निषेधाज्ञामा बैंक तथा वित्तीय संस्थालाई थप कस्दै प्रशासन, २५ प्रतिशत मात्रै शाखा खोल्न पाउने

बिजमाण्डू
२०७८ बैशाख २१ गते १६:११ | May 4, 2021
निषेधाज्ञामा बैंक तथा वित्तीय संस्थालाई थप कस्दै प्रशासन, २५ प्रतिशत मात्रै शाखा खोल्न पाउने


Tata
GBIME
Nepal Life

काठमाडौं। उपत्यकाका बैंक तथा वित्तीय संस्थाले कम शाखाबाट सेवा दिनुपर्ने भएको छ।उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा थप्दै प्रत्येक बैंक तथा वित्तीय संस्थाले २५ प्रतिशत मात्रै शाखा कार्यालय खोलेर सेवा दिनुपर्ने प्रावधान ल्याएको छ।

त्यस्तै बैंकका केन्द्रीय कार्यालयमा २० प्रतिशत मात्रै जनशक्ति राखेर सेवा दिनुपर्ने नयाँ प्रावधान ल्याइएको छ। शाखा कार्यालय संचालनका बारेमा नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई विवरण दिनुपर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए।

शाखा कार्यालय आउने कर्मचारीको सवारी साधनका लागि सीमित पास जारी गरेर राष्ट्र बैंक र प्रशासन कार्यालयमा अनलाइनमार्फत विवरण दिनुपर्ने उनले बताए। बीमा कम्पनीमा समेत एक चौथाई मात्रै कर्मचारी राखेर सेवा दिनुपर्नेछ।

 निषेधाज्ञा लगाउँदा पनि सडकमा मुभमेन्ट बढी भएपछि कर्मचारी कम राखेर सेवा दिनुपर्ने नयाँ व्यवस्था गरिएको पराजुलीले जानकारी दिए। पराजुलीकै नेतृत्वमा काठमाडौंको सडक अनुगमन गर्दा बैंक तथा वित्तिय संस्थाका कर्मचारीका कारण भीड बढेको निष्कर्ष निकालिएको थियो।

'शनिबार सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्था नखुल्ने भएकाले पनि सुनसान भएको बुझियो। निषेधाज्ञा प्रभावकारी बनाउने हो भने यस्ता क्षेत्रलाई अझै कडाइ गर्नु पर्ने देखिएको छ। यस विषयमा छलफल हुन्छ,' उनले गत शनिबार बिजमाण्डूसँग भनेका थिए। सरकारी कार्यालयहरुको हकमा अत्यवाश्यक मात्र संचालन गर्ने निर्णय भएको उनले बताए।