बैंकक-काठमाडौं पुनः उडान थालेको ७ महिनापछि थाइ एयरवेजले गर्‍यो औपचारिक घोषणा

बिजमाण्डू
२०८१ जेठ १० गते १८:२० | May 23, 2024
बैंकक-काठमाडौं पुनः उडान थालेको ७ महिनापछि थाइ एयरवेजले गर्‍यो औपचारिक घोषणा

काठमाडौं। थाइल्याण्डको ध्वजावाहक वायुसेवा थाइ एयरवेजले दुई वर्षपछि आफूले बैंकक-काठमाडौं उडान सुरु गरेको औपचारिक रुपमा घोषणा गरेको छ।

Tata
GBIME

कम्पनीले बिहिबार काठमाडौंमा एक कार्यक्रम गरी नेपालमा पुन: उडान सुरु गरेको घोषणा गरेको हो। थाइ एयरवेजले सन् १९६८ मा बैंककबाट कलकत्ता हुँदै काठमाडौंमा उडान थालेकामा कोभिडको असरलाई कारण देखाउँदै २०२२ मार्चदेखि बन्द गरेको थियो।

कम्पनीका सेल्स निर्देशक खुन विट किचाथोर्नले काठमाडौं र बैंककबीचको उडान सेवा पुनः सुरु भएको घोषणा गर्न पाउनु सौभाग्यको कुरा भएको बताए।

‘आर्थिक संकटले शून्यमा पुगेको थाइ एयरवेज पुरानै लयमा फर्किसकेको छ। योसँगै नेपाल उडान सुरु गरेका हौं,’ उनले भने, ‘हवाई यातायातमार्फत आउजाउ गर्ने नेपाली र थाइ मात्र नभइ जापान र युरोपका पर्यटकलाई पनि नेपालमा आकर्षित गर्ने हाम्रो मुख्य उद्देश्य हो।’

एयरवेजले ७ महिनाअघि नै सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजलाई आफ्नो जीएसए नियुक्त गरिसकेको छ। एयरवेजले जीएसए नियुक्त गरेलगत्तै पुन: उडान गर्न थालेकामा अहिले आएर औपचारिक घोषणा गरेको हो। उसले चार महिनादेखि काठमाडौंमा दैनिक २ वडा उडान गर्दै आएको छ।

हाल एयरबसको न्यारोबडी जहाजमार्फत उडान गर्दै आएको कम्पनीले छिट्टै बोइङ ७८७ ‘ड्रिमलाइनर जहाज’मार्फत सेवा दिने तयारी थालेको बताएको छ।