गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ‘फ्लाइट क्यालिब्रेसन’ दुई महिना पछि धकेलिँदै

बिजमाण्डू
२०७८ जेठ २८ गते १३:०२ | Jun 11, 2021
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ‘फ्लाइट क्यालिब्रेसन’ दुई महिना पछि धकेलिँदै

Tata
GBIME
Nepal Life

काठमाडौं। भैरहवाको गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उडान परीक्षण (फ्लाइट क्यालिब्रेसन)को काम थप दुई महिना पर धकेलिने भएको छ।

आइसीवी जीरो-टु अन्तर्गतको यो अन्तिम चरणको काम दुई महिना पर सारिएको आयोजना निर्देशक प्रवीण न्यौपानेले बताए। 'फ्लाइट क्यालिब्रेसन मध्य बर्खामा गर्न सकिँदैन। आइसीवी जीरो वान र टुको काम सँगै लानुपर्ने हुन्छ। रनवे लाइटिङ पनि सँगै परीक्षण गर्नुपर्छ। पिक रेनी सिजनका कारण असार र साउन फ्लाइट क्यालिब्रेसन गर्न गाह्रो छ,' उनले भने। 

निर्माण करिब करिब सम्पन्न भएको विमानस्थलमा अस्ट्रिया, क्यानडा, अमेरिका लगायत मुलुकबाट आएका प्राविधिकहरुले आवश्यक उपकरण जडान गरिसकेको उनले जानकारी दिए। आइसीवी जीरो टुको कामका लागि थाइल्याण्डको एरो थाइ कम्पनीलाई  जिम्मा दिइएको छ। कम्पनीले फ्लाइट क्यालिब्रेसनका लागि आफ्नै विशेष उपकरणसहितको जहाज ल्याउने उनले बताए। तर कोभिड दोस्रो लहरका कारण थाइ सरकारले तत्कालका लागि उडान-अवतरणमा प्रतिबन्ध लगाएका कारण विशेष जहाज आउने सम्भावना कमै छ।

जहाजको परीक्षण उडानपछि विमानस्थलको निर्माण विधिवत् पूरा भएको मानिने छ। मुलुकमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा छ। भैरहवामा नयाँ विमानस्थल सञ्चालनमा आउन सके त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानको चाप कम हुनुका साथै बाहिरबाट आउने जहाजलाई विकल्प हुने मानिएको छ। तर यो नयाँ विमानस्थलले निर्माणको चरण पूरा गरेर सञ्चालनका लागि तयार भएको घोषणा अवधि निरन्तर पछि धकेलिएको छ। 

फ्लाइट क्यालिब्रेसनको काम छिटै सक्न नेपाल नागरिक उड्डयन प्राधिकरणले विकल्पमा भारतको नागरिक उड्डयन प्राधिकरणसँग पनि समन्वय गर्दै आएको आयोजना निर्देशक न्यौपानेले बताए। 'केही गरी एरो थाइ आउन नसकेको अवस्थामा विकल्पका लागि भारतसँग समन्वय गरिएको हो,' उनले भने।