प्रधानमन्त्रीले दिए लकडाउनको चेतावनी, ‘सावधानी नअपनाए जनजीवन नै ठप्प पार्ने अवस्था आउँछ’

बिजमाण्डू
२०७७ चैत्र २६ गते १६:२० | Apr 8, 2021

Tata
GBIME

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमण जोखिम बढेको भन्दै सावधानी नअपनाए लकडाउननै गर्नुपर्ने अवस्था आउने चेतावनी दिएका छन्।

नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई विहीबार संबोधन गर्दै उनले भने-‘कोभिड १९ को सन्दर्भमा म भन्न चाहन्छु। हाम्रो जनजीवनलाई ठप्प पनि नगरौं। तर सावधान नभए बाध्य भएरै ठप्प पार्न पर्ने स्थिति आउन सक्छ। हामीले सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने र  सबैले हातमुख  धुने लगायतका काम गर्नुपर्छ।‘

उनले विगतमा जस्तै कोरोना संक्रमणबाट बच्न व्यवसायीलाई सुझाब दिए। ‘कोरोना नाक र मुखमा धेरै समय रहन्छ। त्यही बेलामा तातो वाफ लिने र नुनपानीले कुल्ला गरे धेरै समस्या पार्दैन्,’ ओलीले भने, ‘अम्बाका दुई वटा पात उमालेर बेस्सरी गारगल गर्‍यो भने पनि कोरोनाबाट बच्न सकिन्छ।’

प्रधानमन्त्री ओलीले कोरोना संक्रमण नियन्त्रणमा राख्न हदैसम्मको प्रयास गरेपनि आलोचना हुने गरेको बताए। ‘भ्याक्सिन आइपुगेन भने प्रधानमन्त्रीलाई गाली आउँछ, मान्छे बिमारी भयो प्रधानमन्त्रीलाई गाली आउँछ,’ उनले भने,  ‘निःशुल्क परीक्षण गरिएको छ, निःशुल्क उपचार गरिएको छ, निःशुल्क खोप लगातार चलाइएको छ तरपनि प्रधानमन्त्रीको आलोचना भइराखेको छ।’