घरजग्गा कारोबार रेकर्ड विन्दुमा, चैतमा झण्डै नौ अर्ब राजस्व संकलन, एउटै मालपोतले उठायो अर्ब

बिजमाण्डू
२०७८ बैशाख २ गते १६:४५ | Apr 15, 2021
घरजग्गा कारोबार रेकर्ड विन्दुमा, चैतमा झण्डै नौ अर्ब राजस्व संकलन, एउटै मालपोतले उठायो अर्ब

Tata
GBIME
Nepal Life

काठमाडौं। घरजग्गा कारोबारलाई सरल बनाउँदै गएपछि पछिल्लो समय कारोबार संख्या र संकलित राजस्वको परिमाणले महिनैपिच्छे नयाँ नयाँ रेकर्ड बनाइरहेका छन्।

गत महिना पनि काठमाडौं उपत्यका लागयतका शहरी क्षेत्रमा घरजग्गाको कारोबार तीब्ररुपमा बढेपछि झण्डै नौ अर्ब रुपैयाँ राजस्व संकलन गरेर नयाँ रेकर्ड बनेको छ।

फागुन र चैत महिनालाई घरजग्गा किनबेचका लागि अफसिजन मानिदै आए पनि गत वर्ष फागुन-चैतमा समेत ४/५ अर्ब रुपैयाँ राजस्व संकलन भएको नेपालको घरजग्गा कारोबारको इतिहासमा पहिलोपटक हो।

विगतमा फागुन-चैतमा मुस्किलले एक/डेढ अर्ब रुपैयाँ राजस्व संकलन हुने गरेकोमा गत वर्ष भने रजिष्ट्रेसन शुल्क मात्रै करिब पाँच अर्ब रुपैयाँसम्म संकलन भएको छ। यो एकै महिनामा संकलन भएको हाल सम्मकै उच्च रजिष्ट्रेसन शुल्क हो।

उमेश श्रेष्ठले जग्गा बेच्दा ललितपुरलाई १० करोड बढी राजस्व
व्यवसायी उमेश श्रेष्ठले गोदावरीमा रहेको करिब २०० रोपनी जग्गा बेचेपछि ललितपुर मालपोत कार्यालयको राजस्वमा १० करोड रुपैयाँ भन्दा बढी योगदान भएको छ।

बिगतमा ३५ देखि ४० करोड रुपैयाँसम्म रजिष्ट्रेसन शुल्क संकलन गर्दै आएको ललितपुरले चैतमा ५२ करोड रुपैयाँ भन्दा बढी रजिष्ट्रेसन शुल्क संकलन गरेको छ।

पुँजीगत लाभकरतर्फ पनि करिब २५ करोड रुपैयाँ राजस्व संकलन गरेपछि चैतमा ललितपुरको मात्रै पौने एक अर्ब रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ। ललितपुरको कूल राजस्व ७८ करोड रुपैयाँ संकलन भएको छ।

चैतमा उपत्यका बाहिर भन्दा भित्र नै बढी घरजग्गा किनबेच भएका छन्। ललितपुरमा मात्रै चैतमा ५ अर्ब रुपैयाँभन्दा बढी मूल्यका ठूला ठूला प्रोपर्टी किनबेच भएका थिए। यसले पनि राजस्व संकलनमा ठूलो भूमिका खेलेको घरजग्गा व्यवसायीको भनाइ छ।

ललितपुरमा ओमबहादुर घर्ती र उनको टिमले करिब ५०० रोपनी जग्गा खरिद गरेको स्रोतको दाबी छ। गोदावरीमा उमेश श्रेष्ठ र उनका साथीहरुबाट करिब २०० रोपनी जग्गा किनेको उक्त समूहले ठेचोमा समेत थप करिब ३०० रोपनी जमिन किनेको स्रोतको भनाइ छ।

यसले उपत्यकाको राजस्व संकलन ह्वात्तै बढाइदिएको छ। त्यसले गर्दा फागुनको तुलनामा चैतमा एक अर्ब रुपैयाँ बढी रजिष्ट्रेसन शुल्क र र डेढ अर्ब बढी कूल राजस्व संकलन भएको हो।

प्रक्रिया छोट्याउँदै राजस्व चुहावट रोक्दा सफलता
विभागले पछिल्लो समय अनलाइन प्रणाली लागु भएका सबै मालपोत कार्यालयमा भू-सेवा केन्द्र सञ्चालन गर्न निर्देशन दिएको छ।

अधिकांश कार्यालयले सेवा सञ्चालनका लागि सूचना प्रकाशित गरेका छन् भने दर्जन बढी थप कार्यालयमा भू-सेवा केन्द्र नै सञ्चालनमा आइसकेका छन्।

भू-सेवा केन्द्र पनि सञ्चालनमा आउँदा राजस्व चुहावट रोकिएको र सेवा प्रवाह समेत छिटो छरितो हुँदा राजस्व संकलनमा उल्लेख्य सुधार भएको विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए।

‘अहिले किनबेचको झन्झटिलो प्रक्रिया छोट्याएका छौं। पहिले २ दिनमा हुने काम अहिले एकै दिनमा गर्न सकिन्छ। यसले गर्दा कारोबार संख्या पनि बढेको र राजस्व संकलनमा समेत महिनैपिच्छे रेकर्ड ब्रेक भइरहेको हो,’ पौडेलले भने।