सरकारले अन्तःशुल्क हटाए पनि आयातमा किन हतारिएनन् विद्युतीय गाडी बिक्रेता कम्पनी?  

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७८ जेठ ३० गते १६:२० | Jun 13, 2021
सरकारले अन्तःशुल्क हटाए पनि आयातमा किन हतारिएनन् विद्युतीय गाडी बिक्रेता कम्पनी?  

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले बजेटमार्फत विद्युतीय सवारी साधनमा अन्तःशुल्क हटाए पनि आयात बढेको छैन। गत वर्ष करका दरमा गरिएको वृद्धिले बजारमा प्रतिकूल असर परेको भन्दै चिन्ता व्यक्त गरेका अटोमोबाइल व्यवसायीले घटेका बेला पनि आयात बढाउन सुरसार नै गरेका छैनन्।

बिभिन्न ब्रान्डका नेपालका लागि बिक्रेता कम्पनीहरु निषेधाज्ञा हट्ने दिनको प्रतीक्षामा देखिएका छन्। बिक्रेता कम्पनीहरुले तत्काल एलसी प्रक्रियामा नहतारिने जनाएका छन्। सरकारले करका दरमा दिएको सहुलियतले बजारलाई भने सकारात्मक असर पार्ने उनीहरूले जनाएका छन्। निषेधाज्ञा हटेर बजार खुलेपछि भने अब इलेक्ट्रिक भेहिकल नयाँ मूल्यमा पाइने छ।  

नेपालका लागि कियाको निरो,  हुण्डाईको कोना, एमजीको जेडएस, महिन्द्राको इटुओप्लस लगायतका बिक्रेता कम्पनीका प्रतिनिधिहरु भन्छन् 'हामी पर्ख र हेर' को अवस्थामा छौं। 

निषेधाज्ञा हटेर जनजीवन सामान्य भएपछि मात्रै बजार लयमा फर्किने उनीहरुले बताएका छन्। केही कम्पनीले गाडी अर्डर गरे पनि भित्र्याउन हतार गरेका छैनन्। उनीहरुले अहिलेको अर्डरको डेलिभरी आगामी दसैं-तिहारसम्ममा इपुग्ने प्रक्षेपण गरेका छन्। 

'अन्तःशुल्क हटाइनु विद्युतीय गाडीको बजारका लागि राम्रो हो तर कोरोना संक्रमणको त्रास घटेर जनजीवन नर्मलतिर आए मात्रै बजार सहज हुन्छ,'  एमजी गाडीको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्यालले भने, 'हतारिनुभन्दा केही समय हामीले पर्खेर हेर्नै पर्छ।' माग बढ्ने प्रक्षेपणलाई मध्यनजर गर्दै उत्साहित भए पनि कम्पनी बिस्तारै आयात प्रक्रिया थाल्ने उनले बताए। 

उनका अनुसार कम्पनीले यसअघि लटअनुसार ५० देखि एक सय वटा गाडी आयात गर्दै आएको थियो। मुलुकको राजनीतिक वातावरण अनिश्चित भएकाले एउटा सरकारले घोषणा गरेको योजना अर्को सरकार वा मन्त्री फेरिँदा  परिवर्तन हुने हो की भन्ने संशय रहेको उनले बताए।        
हुण्डाइ मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय गाडीको आयात ग्राहकको इन्क्वाइरी आए  अनुसार अघि बढ्ने जनाएको छ। 'निषेधाज्ञा खुलेर ग्राहकको माग र सोधपुछको आधारमा गाडीको एलसी प्रक्रिया अगाडि बढाउने योजना छ,' उपमहाप्रबन्धक दीपक थपलियाले भने, 'निषेधाज्ञा नहटी प्रक्रिया अघि बढाउनु हतार हुन्छ। अब मार्केट खुलेपछि एलसी प्रक्रिया सुरु गर्छौं। हामी होमवर्क गर्दैछौं।'    

उनका अनुसार यस अघि कम्पनीले एक लटमा न्यूनतम ३० वटा गाडी आयात गर्दै आएको थियो। मुलुकमा विद्युतीय सवारी अन्तर्गत सेडानको माग कम भएका कारण ५-१० प्रतिशत आयोनिक भित्र्याउने योजना  रहेको उनले जानकारी दिए। ग्राहकको माग अनुसार कम्पनीले अहिले अर्डर गरेको गाडी दसैंसम्ममा नेपाल आइपुग्ने उनको प्रक्षेपण छ। 

यतिखेर कोभिड दोस्रो लहरका कारण भारतमा महिन्द्राको उत्पादन नै प्रभावित भएका कारण तत्काल गाडी ल्याउन नसकिने अवस्था रहेको महिन्द्रा इटुओ प्लसको आधिकारिक बिक्रेता अग्नि एनर्जीले जनाएको छ। कम्पनीका वरिष्ठ कार्यकारी प्रबन्धक प्रमोद भण्डारीले बताए। 'भारतमा इटुओ प्लसको उत्पादन सुरु भएपछिमात्र एलसी प्रक्रिया सुरु गर्ने योजना बनाएका छौं,' उनले भने। 

कियाको निरो गाडीको आधिकारिक विक्रेता कन्टिनेन्टल एशोसिएट्सले आउँदो जुलाइदेखि एलसी प्रक्रिया सुरु गर्ने भएको छ। जुनको अर्डर सकिएसँगै कम्पनीले जुलाईमा अर्डर हाल्ने योजना रहेको कम्पनीका उपमहाप्रबन्धक अनिश लामिछानेले बताए।  अर्डर दिए पनि उत्पादकले सीमित संख्यामा डेलिभरी दिँदै आएका कारण दुईपक्षीय समन्वय पछिमात्र अर्डर संख्या टुंगो लाग्ने उनले जानकारी दिए। 

'इभीको हकमा उत्पादक कम्पनीले जति वटा दिन्छु भन्यो त्यति नै आयात गरिँदै आइएको छ। उत्पादक कम्पनीले दिएको समयसीमा अनुसार अर्डर दिनेछौं। अब अर्डर गरिएका गाडी दसैंमा आइपुग्छन्,' उनले भने।