कको लक्ष्य भेट्न नसकेको हो । पर्सामा सञ्चालित एशियन डिस्टीलरी, स्नोल्याण्ड डिस्टीलरी, एक्सन वाइन, धौलागिरी डिस्टीलरी, उदयपुर डिस्टीलरीलगायको उत्पादन ठप्प हुँदा अन्तशुल्कको लक्ष्य नभेटिएको हो ।

अर्कोतिर हिमालयन डिस्टीलरीले चितवनको भरतपुरबाट पनि गोल्डेन ओकको उत्पादन थालेकोले आम्दानीमा असर परेको छ । कार्यालयले २०७६/०७७ आवमा ११ अर्ब ३ करोड ६४ लाख ७२ हजार लक्ष्य पाएकोमा ५८.७३ प्रतिशत अर्थात ६ अर्ब ४८ करोड १८ लाख ३० हजार रुपैयाँ मात्र राजस्व संकलन भएको थियो । त्यति बेला पनि कोरोना महामारी, अन्तशुल्कमा  कमी तथा उच्च कुल लक्ष्य सरकारले दिएकोले लक्ष्य भेट्न नसकिएको विश्लेषण गरिएको थियो ।

गत आवमा पनि कोरोना महामारीले गर्दा पनि राजस्व असुलीमा आंशिक असर परे तापनि अन्तशुल्कको लक्ष्य उच्च रहेकाले कार्यालयले  लक्ष्य नभेटेको कर अधिकृतहरुको भनाई छ ।

यसैबीच वीरगंजको यातायात व्यवस्था कार्यालयले १२ महिनामा १ अर्ब १५ करोड राजस्व असुली गरेको छ जुन पोहोरभन्दा १७ करोड बढी हो।

गत साउनदेखि गत असार मसान्त सम्म यो राजस्व संकलन भएको हो । पोहोरभन्दा अर्थात आव २०७६/७७ भन्दा १७ करोड १ लाख १६ हजार रुपैयाँ बढि राजस्व संकलन भएको यातायात व्यवस्था कार्यालय (सवारी)का प्रमुख कुशेश्वर साहले बताए ।

उनका अनुसार आव २०७६/०७७ मा कार्यालयले जम्मा ९८ करोड ९१ लाख ७६ हजार रारजस्व संकलन गरेको थियो ।

कार्यालयले गत आवको १२ महिनामा सवारी साधन करतर्फ ९४ करोड ७ लाख ५१ हजार,चालक अनुमति पत्र/सवारी दर्ता किताब शिर्षकतर्फ १५ करोड ५९ लाख ५९ हजार, यातायात क्षेत्रको आम्दानी शिर्षकमा ६ करोड ३५ लाख ३० हजार र प्रशासनीक दण्ड जरिवाना जफततर्फ ५० हजार ७ सय गरी कुल १ अर्ब १५ करोड ९२ लाख ९२ हजार राजस्व संकलन भएको जनाएको छ।