आन्तरिक उडान पुनः सुरु गर्न नागरिक उड्डयन मन्त्रालय गृहकार्यमा, सीमित गन्तव्य नियमितको योजना

बिजमाण्डू
२०७८ जेठ २६ गते ११:४६ | Jun 9, 2021
आन्तरिक उडान पुनः सुरु गर्न नागरिक उड्डयन मन्त्रालय गृहकार्यमा, सीमित गन्तव्य नियमितको योजना

Tata
GBIME
Nepal Life

काठमाडौं। कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि रोक लगाएको आन्तरिक उडान पुनः सुरु गर्नका लागि सरकारले गृहकार्य थालेको छ।

अन्तर्राष्ट्रिय उडान खुला गरेपछि आन्तरिक पनि खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय दबाबमा छ। यसका लागि गृहकार्य सुरु गरिएको मन्त्रालय स्रोतले जनाएको छ। 'निषेधाज्ञापछि बन्द आन्तरिक उडान पुनः सुरु गर्नका लागि वायुसेवा सञ्चालक संघले पत्राचार गरेपछि मन्त्रालयले यसबारे छलफल गरिरहेको छ,' सचिव यादवप्रसाद कोइरालाले भने।

मन्त्रालयले आन्तरिक उडानका लागि नयाँ मोडालिटी अनुसार तीन दिन अध्ययन गर्ने योजना बनाएको छ। बिहीबार, शुक्रबार र शनिबार गरिएको अध्ययनका आधारमा आन्तरिक उडान खुला गर्ने/नगर्ने विषयमा टुंगो लाग्ने उनले जानकारी दिए। सम्भव भएसम्म असारदेखि धनगढी, भैरहवा, विराटनगर, जनकपुर लगायत गन्तव्यमा एउटा/एउटा उडान गराउन मन्त्रालयले तालिका बनाउने छ।

'आन्तरिक उडान पुनः सुरु होस् भन्ने हाम्रो पनि चाहना हो तर कोभिडका कारण तत्काल नखोलिए पनि हामी तीन दिन गृहकार्य गर्छौं। असार पहिलो सातादेखि मेची, महाकालीमा हुने उडान खुला गर्ने कोसिस गर्नेछौं,' सचिव कोइरालाले बिजमाण्डूसँग भने,'यो गृहकार्य सकिएलगत्तै सीसीएमसीलाई अनुरोध गर्नेछौं।'

उडानमा यात्रुका लागि छुट्टै प्रावधान लागू हुन सक्ने बताउँदै उनले भने,'यसरी उडान खुल्दा आउजाउका लागि पीसीआर, एन्टीजेन गरेका यात्रुलाई मात्र ल्याउन सकिन्छ। कतिपय यात्रु आइसकेपछि क्वारेन्टिनमा बस्ने गरी आउँछन् की। यिनै कुराको अध्ययन विश्लेषण गर्दा सम्भाव्यता भयो भने उडान खुला गरिन्छ।'

सुरुवाती चरणमा आन्तरिकतर्फ सीमित गन्तव्यका लागि नियमित उडान खुला गर्दा यात्रु आउजाउमा सहजता हुने उनले बताए। वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा संचालक संघले उडान खुलाउन सरकारलाई आग्रह गरिसकेको छ।

संघले असार १ गतेदेखि उडान पुनः सुरु गराउनका लागि मन्त्रालयलाई पत्राचार गर्नुका साथै निषेधाज्ञा अवधिभरका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले लिँदै आएको ल्याण्डिङ पार्किङ शुल्कमा ७५ प्रतिशत छुट दिनुपर्ने माग पनि गरेको छ।