२० दिनदेखि बन्द रहेका डन्डी उद्योग चल्न थाले, माग नभएपछि क्षमताको २० प्रतिशत मात्रै संचालनमा

बिजमाण्डू
२०७८ जेठ २१ गते १८:४३ | Jun 4, 2021
२० दिनदेखि बन्द रहेका डन्डी उद्योग चल्न थाले, माग नभएपछि क्षमताको २० प्रतिशत मात्रै संचालनमा

Tata
GBIME

काठमाडौं। अक्सिजन अभावका कारण झण्डै २० दिनदेखि बन्द भएका डन्डी उद्योग संचालनमा आउन थालेका छन्। कोरोना संक्रमणबाट गम्भीर विरामीलाई अभाव हुन नदिन औद्योगिक प्रयोजनमा प्रयोग भएका अक्सिजन सिलिण्डर सरकारले स्थानीय प्रशासनलाई दिन सार्वजनिक आब्हान गरेको थियो।

यो आब्हानपछि सबैजसो उद्योगले अक्सिजन सिलिण्डर स्थानीय प्रशासनलाई दिएका थिए। संक्रमण कम भएर अक्सिजन अभाव कम भएपछि डन्डी उद्योग संचालनमा आउन थालेको हो। शंकर समूहका प्रवन्ध निर्देशक साहिल अग्रवालले अक्सिजन अभाव कम भएपछि उद्योग संचालनमा आएको बताए। ‘अक्सिजन सहज हुन थालेपछि हामीले उद्योग चलाउन थालेका छौं। तर अहिले क्षमताको २० प्रतिशत मात्रै संचालनमा आएको छ,’ उनले बिजमाण्डूसँग भने, ‘माग बढेपछि विस्तारै बढाउँदै लगिनेछ।’

उनका अनुसार देशभर निषेधाज्ञाका कारण डन्डीको मागनै छैन्। ‘बढ्दो संक्रमणका कारण निषेधाज्ञाका समेत कडा पारिएको थियो। निजी तथा सार्वजनिक निर्माण समेत ठप्प जस्तै थियो। विस्तारै निषेधाज्ञा खुकुलो बनाउन थालिएको छ,’ अग्रवालले भने, ‘काठमाडौं उपत्यकामा रातीको समयमा निर्माण सामाग्री बोकेका सवारी साधन चल्न दिइने निर्णय भएको छ। यसले विस्तारै माग बढ्ने अपेक्षामा छौं।’ शंकर समूहको देशकै ठूलो डन्डी उद्योग जगदम्बा स्टील छ।

अम्बे समूहका निर्देशक शिवाज न्यौपानेले अक्सिजन पाउन थालेपछि उद्योग संचालनमा आएको बताए। ‘अक्सिजन अभाव कम हुन थालेपछि एक साता अघिदेखि उद्योग संचालनमा ल्याएका थियौ। अहिले क्षमताको ५० प्रतिशत मात्रै उद्योग संचालनमा छ,’ उनले भने, ‘अहिले बजारमा बिक्री नभएपनि हामीले उत्पादन गरेर स्टक गरिरहेका छौं।’ डन्डी बिक्री हुने मुख्य सहरहरु निषेधाज्ञाका कारण बन्द भएको र बिक्री एकदमै कम रहेको न्यौपानेले बताए। उद्योगीका अनुसार देशभरका डन्डी उद्योग संचालनमा आइसकेका छन्। तर क्षमताको २० प्रतिशत भन्दा कममा डन्डी उत्पादन गरिरहेका छन्।

मूल्य फेरि बढ्यो

भारतमै विलेटको मूल्य आकासिएपछि डन्डीको मूल्य घटेको छैन्। कच्चा पदार्थ भारतमै निर्भर रहेको र त्यहाँ मूल्य बढ्दा उत्पादित डन्डीको मूल्य बढ्ने गर्छ।

अम्बे समूहका निर्देशक न्यौपानेका भारतमा विलेटको भाउ टनको ६१५ डलर पुगेको छ। एक साता अघि केही घटेको थियो। तर अहिले विस्तारै उकालो लाग्न थालेको छ। ‘हामी विलेटमा भारत निर्भर छौं। त्यहीबाट विलेट ल्याउनुपर्ने भएकाले त्यसले प्रत्यक्ष रुपमा मूल्य असर गर्छ,’ न्यौपानेले भने, ‘शुक्रबारको मूल्य अनुसार हामीले ९० रुपैयाँमा हार्डवेयरलाई डन्डी बेच्नुपर्छ।’

उनका अनुसार विलेटको मूल्य घटबढ भइरहेकाले केही भन्न सकिदैन्। उद्योग मूल्य ९० माथि हुँदा उपभोक्ताले १ सय ५ रुपैयाँ हाराहारीमा डन्डी किन्न पाउँछन्।