महिलालाई उद्यममा फर्काउन तालिम, पुँजी र बजार पहुँचमा सहयोग आवश्यक: मन्त्री चौधरी

बिजमाण्डू
२०७८ जेठ २७ गते १९:२८ | Jun 10, 2021
महिलालाई उद्यममा फर्काउन तालिम, पुँजी र बजार पहुँचमा सहयोग आवश्यक: मन्त्री चौधरी


काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले कोभिडबाट व्यापार व्यवसाय प्रभावित बनेको भन्दै महिलाहरूलाई उद्यममा फर्काउन सीपमूलक कार्यक्रम ल्याउनुपर्ने बताएकी छन्। 

Tata
GBIME
Nepal Life

नेपाल उद्योग परिसंघ अन्तर्गतको सीएनआई सिइओ फोरमले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले महिलाहरूलाई व्यवसायमा जोड्न सीपयुक्त तालिमका साथै व्यवसाय सुरु गर्न पुँजी र उत्पादित वस्तुको बजारसम्मको पहुँचका लागि सहयोग आवश्यक रहेको बताइन्। 

महिलाविरुद्ध सबै किसिमका विभेद हटाउनेसम्बन्धी राष्ट्रसंघीय समितिकी निर्वाचित सदस्य बन्दना राणाले कोभिडका कारण रोजगारीका अवसर गुमाउनेमध्ये ७० प्रतिशत महिलाहरू नै रहेको  बताएकी छन्। उनका अनुसार अनौपचारिक क्षेत्रमा काम गर्नेको अवस्था अझै भयावह छ ।

कोभिडसँग जुध्न अग्रपंक्तिमा खट्ने जनशक्तिमा महिलाको संख्या ठूलो भए पनि नेतृत्वदायी भूमिकामा उनीहरूको प्रतिनिधित्व कमजोर छ। 'अहिलेको संकटमा सबैको ध्यान नागरिकको जीवन बचाउनेतर्फ केन्द्रित हुनुपर्छ,' राणाले भनिन्, 'नागरिकहरूलाई परेको संकट, भविष्यमा आइपर्ने समस्या र त्यससँग जुधेर अघि बढ्न पर्याप्त तयारी नेतृत्व तहबाट हुनुपर्छ। अहिले भएका कामहरूको अभिलेख राम्रोसँग व्यवस्थापन गरेर भविष्यमा थप काम गर्नुपर्छ।'

यसैगरी, युनाइटेड इन्स्योरेन्सकी प्रमुख कार्यक्रारी अधिकृत उपासना पौडेलले कोभिडपछि काम गर्ने तौरतरिका र चेतनामा फरकपन देखिएको बताइन् । उनले कोभिडका कारण मनोवैज्ञानिक दबाबमा परेका कर्मचारीको मनोबल बढाउन परामर्श दिनुपर्ने आवश्यकता औंल्याइन्। 

कार्यक्रममा परिसंघका उपाध्यक्ष एवं सीएनआई सिइओ फोरमका कोअर्डिनेटिङ उपाध्यक्ष निर्वाण चौधरीले अहिले सबैले ठूलो संकटविरुद्ध संघर्ष गरिरहेको बताए। कोभिडको दोस्रो लहरले सबैलाई प्रभावित बनाएको भन्दै स्वास्थ्य सुरक्षा नै मुख्य चुनौती उनको भनाइ छ।

सीएनआई सीइओ फोरमका कन्भेनर एवं नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले कोभिडको संकटबाट जोगिएर दैनिक कार्य सञ्चालन गर्नुपर्ने र सबै क्षेत्रले सहकार्य गर्नुपर्ने बताए । अहिलेको संकटमा सरकार, निजी क्षेत्र र गैरसरकारी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।