खाने तेलको कच्चा पदार्थमा प्रति टन ३ सय डलरभन्दा बढीले मूल्य घट्यो, नेपालमा पनि मूल्य घट्ने

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७८ जेठ ३१ गते २१:५१ | Jun 14, 2021
खाने तेलको कच्चा पदार्थमा प्रति टन ३ सय डलरभन्दा बढीले मूल्य घट्यो, नेपालमा पनि मूल्य घट्ने

Tata
GBIME
Nepal Life

विराटनगर। अन्तर्राष्ट्रिय बजारमा कच्चा खाने तेलको मूल्यमा अचानक ह्रास आएको छ। यसबाट नेपाली बजारमा प्रशोधित तेलको मूल्य घटेर उपभोक्तालाई राहत हुने र तेल उद्योगीले घाटा ब्योहोर्नुपर्नेछ।

विराटनगरको श्रीराम रिफाइनरीका सञ्चालक एवं उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारकाले नेपाल भित्रिरहेको कच्चा सोया तेल र कच्चा सूर्यमुखीको तेलमा एक हप्तामा प्रति टन ३ सय डलर हाराहारीमा मूल्यमा ह्रास आएको जानकारी दिए। उनका अनुसार अर्जेन्टिना र ब्राजिलबाट पैठारी गरिने भटमासको कच्चा तेलको मूल्य सात दिनअघिसम्म १ हजार ४ सय ७५ डलर थियो। उक्त मूल्य सोमबार राति १ हजार २ सय अमेरिकी डलरमा झरेको छ। गत वर्ष यही बेला यसको मूल्य ६ सय ६० अमेरिकी डलर मात्र थियो।

त्यस्तै गत वर्ष प्रति टन ७ सय २५ देखि ७ सय ५० अमेरिकी डलरमा पाइने सूर्यमुखीको कच्चा तेल ७ दिन अघिसम्म अन्तर्राष्ट्रिय बजारमा १ हजार ६ सय ५० डलर थियो। सोमबार रातिको मूल्य १ हजार ३ सय २५ डलर छ । सूर्यमुखीको कच्चा तेल रसिया र युक्रेनबाट आयात गरिन्छ। ‘महँगो मूल्य तिरेर झिकाइएको कच्चा तेल ३० हजार टनभन्दा बढी कोलकाता पोर्टमा छ,’ मुरारकाले भने, ‘त्यस्तै ३० हजार टन तेलको एलसी खोलिसकिएको छ। यसरी प्रति टन ३ सय डलर गुमाउँदा पनि नेपाली उद्योगीले ६० हजार टन तेलमा कम्तीमा १ अर्ब ८० करोड एकै झट्कामा गुमाएका छन्।’

एक हप्ताभित्रै नेपालको बजारमा प्रशोधित तेलको मूल्य घट्न सुरु हुने उनले बताए। अहिले उद्योगीले अन्तर्राष्ट्रिय बजारका आधारमा  साप्ताहिक रुपमै यहाँ तेलको मूल्य बढाइरहेका थिए। त्यही कारण अन्तर्राष्ट्रिय बजारमा घट्दा यहाँ पनि मूल्य स्वत घट्नेछ। क्वालिटी रिफाइनरीका सञ्चालक एवम् उद्योग संगठन मोरङका कोषाध्यक्ष विपिन काबराका अनुसार विशेषतः अमेरिकी बजारमा वायोफ्युलका रूपमा भटमासको तेल प्रयोग नहुने हल्लासँगै मूल्य घटेको हो।

अमेरिकी राष्ट्रपति बाइडनले मंगलबार बायोफ्युल(जैविक इन्धन) सम्बन्धी निर्णय दिने भएकाले त्यसपछि मात्र कच्चा तेलको मूल्य के हुने भन्ने बताउन सकिने उद्योगी काबराले जिकिर गरे। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् एभरेस्ट सोलभेन्टका सञ्चालक अविनाश बोहराले सूर्यमुखीको कच्चा तेलको मूल्य १ हजार ८ सय अमेरिकी डलरसम्म पुगेको बताए। 

उत्पादन नै कम भएका कारण अन्तर्राष्ट्रिय बजारमा सूर्यमुखी कच्चा तेलको मूल्यवृद्धि भएको र पछि यसमा उपभोक्ताको आकर्षण कम भएपछि घटेको उनको भनाइ छ।