निषेधाज्ञापछि नै १६० अंकले बढ्यो सेयर बजार, कारोबार साढे ७ अर्बको, नयाँ रेकर्ड छुने अनुमान

बिजमाण्डू
२०७८ बैशाख १९ गते १६:०० | May 2, 2021
निषेधाज्ञापछि नै १६० अंकले बढ्यो सेयर बजार, कारोबार साढे ७ अर्बको, नयाँ रेकर्ड छुने अनुमान

काठमाडौं। निषेधाज्ञाको निर्णयपछिको चार कारोबार दिनमा मात्रै सेयर बजार १६० अंकले बढेको छ। 

Tata
GBIME
Nepal Life

बैशाख १६ बाट निषेधाज्ञा लागु हुनुअघि उच्चतम विन्दुबाट झर्दै २५०६ विन्दुसम्म ओर्लिएको सेयर बजार सूचक नेप्से पछिल्ला चार कारोबार दिनयता लगातार उकालो लाग्दै २६६५ विन्दुमा पुगेको छ । यस क्रममा आज यस साताको पहिलो कारोबार दिनमै सूचक  उक्लिएको छ।

एकै दिन करिब १०० अंकले बढेको सेयर बजार त्यसयता एक दिन १५ अंकले करेक्सन आएको थियो। अर्को दिन करिब २६ अंक बढेको बजार आइतबार थप ५४ अंकले बढेर २६६५ बिन्दुमा पुगेको हो। यससँगै यसअघिको सर्वाधिक उचाई २७३५ बिन्दुबाट नेप्से ७० अंक मात्रै तल छ।

सेयर बजारका सक्रिय लगानीकर्ता अम्बिकाप्रसाद पौडेल भन्छन्, 'अहिले बजारप्रति लगानीकर्ताको व्यवहार सकारात्मक देखिएको छ । बैंकको ब्याजदर बीचमा केहि बढेको भएपनि अहिले फेरि घट्ने अवस्था आएको छ । अधिकांश कम्पनीको तेस्रो त्रैमासिक रिपोर्ट उत्साहजनक छ । यी आधारमा सेयर बजार अझ अगाडि जाने प्रसस्त सम्भावना छ । यसैले एक-दुई सय अंक तलमाथि हुँदा लगानीकर्ताहरुले आत्तिहाल्नुपर्ने अवस्था छैन।' 

राम्रा कम्पनी छानेर लगानी गर्दा पछाडि फर्किएर जानुपर्ने नहुने सेयर बजारका अन्य जानकारहरु पनि बताउँछन् ।

आज सेयर कारोबार संख्या गत अप्रिल १ र २५ कै वरिपरि पुगेको छ । २५ अप्रिलमा एक करोड २७ लाख कित्ता सेयर किनबेच भएको थियो । यस्तै, १ अप्रिलको कारोबार संख्या एक करोड २० लाख कित्ता थियो । उक्त दिन नेप्से २६३१ विन्दुमा थियो । आज सोही दिनको हाराहारी संख्यामा सेयर कारोबार भएकाले बजार नयाँ उच्च विन्दुको रेकर्डतर्फ उन्मुख भएको विश्लेषक विष्णु बस्याल बताउँछन् । 

आज आइतबार कुल एक करोड ५८ लाख कित्ताभन्दा बढी धितोपत्रको कारोबार भएकोमा त्यसमध्ये एक करोड २० लाख कित्ता हाराहारी विभिन्न कम्पनीका सेयर र बाँकी सामुहिक लगानी कोषका एकाइहरु रहेका छन् । 

अर्कोतर्फ, पछिल्ला केही कारोबार दिनमा १६० अंकले बजार उक्लिसकेकाले एकपटक यसमा करेक्शन आएर २६०० विन्दु हाराहारीमा ओर्लिएर पुनः २८०० माथि पुगेर नयाँ रेकर्ड कायम गर्ने सम्भावना रहेको पनि बस्यालको प्राविधिक विश्लेषण छ ।

आइतबार २२६ कम्पनीको एक करोड ५८ लाख कित्ता सेयर सात अर्ब ३६ करोड रुपैयाँमा किनबेच भएका छन्। यस क्रमममा सात कम्पनीको सेयर मूल्य स्थिर रहँदा १३ कम्पनीको मात्रै मूल्य घटेको छ। बाँकी सबै २०० भन्दा बढी कम्पनीको सेयर मूल्य बढेको छ।

बिशाल बजार कम्पनी, महिला लघुवित्त र सिंगटी हाइड्रोपावरको सेयर मूल्य करिब १०/१० प्रतिशतले बढेको छ।

नेपाल हाइड्रो डेभलपर, ऐभरेस्ट बैंक र नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य १/१ प्रतिशतले घटेको छ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको ४२ करोड रुपैयाँको सेयर किनबेच हुँदा नेपाल पुनर्बिमा कम्पनीको ४० करोड, नेपाल टेलिकमको ३४ करोड, निफ्राको २४ करोड र हिमालयन डिस्टिलरीको २१ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

सबै उपसमूहमा हरियाली आउँदा जीवन बीमा समूह सर्वाधिक ६३२ अंकले बढेको छ। निर्जीवन बीमा समूह ४४८ अंक, उत्पादन समूह १५० अंक, होटल तथा पर्यटन समूह १११ अंक र लघुवित्त समूह १०४ अंकले बढेका छन्।