भग्नावशेष नजिकै उभियो २२ तले आधुनिक धरहरा, लिफ्टसहितको नयाँ संरचनामा के छ आकर्षण?

बिजमाण्डू
२०७८ बैशाख ७ गते १२:३६ | Apr 20, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। 'काठमाडौंको नौ तले धरहरा…..' नयाँ धरहराको निर्माणसँगै यो गीत पनि इतिहासमा सीमित हुने भएको छ। निर्माणको अन्तिम चरणमा रहेको आधुनिक धरहरा नौ तले होइन २२ तलाको हुनेछ।

यतिबेला दुई सय जनाभन्दा बढी मजदुर नयाँ धरहरालाई अन्तिम स्वरुप दिन खटिएका छन्। २०७२ बैशाख १२ गते आएको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको धरहराको छोपिराखेको ठुटोसँगै नयाँ धरहरा निर्माण भइरहेको छ।

कामदारहरुलाई भ्याइ नभ्याइ छ। कोही ढलानका लागि बाँधिएका फर्मा हटाइरहेका छन् , कोही ढलान फिनिसिङ, कोही रङरोगन त कोही मार्बल मिलाइरहेका छन्। धरहराको फेदमा सिढी बनाउने काम जोडतोडका साथ चलिरहेको छ। उनीहरु अरुबेला भन्दा बढी चटारोमा देखिन्छन्। कारण – आउँदो ११ गतेसम्म धरहरालाई उद्घाटनयोग्य बनाइसक्नुपर्ने छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ११ गते ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेकाले त्यहाँ अन्तिम चरणको काम जोडतोडका साथ चलिरहेको हो।

नेपाल पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ इन्जिनियर राजुमान मानन्धरका अनुसार धरहरामा हाल टावरको करिब ९७ प्रतिशत काम सकिएको छ। ११ गते अघि नै तयार पार्ने गरी कामलाइ गति दिएको उनको दाबी छ। उनका अनुसार हाल ढलानका लागि हालिएको बाँसका टेकाहरु हटाउने काम भइरहेको छ।

२२ तलाको धरहरामा अब ९ तलाको टेका हटाउन बाँकी छ । रंग रोगन, र अरु फिनिसिङका काम बाँकी नै छ। पुरानै धरहराको गजुरमा सुनको जलप लगाएर आइतबार स्थापना गरिसकिएको छ।

नयाँ धरहराको २० औं तलामा उक्लिएर काठमाडौं नियाल्न सकिने व्यवस्था मिलाइएको छ। पुरानो धरहराभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ, जहाँ दुईवटा लिफ्ट पनि हुनेछ। साथै एउटा परम्परागत भर्‍याङ रहनेछ। लिफ्ट र भर्‍याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ। यसपटक अपांगतामैत्री रूपमा धरहरा निर्माण भएकाले लिफ्टबाट सबैले धरहराको टुप्पोमा पुग्न सक्नेछन्।

नयाँ धरहरा अत्याधुनिक र सुविधा सम्पन्न हुनेछ। ४२ रोपनी क्षेत्रफलमा निर्माण सुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ।

२२ औं तलामा पुरानै धरहरामा रहेको शिवलिंग प्रतिस्थापन गरिनेछ। अहिले त्यसमा पनि फिनिसिङको काम चलिरहेको छ।

पुरानो परम्परा अनुसार सुर्की र इँटाको प्रयोग गरी बनाइएको पुरानो धरहरा भन्दा फरक नयाँ धरहरामा फलाम, गिटी बालुवा र सिमेन्टको प्रयोग भएको छ।

नयाँ धरहरा ८० मिटर अग्लो छ। पुरानै संरचना अनुसार बनिरहेको नयाँ धरहरामा पहिलेको जस्तै बुट्टा र गोला झ्यालहरु बन्नेछन्।

नयाँ धरहरामा संग्रहालय निर्माण हुनेछ भने पुरानो धरहराको भग्नावशेषलाई पनि नजिकै स्मारकका रुपमा राखिनेछ।

अहिले बन्न लागेको धरहराको कुल क्षेत्रफल ४२.२ रोपनीमा छ। धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टरेण्टका साथै आधुनिक पार्किङ लगायत निर्माण हुनेछ।

गोश्वारा हुलाक भएको स्थानमा उद्यान बनाइनेछ। उद्यानभित्र बस्ने ठाउँ, ढुंगेधारा, हरियाली, चमेनागृह हुनेछ। धरहराको टावर निर्माण बाहेकका अन्य काम भने हालसम्म सुरु भएकै छैन।

मंसिर मसान्तसम्म समय बाँकी रहेकाले ती सबै सम्पन्न गरेर मात्रै धरहरा खुल्ला गरिने प्राधिकरणले जनाएको छ।

धरहरा चढ्न मंसिर कुर्नुपर्ने

हतार हतारमा फिनिसिङ गरेर उद्घाटन गर्न लागेको भए पनि उद्घाटनलगतै सर्वसाधारणले धरहरा चढ्न पाउने छैनन्। ११ गते उद्घाटनका लागि चढ्न दिइने भए पनि त्यसको ८ महिनापछि मात्रै खुल्ला गर्ने तयारीमा पुनर्निर्माण प्राधिकरणको छ।

अहिले धरहरा मात्रै निर्माण भएको छ। धरहरासँगै निर्माण हुने संरचनाहरु समेत तयार भएपछि मात्रै खुल्ला गरिने इन्जिनियर मानन्धरले बताए।

 बैशाख १२ गते अघि नै साइत पारेर उद्घाटन मात्रै गर्न लागिएको उनको भनाइ छ।

धरहरा निर्माणको जिम्मा जीआइटीसी रमन जेभीले २०७५ असोज १४ गते पाएको हो। आगामी मंसिर मसान्तसम्म सम्पन्न गर्ने तालिका बनाइएको छ।

अहिलेसम्म करिब मोबिलाइजेसनसहित २ अर्ब १० करोड रुपैयाँ खर्च भइसकेको छ । आयोजना ३ अर्ब ४८ करोड रुपैयामा निर्माण सक्ने गरी सम्झौता भएको हो।

यसअघि ११ तले धरहरा विसं १९९० को भूकम्पको कारण क्षतिग्रस्त भएपछि नौ तलामा सीमित भएको थियो। सो ऐतिहासिक धरहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गरेका थिए।

आगामी ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन हुन लागेको नयाँ धरहराले भूकम्पपछिको पुनर्निर्माणको उम्दा नमुनाका रुपमा समेत छाप छोड्ने विश्वास गरिएको छ।