भारतमा फाइभ-जी प्रविधिको परीक्षण आक्रामक बन्दै, एयरटेलले गुडगाउँबाट सुरु ‍गर्‍यो परीक्षण

बिजमाण्डू
२०७८ असार १ गते ११:०६ | Jun 15, 2021
भारतमा फाइभ-जी प्रविधिको परीक्षण आक्रामक बन्दै, एयरटेलले गुडगाउँबाट सुरु ‍गर्‍यो परीक्षण


Tata
GBIME
Nepal Life

काठमाडौं। भारतीय दूरसञ्चार सेवा प्रदायक एयरटेलले फाइभ-जी परीक्षण सुरु गरेको छ। भारत सरकारले टेलिकम अपरेटरहरुलाई फाइभ-जी परीक्षण सुरु गर्न हरियो झन्डा दिएसँगै विभिन्न अपरेटरहरुले परीक्षण सुरु गर्दै लगेका छन्। 

एयरटेलले १ जीबीपीएसभन्दा बढीको स्पीडमा फाइभजी नेटवर्क परीक्षण गर्ने बताइएको छ। एयरटेलले गुडगाउँ (गुरुग्राम) मा फाइभजी ट्रायल सुरु गरेको हो। गुरुग्रामको साइबर हबलाई केन्द्रमा राखेर एयरटेलले फाइभजी परीक्षण सुरु गरेको बताइएको छ।  

परीक्षण हुने गुरुग्राममा अहिले ३५ सय मेगाहर्ज ब्याण्डमा सञ्चालन भइरहेको छ। २०२१ को सुरुआतमा एयरटेलले १८ सय मेगाहर्जको 'लिबरलाइज स्पेट्रम' उपयोग गर्दै फाइभजी नेटर्वकको प्रदर्शन गरेको थियो। 

एयरटेलले स्वीडिस उपकरण निर्माता इरिक्सनसँगको साझेदारीमा फाइभ-जी परीक्षण सञ्चालन गरेको बताइएको छ।  

एयरटेलले यही प्रकारको फाइभ-जी परीक्षण केही समय भित्रै मुम्बईमा सुरु गर्ने जनाएको छ। फाइभ-जीको परीक्षणमा एयरटेलका सामान्य प्रयोगकर्ता जोसँग कम्प्याटिबल स्मार्टफोन उनीहरुले भने नपाउने बताइएको छ। भारत सरकारले अहिलेसम्म एन्ड युजर्सहरुलाई फाइभ-जी प्रयोगको अनुमति दिएको छैन।

अपरेटरहरुले फाइभ-जी परीक्षणका लागि प्रयोग गर्ने डिभाइसका निर्माताहरुले विशेष सफ्टवेयर अपडेट पठाएपछि मात्रै चल्ने बताइएको छ। 

गत मे महिनामा भारत सरकारले त्यहाँका टेलिकम अपरेटहरु एयरटेलसँगै जिओ र भोडाफोनलाई फाइभ-जी परीक्षण गर्न अनुमति दिएको थियो। यी अपरेटरहरुले दूरसञ्चार उपकरण निर्माता इरिक्सन, नोकिया र सामसङसँगको सहकार्यमा भारतमा फाइभ-जी परीक्षण अघि बढाइरहेको बताइएको छ। 

एयरटेललाई भारत सरकारले दिल्ली, मुम्बई, कोलकाता र बेंगलुरुमा ३५ सय मेगाहर्ज, २८ गिगाहर्ज र ७०० मेजाहर्ज स्पेक्ट्रम फाइभ-जी परीक्षणका लागि प्रयोग गर्न दिने जनाएको छ।