कोभिड दोस्रो लहरले चारपाङ्ग्रे सवारी व्यापारमा पुनः ब्रेक, तर बिक्रेतासँग छैन स्टकमा गाडी

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७८ बैशाख १६ गते १७:४७ | Apr 29, 2021
कोभिड दोस्रो लहरले चारपाङ्ग्रे सवारी व्यापारमा पुनः ब्रेक, तर बिक्रेतासँग छैन स्टकमा गाडी

Tata
GBIME
Nepal Life

 काठमाडौं। कोरोना भाइरसको दोस्रो लहर फैलिन थालेसँगै चारपाङ्ग्रे सवारी साधनको व्यापारमा पुनः धक्का लागेको छ।

गतवर्ष कोभिड-१९ संक्रमण बढ्न सुरु भएसँगै देशव्यापी लकडाउन लगाइएपछि ओरोलो लागेको चारपाङ्ग्रे सवारी साधनको व्यापार झन्डै ६ महिनापछि मात्र लयमा फर्किन थालेको थियो । तर अहिले फेरि कोभिड संक्रमण झन् तीव्र रफ्तारमा फैलिँदै गएपछि व्यवसायीले ६ महिना यताबाट सामान्य अवस्थाउन्मुख हुन थालेको व्यवसाय पुनः अन्योलमा धकेलिएको बताएका छन् ।

अर्डर गरिएका गाडी करिब एक महिनामा डेलिभरी दिँदै आएका अटोमोबाइल बिक्रेता कम्पनीहरुले अब आउने दिनमा डेलिभरी दिने समय समेत योभन्दा निकै लम्बिन सक्ने आकलन गरेका छन्। भारतमा कोरोनाको दोस्रो लहर विश्वमै तीव्र गतिमा फैलिरहेकाले त्यहाँका विभिन्न राज्यले ठाउँ ठाउँमा पूर्ण तथा आंशिक लकडाउन लगाएका छन् । यसकारण पनि भारतबाट अटोमोबाइल ढुवानी हुन अब केही समय असहज हुने प्रष्ट छ।

नेपालमा गुड्ने अधिकांश सवारी साधन भारतमै उत्पादन भएर आउँछ। कोभिडको वर्तमान प्रभावलाई दृष्टिगत गरेर भारतस्थित अटो कम्पनीहरुले समेत तत्कालका लागि गाडीको उत्पादन परिमाण तय गरेका छन्। यस्तै, कोभिडको दोस्रो लहरले गाडीको माग तत्काल केही समयका लागि घटे पनि भारतमा निषेधाज्ञा खुलेपछि माग पुनः ह्वात्तै बढ्ने अनुमान छ। त्यसअनुसार बढेको मागलाई अकस्मात धान्न मुस्किल पर्ने हुँदा त्यसले नेपालमा समेत गाडीको आपूर्ति श्रृंखलामा नै प्रभाव पर्ने टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका सीइओ राजनबाबु श्रेष्ठको विश्लेषण छ। 

यसैले कोभिड दोस्रो लहर सुरु हुनुअघिसम्म अर्डर भएका गाडी एक साताभित्र डेलिभरी दिँदै आएको सिप्रदीले अबको दिनमा भने डेलिभरी हुन एक महिनासम्म लाग्न सक्ने श्रेष्ठले बताए। 

'अबको व्यवसाय भारतमा फैलिरहेको संक्रमण नियन्त्रणमा भर पर्छ। अहिले भारतमा विकराल रुपमा कोभिड संक्रमण फैलिरहेको छ। यसैगरी संक्रमण दर बढ्दै जाने हो भने यसको प्रभाव सबै भेण्डरमा पर्न जान्छ। भेण्डरको प्रोडक्सन कम हुने बित्तिकै यता सवारी साधन आपूर्ति पनि कम हुन्छ,' उनले भने, 'भारतमा लकडाउन पछिको डिमाण्ड अनुसार सप्लाइ चेनमा प्रभाव पर्न जान्छ। यदी कम माग आयो भने कुनै प्रभाव पर्दैन तर यस अघिको जस्तै माग आएको अवस्थामा अलिक गाह्रै छ।'

यद्यपि, यतिखेर कम्पनीसँग ग्राहकको माग अनुसार पर्याप्त मात्रामा गाडी स्टकमा रहेको उनले जानकारी दिए।   

झण्डै सामान्य अवस्थामा फर्किएको सवारी साधन व्यवसाय कोभिड-१९ को दोस्रो लहरका कारण पुनः अन्योलउन्‍मुख देखिएको हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका संचालक निराकर श्रेष्ठ बताउँछन्। यसअघि पहिलो चरणको लकडाउनका कारण ठप्प भएको गाडीको खरिद बिक्री केही महिनाअघि पुनः सुरु भएसँगै तातेको बजार अब त्यही दिशामा जाने/नजाने अन्योल नै रहेको उनको भनाइ छ।  

नेपालमा अटो बजारले गति लिन सुरु गरिसकेको थियो। गत वर्ष भएको लकडाउनका कारण भारतीय अटो कम्पनीहरु लामो समय बन्द हुँदा त्यहाँबाट आपूर्ति हुन समेत कठिनाइ हुँदा नेपाली बजारमा गाडीहरु स्टकमै छैनन्।

'बजारले गति लिन थालेसँगै हामीले सामान्य अवस्थामा जस्तैगरी सिपमेन्टका लागि एलसी खोल्ने काम गर्दै आएका थियौं। दोस्रो लहरका कारण सरकारले पुनः निषेधाज्ञा लगाउन सुरु गरेकाले हामी अब मगाइसकेका गाडीका लागि अप्ठ्यारो अवस्था सिर्जना हुन सक्ने र व्यापार कसरी जान्छ भन्ने सोचिरहेका छौं,' श्रेष्ठ भन्छन्, 'बरु गाडी नआइदिएको स्थिति भएको भए हामी त्यहीअनुसारको मनस्थितिमा हुन्थ्यौं। अब दोस्रो लहरको प्रभाव कहिलेसम्म जाने भन्ने अनुमान गर्न सकिने अवस्था नभएकाले सवारी साधनको व्यापारको पनि प्रक्षेपण गर्न गाह्रै छ।'

पछिल्ला दिनमा नेपालमा कियाका गाडीको माग अत्यधिक बढेको छ। किया गाडीको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङका अनुसार विगत तीन महिनामै नेपालमा कियाका करिब एक हजार गाडी बिक्री भइसकेको छ। सामान्यतया तीन महिनामा बिक्री हुने बराबरका गाडी एक महिनामै बिकेको कन्टिनेन्टल ट्रेडिङका उपमहाप्रबन्धक अनिश लामिछानेले बताए। तर कोभिडको दोस्रो लहरको असरले पछिल्लाे समय स्पेयर पार्ट्सको आपूर्ति प्रभावित हुँदा कियाका गाडी उत्पादनै कम भएको कम्पनीले जनाएको छ।

उत्पादनमा कमीका कारण गाडीको आपूर्ति श्रृंखला नै प्रभावित भएपछि पछिल्लो समय ग्राहकको माग अनुसार अर्डर गरिएकामध्ये ५० प्रतिशत गाडी मात्रै भारतबाट आइरहेको कन्टिनेन्टलका लामिछानेले बताए।

'पछिल्लो समय गाडीको माग आएको आधारमा हामीले तीन महिना अगाडि नै गाडी अर्डर गर्दै आएका छौं। अहिले स्पेयर पार्ट्सको आपूर्ति नै कम भएकाले गाडी उत्पादन समेत थोरै भइरहेको छ। यसैले तुरुन्तै आवश्यक परे अर्डर थप्न पनि मिल्ने अवस्था छैन,' उनले भने। कोभिड पहिलो लहरको तुलनामा दोस्रो लहरका कारण गाडीको आपूर्ति श्रृंखलामा थप प्रभाव पर्ने उनको अनुमान छ।

'अस्तिको पालि सप्लाई चेनमा त्यति प्रभाव पारेन। यसपालि के हुन्छ भन्नेमा अन्योल छ। तर माग आएअनुसार रेगुलर अर्डर हामीले यथावतै राखेका छौं,' उनले भने। 

निषेधाज्ञा भएपनि अर्डर गरिएका गाडीहरु बोर्डरसम्म आइपुग्ने उनको भनाइ छ। निषेधाज्ञा खुलेलगत्तै गाडी निर्यात सुचारु हुने उनले बताए। 'केही समययता गाडीको माग राम्रोसँग बढेको छ। यसैले अहिलेको अवस्था नलम्बिए यो महिना मात्र गाह्रो परेको हो। अधिकांश कम्पनीले धेरै संख्यामा गाडी मगाएका छन्,' उनले भने ।       

भारतमा कोभिडको दोस्रो लहर सुरु भएसँगै नेपालमा पनि गाडीको आपूर्ति श्रृंखला पुनः प्रभावित हुन थालेको फोर्ड गाडीको आधिकारिक नेपाली बिक्रेता जिओ फोर्डले जनाएको छ।

यसअघि पनि अर्डर गरेबमोजिमका गाडी ल्याउन  मुस्किल हुँदै आएको कम्पनीका संचालक आकाश गोल्छाले बताए। 'पहिलाकै असहज स्थिति ठिक भइसकेको छैन। अहिलेको अवस्थाले गर्दा गाडीको व्यापारमा अलिअलि प्रभाव झन् बढ्छ। विदेशबाट आउने कम्पोनेन्ट आउन समय लाग्ने हुँदा हामीलाई समस्या भएको छ।  तर यसबाहेक पनि पहिले नै अवस्था खराबै छ,' उनले भने।